नयाँ सुरक्षा उपायका बाबजुद श्रीलङ्कामा रेलको ठक्करले हात्तीको मृत्यु

कोलम्बो । श्रीलङ्काको एक्सप्रेस ट्रेनमा ठोक्किएर मङ्गलबार एउटा हात्ती मरेको छ र रेल लिकबाट बाहिर गएको छ । यही मार्गमा तीन महिनाअघि देशको सबैभन्दा खराब वन्यजन्तु रेल दुर्घटनापछि लागू गरिएका सुरक्षा उपायहरूका बावजुद यस्तो दुर्घटना भएको हो ।
हबारना नजिकै रेलको लिक पार गर्दै गरेको एक जवान जङ्गली हात्तीलाई फेब्रुअरी २० को दुर्घटनामा संलग्न उही रेलले ठक्कर दिएको स्थानीय अधिकारीहरूले बताए । फेब्रुअरी २० को दुर्घटनामा सात हात्ती मारिएका थिए । त्यो दुर्घटनापछि अधिकारीहरूले हात्तीको बासस्थान भएर जाने रेलहरूमा गति सीमा लागू गरेका थिए । राजधानी कोलम्बोबाट सडकमार्फत् लगभग एक सय ८० किलोमिटर पूर्वमा भएको दुर्घटनामा कुनै पनि यात्रु घाइते भएनन् ।
रेलवे अधिकारीहरूले अनुसन्धान भइरहेको र इन्जिनियरहरूले बिहानको दुर्घटनापछि कोलम्बो–बाट्टिकालोआ रेललाई लिकमा फर्काउने प्रयास गरिरहेको बताएका छन् । अधिकारीहरूले यसअघि उनीहरूलाई हात्तीलाई हिर्काउनबाट बच्न थप समय दिन रेलको समयतालिकामा परिवर्तन र चालकहरूको दृश्यता सुधार गर्न लिकको दुवै छेउबाट झाडीहरू सफा गर्ने प्रयासको घोषणा गरेका थिए ।
अधिकारीहरूले यस्तो तथ्याङ्क सङ्कलन गर्न थालेपछि पछिल्लो १७ वर्षमा रेलबाट एक सय ३९ वटा हात्ती मारिएको वन्यजन्तु अधिकारीहरूले बताएका छन् । टापुमा बढ्दो मानव–हात्ती द्वन्द्वका कारण विगत एक दशकमा एक हजार एक सय ९५ मानिस र तीन हजार चार सय ८४ हात्ती मारिएको पनि सरकारले घोषणा गरेको छ । अनुमानित सात हजार जङ्गली हात्ती रहेको श्रीलङ्कामा हात्तीहरूलाई मार्नु वा हानि पुर्याउनु अपराध हो ।
आंशिक रूपमा बौद्ध संस्कृतिमा तिनीहरूको महत्त्वका कारण हात्तीलाई राष्ट्रिय सम्पत्ति मानिन्छ । तथापि निराश किसानहरूले हात्तीहरूले उनीहरूको बालीमा आक्रमण गरेर जीविकोपार्जन नष्ट गर्दै सङ्घर्ष गर्दा हत्या जारी छ । धेरै हात्ती विद्युतीय झट्काबाट, गोली लागेर वा विष दिएर मारिएका छन् । कहिलेकाहीँ विस्फोटक भरिएका फलहरूको प्रयोग जनावरहरूलाई अपाङ्ग बनाउन गरिन्छ, जसले प्रायः प्रायः पीडादायी मृत्यु हुन्छ ।
प्रतिक्रिया