मंगलबार, जेठ ७, २०८२

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

नेपालखोज २०८२ जेठ ७ गते ९:४९

भोजपुर । अरुण गाउँपालिका–७ सिक्रेटार स्थित ‘कैलाश पर्वत र हरित हिल’ (पहाड)को संरक्षण थालिएको छ । यी सुन्दर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ संरक्षण तथा विकास थालिएको हो ।

कैलाश पर्वत र हरित हिललाई मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको वडाध्यक्ष कुमार थापाले बताP । कैलाश डाँडाको संरक्षणका लागि पदमार्गसँगै आवश्यक संरचना निर्माण भइरहेको उनको भनाइ छ ।

कैलाश डाँडाबाट नजिकै रहेको हरित हिलसम्म पुग्नका लागि पनि पदमार्ग बनिरहेको वडाध्यक्ष थापाले बताए । प्रदेश सरकारबाट प्राप्त रु पाँच लाख बजेटबाट यहाँ कैलाश पर्वतसम्म पुग्ने पदमार्ग निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिए ।

यहाँका कैलाश पर्वत, हरित हिल, गौरीशङ्कर मन्दिर र सिंहदेवी मन्दिरलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्र बनाउने लक्ष्यका साथ कामको थालनी गरिएको वडाध्यक्ष थापाले बताए । पर्यटकलाई लक्षित गरेर वडा कार्यालय नजिकै रु १० लाख बजेटमा बाल उद्यानसमेत निर्माण गरिएको उनले जानकारी दिए ।

यहाँको कैलाश पर्वत, हरित हिललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यका साथ वडाले गरिरहेको कामले उत्साह थपिएको स्थानीयवासी टेकबहादुर बस्नेतले बताउनुभयो । यहाँ कैलाश पर्वतसँगै गौरीशङक्र मन्दिर र सिंहदेवी मन्दिर रहेकाले यो स्थानको छुट्टै महत्व रहेको उनको भनाइ छ ।

कैलाश पर्वत र गौरीशङ्कर मन्दिरमा वर्षमा एकपटक भव्य मेला लाग्ने उहाँको भनाइ छ । मेलामा स्थानीयसँगै छिमेकी जिल्लाबाट समेत मानिसहरू दर्शन गर्न आउने उनले बताए ।

प्रतिक्रिया