लागू औषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत चन्द्रागिरी नगरपालिकासँगको संयुक्त आयोजना एवम् नेपाल औषधी व्यवसायी संघ काठमाडौंको सहकार्यमा ग्रीनल्याण्ड बैंक्वेट थानकोटमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सुरक्षित उपत्यका बनाउन विभिन्न कार्यक्रम अन्तर्गत लागूऔषध दुव्र्यसन रहित घर अभियान संचालनमा ल्याइएको बताए ।
लागूऔषधको बढ्दो प्रयोगले समाजमा आपराधिक क्रियाकलापमा वृद्धि भएको उल्लेख गर्दै यस्ता आपराधिक क्रियाकलाप रोक्न नागरिक स्वयम सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजधानीको प्रमुख नाकाको रूपमा रहेको नागढुङ्गा नाका लागूपदार्थको ओसारपसारमा बढी प्रयोगमा रहेको उल्लेख गर्दै लागूऔषध ओसारपसार, दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले प्रहरीसँग थप संवेदनशील भई सहकार्य र समन्वय गर्ने बताए ।
कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका उप–प्रमुख बसन्ती श्रेष्ठ, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, नेपाल औषधी व्यवसायी संघ काठमाडौंका जिल्ला शाखाका अध्यक्ष शंकर महर्जन र कलाकार दिपक राज गिरीले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गरेको उक्त कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका नगर प्रवक्ता कृष्ण प्रसाद खड्गीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो प्रस्तुत गरिएको उक्त कार्यक्रममा लागूऔषध दुव्र्यसनरहित घर अभियानको स्टिकर समेत सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता-सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गरेका छन् । साक्षात्कारको क्रममा उनले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गरे ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक थापाले आर्थिक वर्ष २०८१/०८२ को १० महिनाको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू सम्बन्धी प्रस्तुतीकरण गरे । सो क्रममा उनले मानवस्रोत विकास तथा स्रोतसाधन व्यवस्थापनतर्फ प्रहरीको इकाईगत संख्या, अस्थायी प्रहरी पोष्टमा कार्यरत एवम् नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा संख्यागत विवरण प्रस्तुत गरे ।
यसैगरी उक्त अवधिमा अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषणतर्फ कर्तव्य ज्यान, आत्महत्या, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बैंकिङ कसूर, लागूऔषध लगायतमा अपराध दर्ता संख्याको प्रदेशगत तुलनात्मक विवरण, साइबर अपराध, फैसला कार्यान्वयन, मानव बेचबिखन, बालबालिका खोजतलास सन्बन्धी तथ्याङ्क र घरेलु हिंसा सम्बन्धी तथ्याङ्क समेत उनले विश्लेषण गरे ।
प्रहरी वरिष्ठ उपरीक्षक थापाले अन्तर्राष्ट्रिय समन्वयतर्फ एनसिबि काठमाडौंले सम्पादन गरेका कार्यहरूको विवरण बारे जानकारी दिए । यसैगरी प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ सवारी दुर्घटना सम्बन्धी तथ्याङ्क, ट्राफिक कारवाही सम्बन्धी विवरण, विपद् व्यवस्थापन, राजस्वमा योगदान, नागरिकसँगको सम्बन्ध, सूचना प्रवाह र प्रहरी सेवा, नेपाल प्रहरी तथा अन्य निकायसँग भएका सम्मझदारीहरू, हासिल गरेका मुख्य उपलब्धिहरूको बारेमा समेत उहाँले उपस्थित सञ्चारकर्मीहरूलाई विस्तृत रूपमा जानकारी दिए ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक थापाले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै जनचेतना, प्रहरीको सक्रियता तथा प्रहरी प्रतिको विश्वासमा अपराधको उजुरी दिने क्रम बढेको तथ्याङ्कले देखाएको बताए । व्यवसायिकतालाई प्रवर्धन गर्ने उद्देश्य अनुरूप उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गर्दै प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न नेपाल प्रहरी संगठन संवेदनशील रहेको उनले उल्लेख गरे । संगठित अपराधमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिवद्ध रहेको उल्लेख गर्दै कुनै पनि व्यक्ति प्रहरी कार्यालयमा जाँदा उनीहरूको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखेर प्रहरी सेवा प्रवाह हुने एवम् पीडितलाई न्याय दिलाई पीडकलाई कारवाहीको दायरामा ल्याउन प्रहरी थप संवेदनशील रहेको उनले बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक थापाले संगठनको हित एवम् सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिकता एवम् नागरिक प्रतिको जवाफदेहीताको लागि सञ्चारकर्मीहरूबाट प्राप्त उपयोगी राय सुझावप्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीहरू बिच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै लैजाने बताए । विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया