शिवनाथमा मातृ र शिशु मृत्यु शून्य

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाले ‘घरमा हुने सुत्केरी शून्य’ अभियान सञ्चालन गरेको छ । यसका लागि १७ सुरक्षित प्रसूति सेवा केन्द्र मार्फत सेवा प्रदान गरिराखेको छ ।
शिवनाथ ३ लाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिसकिएको छ भने अन्य वडालाई घोषणाको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । घरमा हुने सुत्केरी शून्य बनाउनका लागि स्वास्थ्य संस्थाभन्दा टाढा रहेका बस्तीलाई लक्षित गरेर प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएका हिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । गाउँपालिकाका ६ वडामा १७ प्रसूति सेवा केन्द्र सञ्चालनमा रहेका छन् । उनले भने, गाउँपालिकामा जनप्रतिनिधि आएपछि हरेक वडामा आवश्यकता अनुसार सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएका छन् । २०७४ सालदेखि गाउँपालिकाका हरेक वडामा सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताका अनुसार पालिकामा रहेका स्वास्थ्य संस्था र स्वास्थ्य संस्था बाहिर पनि प्रसूति सेवा केन्द्र सञ्चालनमा रहेका छन् । शिवनाथ को वडा नं १ मा ३, वडा नं २ मा ३, वडा नं ३ मा २, वडा नं ४ मा ३, वडा नं ५ मा ३ र वडा नं ६ मा तीनओटा प्रसूति सेवा केन्द्र रहेका हुन् ।
स्वास्थ्य संस्थाभन्दा टाढा रहेका बस्तीलाई लक्षित गरेर प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएका छन् भने स्वास्थ्य संस्थामा पनि चौबिसै घण्टा सुरक्षित प्रसूति सेवा सञ्चालनमा रहेको हुन् ।
प्रत्येक बस्ती र वडामा सुरक्षित प्रसूति सेवा प्राप्त भएपछि शिवनाथ गाउँपालिकालाई नै घरमा हुने सुत्केरी शून्य घोषणाको तयारी भएको छ । हरेक वर्ष स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका बताउँदै अध्यक्ष साउँदले आगामी बजेटमा पनि हामी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिने प्रतिवद्धता गरे ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा झण्डै दुई करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो । वडा र बस्तीमा सुरक्षित प्रसूति सेवा केन्द्रमार्फत सेवा विस्तार भएपछि मातृ मृत्युु र शिशु मृत्यु पनि शून्यमा झरेको प्रमुख प्रशासकीय अधिकृत महताले बताए । गाउँपालिकाभित्र रहेका सुरक्षित प्रसूति सेवा केन्द्र र स्वास्थ्य संस्थाबाट एक वर्षको अवधिमा ४०० महिलाले सेवा लिएका छन् ।
प्रतिक्रिया