पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

सोलुखुम्बु । सोलुखुम्बुका स्थानीय दावा शेर्पाको ४६ वर्ष सगरमाथा क्षेत्रमा आवतजावत गर्दागर्दै बित्यो । कलिलो उमेरमै हिमालमा भारी बोक्न सुरू गरेका उाी हाल ६१ वर्षको भए । पर्वतारोहण पथप्रदर्शकका रूपमा आठ पटक सगरमाथा आरोहण गरिसक्नु भएका दावामा हिमालप्रतिको मोह भने अझै उस्तै छ ।
भरियाबाट पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका उनलाई सगरमाथा क्षेत्रका गाउँहरू र त्यहाँको बाटो निकै प्रिय लाग्छ । उनी विगत सम्झँदै भन्छन्, ‘हालको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजार अहिलेको जस्तो थिएन । पुराना घरहरू थिए । पर्यटन सिजनको बेलामा सयौँ टेन्ट टाँगिएका हुन्थे । शेर्पा युवाहरू कोही भारी बोक्थे, अङ्ग्रेजी बोल्न जान्नेहरू ट्रेकिङ गाइडका रूपमा काम गर्थे ।’
पदयात्राका क्रममा गन्तव्यमा अहिलेको जस्तो होटल थिएनन् । कतिपय स्थानमा ओडारमा रात बिताएका अनुभव उनीसँग छ । उनी सम्झँदै भने, ‘जहाँ दाउरा भेटिन्छ, बोक्थ्यौँ । जहाँ ओडार भेटिन्छ, त्यहाँ बस्थ्यौँ र आगो बालेर खाना पकाएर खान्थ्यौँ । त्यो समयमा प्रायः शेर्पा समुदायका युवाहरू देखिन्थे । तर अहिले शेर्पा युवाहरू अलि कम देखिन्छन् ।’
पहिलो पुस्ताका अनुभवी शेर्पाहरूले पर्वतारोहण पथप्रदर्शक धाने पनि आगामी दिनहरूमा पथप्रदर्शकका रूपमा शेर्पा समुदायका युवाहरूको कमी हुन सक्ने नेपाल पर्वतारोहण महासङ्घको भनाइ छ । छिटपुट शेर्पा युवाहरूले पर्वतारोहण क्षेत्रमा आफ्नो भविष्य देखेपनि वर्षौँ पर्वतारोहण पेसामा लागेका अनुभवी शेर्पाहरूका सन्तान यो पेसामा नदेखिएको पर्वतारोहण पेसामा आबद्धहरू बताउँछन् ।
नेपाल पर्वतारोहण सङ्घका सञ्चार अधिकृत दीपेन्द्र गुरूङका अनुसार सोलुखुम्बु जिल्लाबाट अनुभवी पर्वतारोहण पथप्रदर्शकहरू भए पनि दोस्रो पुस्ताका शेर्पा युवाहरूको कम सहभागिता देखिन्छ । सङ्घका अनुसार नेपालमा ४६१ हिमाल आरोहणका लागि खुला गरिएको छ । करिब १५० बढी हिमाल आरोहण हुनै बाँकी छ । कतिपय हिमालहरू अझै अध्ययनको क्रममा छन् ।
शेर्पा संस्कृति र शेर्पा समुदायको हिमालसँग जोडिएको सम्बन्ध केन्द्रित अध्ययन अनुसन्धान गर्दै आउनुभएका ६४ वर्षीय लाक्पा सोनाम शेर्पा पहिलेको तुलनामा पछिल्लो समय हिमाल आरोहण पेसामा शेर्पा युवाहरूको आकर्षण घट्दो क्रममा रहेको स्वीकार गर्छन् । हालसम्म शेर्पाहरू हिमाल आरोहण पेसामा सक्रिय रहेका र आउने पुस्ता यस पेसामा रहन्छन् वा रहँदैनन् भन्ने टुङ्गो नरहेको हिमालयन उद्धार सङ्घका कार्यकारी प्रमुख गोविन्द बस्यालले बताउँछन् ।
खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारमा शेर्पा सङ्ग्रहालय सञ्चालन गर्नुभएका लाक्पा सोनामका अनुसार शेर्पाहरूले यो पेसा छोड्दैमा भविष्यमा समस्या नहुन सक्छ । शेर्पा युवाहरूले हिमाल चढ्न छाडे अन्य समुदायका युवाहरूले चढ्ने उहाँको अनुमान छ । बरू जलवायु परिवर्तनको कारण सगरमाथा रहन्छ कि रहँदैन भन्ने मुख्य चिन्ता रहेको उहाँ बताउँछन् ।
लसम्म आठ पटक सगरमाथा आरोहण गर्नुभएका ५१ वर्षीय निमा शेर्पा पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाहरूको कमी भएको बताउँछन् । सोलुखुम्बुको दूधकोसी गाउँपालिका–९ का तार्के शेर्पा उमेरले ५८ वर्ष पुग्नुभयो । कलिलो उमेरदेखिनै भारी बोकेर सगरमाथा क्षेत्रमा ओहोरदोहोर गरिरहनुभएका उनको पनि सगरमाथा क्षेत्रसँगको गहिरो सम्बन्ध छ ।
आठ पटक सगरमाथा आरोहण गरिसक्नुभएका तार्केले सगरमाथा आरोहण गर्न छाड्नुभएको तीन वर्ष बितिसक्यो । आठ हजार मिटरमुनिका हिमालमा अझै उहाँ आरोहण दलको नेतृत्व गरिरहहेका छन् । हिमाल आरोहणमा शेर्पा युवाहरूको कमी हुँदै आएको उनको स्वीकारोक्ति छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारका ओङछु शेर्पाका अनुसार पहिले प्रत्येक परिवारको कान्छो छोराबाहेक अरू छोराहरूले सगरमाथा आरोहण गर्नुपथ्र्यो । ओङछु शेर्पा आफू परिवारको एक्लो छोरा भएको कारण ट्रेकिङ गाइडको काम सम्म गरेको तर हिमाल आरोहण नगरेको बताउँछन् ।
तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेपछि सगरमाथा आरोहणको बाटो खुलेको हो । विश्वभरबाट पर्यटकहरू सगरमाथा आरोहण तथा त्यस क्षेत्रको अवलोकनका लागि आउन थालेपछि खुम्बु क्षेत्रका स्थानीयले भारी बोकेर आर्थिक आयआर्जन गर्ने अवसर पाएका थिए ।
सगरमाथा आधार शिविर पुग्नका लागि काठमाडौँबाट खुम्बु पासाङल्हामु गाउँपालिका–२ सुर्केसम्म यातायात सुविधा छ भने, काठमाडौँ र रामेछापबाट लुक्लासम्म हवाई सुविधा छ । लुक्लादेखि सगरमाथा आधार शिविरतर्फ पैदलयात्रामार्फत पुग्न सकिन्छ । बाटोमा सुविधा सम्पन्न होटलहरू छन् । हाल लुक्ला र सुर्केबाट खच्चड र मान्छेमार्फत सामान ढुवानी गरिन्छ ।
नेपालमा हिमाल चढ्ने समुदायको रूपमा शेर्पा समुदायलाई चिनिन्छ । कुनै समय सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रका हरेक युवाहरू सगरमाथा आरोहण र ट्रेकिङ गाइडको लागि तयार हुन्थे । हाल शेर्पा युवाहरूको यस पेसाप्रति आकर्षण घट्दो देखिएको हो । -रासस
प्रतिक्रिया