बिहीबार, जेठ १६, २०८२

राणा वंशका उपेक्षित राजकुमार : विष्णु शमशेरको जीवनयात्रा र उत्तराधिकारको गाथा

नेपालखोज २०८२ जेठ १५ गते १३:१५

काठमाडौं । राणाशासकको समय राणा श्री ३ तथा प्रधानमन्त्रिको छोरा जन्मेको समाचार पनि भारतमा रहेको अंग्रेज सरकारलाई पनि जानकारी गराउनु पर्ने रहेछ । यहाँ राणा प्रधानमन्त्रि श्री ३ चन्द्रशमशेरको छोरा जन्मेको जानकारी पठाएको देखिन्छ । १३ नवम्वर १९०६ को राति श्री ३ को छोराको जन्म भएको जानकारी पठाइएको देखिन्छ ।

पत्रमा आमा छोरा दुबैको स्वास्थ्य राम्रो रहेको जानकारी समेत गराइएको छ । यो पत्र नेपालमा रहेका ब्रिटिस रेसिडेन्ट मेजर जे। मानर्सले कलकत्तामा रहेको भारत सरकारको विदेश विभागको सचिव सर लुईस विलियम डेनलाई जानकारी गराइएको देखिन्छ । यस किसिमको जानकारी केवल श्री ३ को ब्याइते तर्फबाट जन्मने छोराहरुको बारेमा मात्र जानकारी गराउने गरिन्थ्यो ।

यहाँ जन्मको जानकारी दिइएको श्री ३ चन्द्र शमशेरको छोरा विष्णु शमशेर हुन् । राणाहरुको विवाहको मामिलामा सबैभन्दा कम विवाह गर्नेमा चन्द्र शमशेर पर्दछन् । ब्याइते रानी जेठी बडामहारानीको निधन पछि कान्छी बडामहारानीसंग विवाह गरेका थिए । तेश्रो रानीको रुपमा दरवारका सुसारे रोशन पदीसंग विवाह गरेका थिए, उनी बद्रिशमशेरको आमा हुन् ।

जेठी बडा महारानी चन्द्र लोकभक्त लक्ष्मी देवीको अचानक वि.सं. १९६१ को माघ महिनाको अन्तमा स्वर्गारोहण भए पछि तत्कालै जाजरकोटे राजा हरिबिक्रम शाहको ठूलो छोरी बालाकुमारी देवीसंग विवाह गरेका थिए । जेठी महारानीको विमारी अवस्थामा देहावसान भएको थियो । जेठी महारानीले आफ्नो छिट्टै मृत्यु हुन सक्ने आभास पाएर पाटनमा शुद्ध खानेपानीका लागि बेलायतबाट अंग्रेज इञ्जिनियर र विज्ञहरुको सहयोगमा धारा जोडेका थिए । पछि कान्छी बडामहारानीले जाजरकोटमा र छोरा बबर शमशेरले पोखरामा पनि खानेपानीको ब्यबस्था गरेका थिए । केवल ११ वर्षको उमेरमा विवाह भएर आएका जेठी बडामहारानीको तर्फबाट ५ छोरा र १ छोरीको जन्म भएको थियो ।

कान्छी बडामहारानीसंगको विवाह पछि उनको तर्फबाट जेठो तर चन्द्रशमशेरको छैठौ छोराको रुपमा विष्णु शमशेरको जन्म भएको थियो । विष्णु शमशेरको नाम नेपालको भिन्न प्रकारले चर्चित रुपमा लिने गरिन्छ । श्री ३ चन्द्र शमशेरको छोरा विष्णु शमशेरलाई चन्द्र शमशेर तथा पछि भीमशमशेरले बनाएको राणाहरुको रोलक्रम सूचीमा राखिए पनि जुद्धशमशेरले वि.सं. १९८९ भदौ १७ मा श्री ३ बनेपछि बनाएको रोलक्रमबाट हटाएका थिए । यसरी रोलक्रमबाट हटाइए पछि विष्णु शमशेर बेलायत गए । उनको विवाह ११ वर्षको उमेरमा उर्मिला राज्य लक्ष्मी देवीसंग भएको थियो । पत्नी उर्मिलालाई लिएर बेलायत गएका उनको लण्डनमा नै एक मात्र छोरा पिताम्वर शमशेर जन्मिएका थिए । पिताम्वरको जन्म तथा पढाइ लेखाइ लण्डनमा भए पनि जीवनको अधिकांश समय बम्बइमा नै रहे ।

