अनुदानमा कृषि उपकरण पाएपछि किसान खुसी

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र पम्पसेट वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटबाट १९ थान मिनीटिलर र ८० थान पम्पसेट वितरण गरिएको कोहलपुर नगरपालिका कृषि शाखाका कृषि प्राविधिक यज्ञबहादुर रोकायले जानकारी दिए ।
कोहलपुर नगरपालिकाका वडा नं १ देखि वडा नं १५ सम्मका किसान, कृषि फार्म, कृषक समूह, केही कृषि सहकारीलाई नगरप्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख सङ्गीता सुवेदीले ती सामग्री वितरण गरे ।
त्यसैगरी, साना सिँचाइ प्रवर्द्धन कार्यक्रमअन्तर्गत ८० थान पम्पसेट वितरण गरिएको पनि कृषि प्राविधिक रोकायले जानकारी दिनुभयो । एउटा मिनीटिलरको बजारमूल्य रु १९ हजार छभने पम्पसेटको बजारमूल्य रु नौ हजारको हाराहारीमा छ ।
सो अवसरमा नगरप्रमुख आचार्यले कृषि पेशालाई आधुनिकीकरण गर्नका लागि किसानलाई यान्त्रिकीकरणमा सहयोग गरिएकोे किसानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दै आएको बताए ।
उपप्रमुख सुवेदीले किसानको आवश्यकता र मागमा आधारित रहेर कृषि यान्त्रिकीकरणमा नगरपालिकाले सहयोग गरेको र मागमा आधारित योजना कार्यान्वयनमा ल्याइएको उल्लेख गरे । -रासस
प्रतिक्रिया