डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वर्षा सुरु भएसँगै महामारी नियन्त्रणमा सजगता अपनाउन र आवश्यक तयारी थाल्न आग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्रालयमा आज आयोजित महामारीजन्य विपद्को तयारीमा सक्रिय विभिन्न विभाग तथा महाशाखा प्रमुखहरुसँगको बैठकमा उनले समयमै सजगता अपनाउन र आवश्यक तयारी थालिहाल्न आग्रह गरे । मन्त्री पौडेलले बर्खायाम लागेसँगै देखा पर्नसक्ने स्वास्थ्य महामारी नियन्त्रणका लागि सक्रियता बढाउनुपर्ने भन्दै डेङ्गी फैलन नदिन हालैबाट लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाउनुपर्ने बताए । उनले भने, वर्षायाम सुरु भइसकेको छ । पानी तथा कीटजन्य महामारीबाट जोगिन आ–आफ्नो तर्फबाट तयारी थाल्नुहोला । विपद् आएपछि मात्र सक्रियता देखिने प्रचलन रहेकाले यसपालि त्यो दोहोरिएन ।
मन्त्री पौडेलले भारतलगायत देशमा कोभिड देखिएकाले सीमा नाकामा कडाइका लागि पर्याप्त व्यवस्थापन गर्न आवश्यक रहेकाले तीनवटै सरकारसँग समन्वय गर्ने गरी मन्त्रालयले काम अघि बढाइरहेको बताए । उनले महामारी कोष प्रभावकारी बनाएर समयमै नागरिकले राहत पाउने गरी काम हुनुपर्नेमा जोड दिए ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बैठकले महामारी नियन्त्रणका लागि चाँडै वडा तहसम्मै प्रभावकारी रूपमा पुग्ने गरी तीनै तहको समन्वयात्मक बैठक आयोजना गर्ने निर्णय गरेको बताए ।
प्रतिक्रिया