आइतबार, जेठ १२, २०८२

७० वर्ष अगाडि आजकै दिन पहिलो पटक कञ्चनजङ्घा हिमालको सफल आरोहण भएको थियो

सुनिल उलक २०८२ जेठ १२ गते १२:५७

बि.सं. २०१० जेठ १६ गते एड मण्ड हिलारी र तेन्जिङ नोर्गेको सफल सगरमाथा आरोहण पछि अन्य बेलायतीहरूलाई पनि अग्लो हिमाल चढ्ने हुतहुति लागेको थियो । यस्तैमा बेलायती नागरिक जो ब्राउन र जर्ज ब्यान्डको टोलीले अर्को ८ हजार भन्दा अग्लो हिमाल रोजे, त्यो थियो तेस्रो सर्वोच्च हिमाल कञ्चनजङ्घा ।

अघिल्लो रात क्याम्प ६ मा बिताउँदै थिएँ । हावाले टेन्ट उडाउँला भनेर बलियो ढुङ्गामा बाँधिएको थियो । साँझको खाना खाएपछि जो ले टेन्टबाट नै सूर्यास्तको तस्बिर खिचे । दुई ले संयोगले एक साथ ब्रिटिस एक्सपिडिसन टिममा चयन भएको खुसीका क्षणका बारेमा कुराकानी गरे । अन्तमा ८ बजेतिर निदाउन थाले । अक्सिजन जोडेर नै सुतेका थिए । जेठ ११ को बिहान ५ बजे अक्सिजन सकिए पछि निद्रा खुली हाल्यो । बिहान जो ले खाना तैयार गर्न लागे, भने जर्जले अक्सिजन मिलाउन तर्फ लागे। बिहान सवा ८ बजे शिखर पुग्ने सपना बोकेर टेन्टबाट निस्किए ।

चढाइ गाह्रो थियो, त्यसैले दिउँसो १:५० मा १० मिनेटका लागि विश्राममा केही खानेकुरा खाएर पुन उचाइ तर्फको यात्रामा निस्कन्छन् । अक्सिजन केवल २ घण्टाको लागि मात्र बाकी थियो । चढाइको सबैभन्दा कठिन क्षण थियो त्यो । अक्सिजन सकिन लागेको थियो । चुचुरो नजिक थियो । ढिलाइ गरे असफल मात्र होइन जीवन नै जाने सम्भावना सम्म थियो । शिखर पुगेपछि जो ले चुचुरो पछाडि पारेर जर्जको तस्बिर लिए । यसपछि जर्जले पनि तस्बिरहरू लिए । टुप्पोबाट हेर्दा २० हजार फिट भन्दा तल पुरै बादलले ढाकेको थियो । सगरमाथा, ल्होत्से, मकालु हिमालका टुप्पाहरू देखिएका थिए । १५ मिनेटमा दुवै तल क्याम्प ६ तर्फ ओर्लिए । जो को अक्सिजन ४:१५ मा सकियो । जर्जको ४:३५ मा सकियो । दुवै सुरक्षित शिखर पुगेर फर्किए । साँझ ७ बजे क्याम्प ६ मा पुगे । त्यहाँ भोलिपल्टका लागि हार्डी र स्ट्रेथर तैयारी गर्दै थिए ।

बि.सं. २०१२ जेठ ११ गते (मे २५, १९५५) २८१६९ फिट अग्लो विश्वको तेस्रो सर्वोच्च हिमाल कञ्चनजङ्घा आरोहणमा बेलायती आरोहण टोलीलाई सफलता हात लागेको थियो । सो अभियानमा बेलायती नागरिक जो ब्राउन तथा जर्ज ब्यान्ड कञ्चनजङ्घाको शिखरमा पुग्नुभएको थियो । साथै भोलिपल्ट नर्मन हार्डी र टोनी स्ट्रेथरले पनि आरोहणमा सफलता हासिल गरेका थिए ।

कञ्चनजङ्घाको सफल आरोहणबाट फर्किएका जो र जर्जले सन १९८९ मा हिमालयन ट्रस्ट युके गठन गरे । ताप्लेजुङवासीसँग राम्रो सम्बन्ध बनाउन सफल भएका यी दुई ले ताप्लेजुङवासीको सत्कार र आतिथ्य बिर्सेका थिएनन् । त्यसैले ताप्लेजुङवासीका लागि केही गर्न चाहन्थे । एड मण्डले पनि खुम्बु क्षेत्रको विकासका लागि निकै काम गरेका थिए । खुम्बुवासीका लागि हिलारी सधैँ बुढा साहिव बनेर सम्मानित रहे । जो र जर्जले स्थापना गरेको हिमालयन ट्रस्ट युकेले पनि ताप्लेजुङमा शिक्षा तथा स्वास्थ्य कार्यक्रम सञ्चालन गरे ।

प्रतिक्रिया