लण्डन बसाइ पछि विष्णु शमशेरको जीवन शैली बदलिन थाल्यो । उनको लण्डन प्रवासमा त्यसबेलाका चर्चित हलिवुडकी नायिका स्यान्ड्रा रेम्बोका साथ भएको प्रेमसम्बन्धले निकै चर्चा कमाएको थियो । विष्णु शमशेर त्यो समय एक महाराजाको छोराका रुपमा बेलायतमा चर्चित भएका थिए । धन मनग्गे भएका उनले महंगा पोशाक र हिरा जवाहरातले सजिएर ठूला कार्यक्रममा जाने गर्दथे । जसले गर्दा हलिवुडकी यी कलाकार पनि मोहित भएको हुनुपर्दछ ।

विष्णु प्रेममा गहिराइमा डुबेको लाग्दैन तर समाचार पत्रहरुको माध्यमबाट स्यान्ड्रा भने विष्णु माथि मानसिक दवाव राखिरहेका थिए । अन्तत विष्णु लण्डनबाट अमेरिकी राज्य मियामी नजिकैको टापु बहामाजमा गए । जहाँ बेलायतका राजा एडवर्ड आठौं बेलायती राजाको पद नै त्यागेर प्रेमिकाका साथ बस्न गएका थिए । त्यहिं नेपालका राजकुमार पनि बस्न गए । सुख शान्तिसंग जीवन बिताउने उद्धेश्यका साथ बहामाज पुगेका उनलाई अनावश्यक दुख आइपर्यो । उनको निवासमा पाहुनाका रुपमा आएका अमेरिकी महिला कुञ्जको शंकास्पद मृत्यु भयो । जसले गर्दा उनले कानुनी झमेला झेल्नु पर्यो । यसरी बारम्बार बिभिन्न समस्यामा झेल्न बाध्य भएका उनि रक्सी सेवनको लतमा डुब्दै गए ।

रक्सीमा दिन रात डुबिरहने विष्णुको बहामाजमा रहेको निवासमा वि.सं. २००२ माघ २१ गते निधन भयो । उनको शव बहामाजबाट भारतको पूण्यभूमी बनारसमा ल्याएर हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको थियो । उनको छोरा पिताम्बर तथा सन्तती नेपाल फर्किएनन् । पिताम्बर बम्बइमा बिभिन्न कम्पनीमा रहँदै गोल्फ खेलका शौकिन थिए । इन्डियन गोल्फ यूनियनको कुनै बेला प्रेसिडेन्ट समेत रहेका पिताम्बर भारत सरकारले प्रदान गर्ने अर्जुन पुरस्कार समेत हासिल गर्न सफल भएका थिए ।

पिताम्बरकी श्रीमती सुनिता राज्य लक्ष्मी बम्बइको चर्चित इन्टरियर डिजाइनर सुनिता पिताम्बरको नाममा प्रख्यात भइन । उनको नाम बम्बइ मात्र नभएर पुरै भारतमा चर्चित रहेको छ । पिताम्बरको देहान्त २०६२ सालमा भएको थियो भने सुनिताको देहान्त २०६३ सालमा भयो । अझै पनि बम्बइमा सुनिता पिताम्बरलाई सम्झिरहने गरिन्छ ।

प्रतिक्रिया