गाजामा लगभग ९० वटा सहायता ट्रक पठाइयो : राष्ट्रसङ्घ

गाजा । गाजामा सहायताका लागि बुधबार करिब ९० वटा ट्रक पठाइएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । युद्धले ध्वस्त पारेको प्यालेस्टिनी क्षेत्रमा इजरायलको नयाँ आक्रमण र नाकाबन्दीलाई लिएर अन्तर्राष्ट्रिय दबाब बढेको छ ।
मार्चको सुरुदेखि गाजामा सहायता वितरण भएको थियो भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अस्थायी युद्धविरामका लागि खुला रहेको बताए पनि सबै क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिने कुरा दोहोर्याएका थिए ।
इजरायलले सीमित सहायताको प्रवेश अनुमति दिने घोषणा गरेको तीन दिनपछि संयुक्त राष्ट्रसङ्घले करिब ९० ट्रक सामान गाजा पठाएको राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् । इजरायली सेनाले कब्जा गरिएको पश्चिम किनार भ्रमण गर्ने विदेशी कूटनीतिज्ञहरूको प्रतिनिधिमण्डल नजिकै सेनाले गोली चलाएको केही समयपछि भएको घटनाले विश्वव्यापी निन्दा खेपिरहेको छ
गाजाको मिडियाले ८७ वटा सहायता ट्रकको आगमन भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय र स्थानीय संस्थाहरूलाई ‘तत्काल मानवीय आवश्यकताहरू’ पूरा गर्नका लागि निर्धारित गरिएको उल्लेख गरेको छ । नेतान्याहुले गाजामा ‘हाम्रो कार्यको स्वतन्त्रताको संरक्षण गर्न मानवीय सङ्कटबाट बच्न’ आवश्यक रहेको बताएका छन् । इजरायली नाकाबन्दीले खाद्यान्न र औषधिको गम्भीर अभाव निम्त्याएका कारण प्यालेस्टिनीहरू आधारभूत आवाश्यकता परिपूर्तिका लागि सङ्घर्ष गरिरहेका छन् । यसैबीच इजरायलले आक्रमण जारी राख्दा गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ८२ जनाको शव अस्पतालमा लगिएको जनाएको छ ।
मानवीय सहायता समूहले गाजामा प्रवेश गर्ने सहायताको मात्रा सङ्कट कम गर्न आवश्यकभन्दा धेरै कम रहेको जनाएको छ । संयुक्त राज्य अमेरिका समर्थित गाजाको मानवतावादी फाउन्डेसनले आगामी केही दिनमा यस क्षेत्रतर्फ सहायता पठाउने बताएको छ । यसै गरी संयुक्त राष्ट्रसङ्घ र यसका एजन्सीहरूले सहयोग गर्ने बताएका छन् । इजरायलले आक्रमण रोक्न र गाजामा सहायताको प्रवेशलाई अनुमति दिन सहयोगीहरूबाट बढ्दो दबाबको सामना गरेको छ ।
युरोपेली सङ्घ (इयु) विदेशमन्त्रीहरू मङ्गलबार इजरायलसँग व्यापार समावेश भएको सहयोग सम्झौता संशोधन गर्न सहमत भएका छन् । इजरायलको विदेश मन्त्रालयले इयुले इजरायलले सामना गरिरहेको जटिल वास्तविकताको बुझाइको पूर्ण अभावलाई प्रतिबिम्बित गरेको घोषणा गरेको छ ।
प्रतिक्रिया