बागमती प्रदेशसभा : विनियोजन विधेयकमा छलफल सुरु

मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) विधेयक माथि छलफल सुरु भएको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गत मङ्गलबारको प्रदेशसभा बैठकमा विनियोजन विधेयकमा विभिन्न शीर्षकअन्तर्गत २९ बुँदाको विधेयक माथि छलफल गरियोस् भन्ने प्रस्ताव टेबुल गरेका थिए ।
सो बैठकमा सत्तापक्ष र प्रतिपक्षका गरी प्रदेशसभाका २७ जना सदस्यहरुले छलफलमा भाग लिएका छन् । उनीहरुले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरुको बोलीवचन र व्यवहारमा एकरूपता नहुँदा प्रदेशमा सुशासनको भूमिकालाई उपहास गरिएकाले आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।
सरकारद्वारा प्रस्तुत विनियोजन विधेयकमा पूर्वाधार क्षेत्रको विकास, राजस्व सङ्कलन, आन्तरिक आयमा अभिवृद्धि, संविधान र प्रादेशिक योजनको कार्यान्वयन, विनियोजन कुशलता, कार्यान्वयन दक्षता, वित्तीय अनुशासन र सङ्घीय प्रणालीको सवलीकरणमा सरकारले इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइयो ।
प्रदेशसभा सदस्यहरुले सरकारको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा पारदर्शी, निष्पक्षता र दलगत स्वार्थबाट माथि उठेर योजना बैंकमार्फत आएका विभिन्न योजनाको छनोट गरी बजेट वितरण गरिएमा मात्र सरकारको लक्ष्य पूरा गर्न सकिने बताए ।
प्रतिक्रिया