अष्ट्रेलियामा मौद्रिक नीतिमा फेरबदल गर्ने केन्द्रीय बैंकको नयाँ निर्णय

सिड्नी । अष्ट्रेलियाको केन्द्रीय बैंकले हालै मौद्रिक नीतिमा परिवर्तन गर्दै आफ्नो औपचारिक नगद दर २५ आधार बिन्दुले घटाएर ३।८५ प्रतिशतमा ल्याएको छ । यो सन् २०२५ को दोस्रो ब्याजदर कटौती हो, जुन निर्णय मंगलबार बैंकको सञ्चालक समितिको बैठकपछि सार्वजनिक गरिएको हो ।
बैंकले जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धि (मुद्रास्फीति)लाई स्थिर र नियन्त्रणमा राख्ने उद्देश्यसहित ब्याजदर घटाइएको उल्लेख गरिएको छ । सन् २०२२ मा अष्ट्रेलियामा मुद्रास्फीति अत्यन्त उच्च विन्दुमा पुगेको थियो, जसले गर्दा त्यतिबेला केन्द्रीय बैंकले निरन्तर रूपमा ब्याजदर बढाउँदै आएको थियो ।
ती नीतिहरूले समग्र माग र आपूर्तिबीच सन्तुलन ल्याउन केही हदसम्म सफलता पाएको बैंकले जनाएको छ । हालको स्थितिमा मूल्यवृद्धि केही ह्रास भएको देखिएको र आर्थिक गतिशीलता बढाउन ब्याजदर घटाउने निर्णय गरिएको हो ।
साथै, बैंकले पछिल्ला तीन महिनामा विश्वभर आर्थिक अनिश्चितता बढेको र यसको असर अष्ट्रेलियाली अर्थतन्त्रमा पनि पर्ने भएकाले सावधानीपूर्वक नीति बनाइरहेको जनाएको छ ।
घरेलु बजारको अवस्था अझै स्पष्ट नभएको र उपभोक्ता तथा व्यवसायीहरूको व्यवहार कसरी परिवर्तन हुन्छ भन्ने कुराले आगामी निर्णयहरूलाई प्रभावित पार्ने बैंकको भनाइ छ ।
यस परिवर्तनले ऋण लिनेहरूलाई राहत मिल्ने र लगानी प्रवाहमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । तर, आर्थिक वातावरण अझै पूर्ण रूपमा स्थिर नभएकाले केन्द्रीय बैंकले आगामी महिनाहरूमा पनि परिस्थिति अनुसार कदम चाल्ने जनाएको छ ।
प्रतिक्रिया