मंगलबार, जेठ ७, २०८२

कोशी प्रदेशले ल्यायाे आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम

नेपालखोज २०८२ जेठ ६ गते २०:०२

काठमाडाैं । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । सोमवार विराटनगर स्थित प्रदेश सभा भवनमा बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सरकारको १ सय ११ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

प्रस्तुत नीति तथा कार्यक्रममा यसपटक सरकारको नीति ऐतिहासिक महत्वका ठाउँहरूको संरक्षणदेखि जलवायु सम्मेलन आयोजना र सामाजिक सुधारसम्म केन्द्रित देखिएको छ । कोशी प्रदेशसँग सम्बन्धित राष्ट्रपतिको जन्मस्थल र प्रधानमन्त्रीहरूको घरको संरक्षण गरिने कोशी सरकारको योजना छ ।

त्यस्तै, आगामी वर्ष कोशी जलवायु सम्मेलन २०८२ आयोजना गरिने बताइएको छ । मैथिली र लिम्बू भाषालाई प्रदेश सरकारको कामकाजमा प्रयोग गरिने तथा मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानमार्फत स्वास्थ्य साक्षरतामा जोड दिइने कोशी प्रदेश प्रमुख परशुराम खापुङले उल्लेख गरे ।

स्वच्छ, सुखि र समुन्नत प्रदेश भन्ने नारा सहित कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा सेवाप्रवाहलाई चुस्त, जिम्मेवार र जवाफदेही बनाउने देखि प्रदेश प्रतिको आस्था र विश्वास बढाउन काम र व्यवहार परिवर्तन गर्ने नीति राखिएको छ ।

भौतिक पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्रमुख प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा एकल बिन्दु सेवाप्रवाह प्रणाली, पदमार्गमा आधारित पर्यटन विकास, कृषक सबैभन्दा अगाडि, म अघि बढ्छु जस्ता कार्यक्रमहरु समावेश गरिएको छ ।

प्रतिक्रिया