राजगद्दीको सट्टा प्रेम रोज्ने राजा: एडवर्ड आठौँको प्रेम कथा

बेलायती राजा एडवर्ड आठौँको प्रेम कथा, जसको आजको ठिक ५३ वर्ष अगाडि गुमनाम मृत्यु भएको थियो । भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेमको गहिराइमा डुबिसकेपछि जायज/नाजायज, धर्म/अधर्म, पाप/पुण्य वा सत्य/असत्य सबै त्यागेको हुन्छ । उसको अगाडी केवल उसको प्रेमी वा प्रेमिका मात्र हुने गर्छ । जसको लागी उसले संसार बिर्सेको हुन्छ । यो केवल कथा कहानीको पात्रमा मात्र होइन वास्तविक जीवनमा पनि हुने गर्छ ।
यस्तै कथा बेलायतका राजा एडवर्ड आठौको पनि छ । युवराज छदै बिबाहित युवतीसंग विवाह गरेका युवराज एडवार्ड १६ वर्षे वैवाहिक जीवन पछि एउटी अर्की विवाहित महिलाको प्रेममा फस्दछ । अमेरिकामा जन्मेका वालिस सिम्पसनको साथ बसिरहेका युवराज वि.सं. १९९२ माघ ७ मा बुबा राजा जर्ज पाँचौको मृत्यु पछि राजा एडवर्ड आठौ बने । उनले वालिस सिम्पसनसंग नै विवाहको सोच बनाए ।
राजा बनेपछि उ प्रतिको बिरोधको भावहरु बढ्दै गयो । अमेरिकी नागरिक रहेकी वालिस सिम्पसनलाई रानी स्विकार्न धेरैले चाहेका थिएनन् । उनले बिभिन्न कानुनहरु बनाउदै आफूलाई शक्तिवान बनाउने सोच बनाउन थाले । तर यसले झन उल्टो असर गर्यो । वालिस सिम्पसन माथी जर्मनको जासुस भएको आरोप पनि लाग्यो ।
अन्तमा राजा सामु अप्ठेरो परिस्थिती सिर्जना भयो । कि उनले वालिसलाई त्याग्ने वा विवाह गरेर राज्य त्याग्ने वा मन्त्रीमण्डलको राजिनामा पछि सिर्जिने समस्यालाई झेल्ने । धेरै सोच पछि उनले वालिसलाई त्याग्न नसक्ने निर्णय गरे । अन्तत वि.सं. १९९३ मंसिर २५ गतेको बिहान १० बजे उनले राजगद्दी त्यागेको घोषणा गर्दै राजिनामा बुझाए । सो पत्रमा तीन जना भाईहरुले पनि साक्षीको रुपमा हस्ताक्षर गरेका थिए । यस पछि उनका भाई अल्बर्ट राजा जर्ज छैठौ बने । जो बेलायती महारानी एलिजाबेथ दि्वतियका बाबु तथा हालका राजा चार्ल्स तृतीयका बाजे हुन् ।
राज्य त्यागे पछि एडवर्ड ड्युक अफ विन्डसरको रुपमा आफ्नो जीवन बिताउन लागे । यसको केही समय पछि जेठ २१, १९९४ मा एडवर्डले वालिससंग विवाह गरे । विवाहको केही समय पछि नै उनका भाइ अर्थात राजा जर्ज छैठाैले उनको राजकिय सम्मानहरु सबै खोसे । जसले गर्दा एडवर्ड, पत्नि वालेसका साथ देश छोडेर फ्रान्स गए । दोश्रो विश्व युद्दले फ्रान्स माथि जर्मनले कब्जा गरेपछि एडवर्ड तथा वालेस केही समय स्पेनमा बस्न गए ।
त्यहाँबाट बेलायती प्रधानमन्त्रिलाई बिभिन्न आग्रह गरे पछि बेलायती उपनिवेशका रुपमा बहामाजमा गवर्नरका रुपमा रहन सक्ने सुविधा प्रदान गरे । जसले गर्दा आफ्नो बाकी सम्पूृर्ण जीवन बिताउने गरि वि.सं १९९७ भदाैमा अमेरिकाको मियामी नजिकैको सानो टापु बाहामाजको नासाउमा गए । त्यहाँ उनको भव्य स्वागत गरिएको थियो । बहामाजको नासाउ त्यही सानो शहर हो जहाँ नेपालका राजकुमार भनेर बेलायतमा चर्चित रहेका श्री ३ चन्द्र शमशेरका छोरा विष्णुशमशेर त्यसको ठिक एक वर्ष पछि १९९८ भदाैमा सुखि जीवन जिउने मनसायले पुगेका थिए । विष्णुशमशेरको पनि नासाउमा नै मृत्यु भएको थियो ।
नासाउमा नै ड्युक अफ विन्डसर एडवर्डको मइ २८, १९७२ (२०२९ जेठ १५) मा निधन भयो । यस पछि १४ वर्ष एक्लो जीवन बिताएर २०४३ को बैशाखमा वालिसको पनि निधन भयो । दुबैको निधन भएको धेरै पछि बेलायती लेखिका ऐनी सेब्बाले एउटा पुस्तक लेखिन – That woman: The Life of Wallis Simpson । प्राय पत्रपत्रिका तथा पुस्तकहरुमा वालिस सिम्पसनको चरित्र तथा सौखिन तथा पुरुषहरु परिवर्तन गर्दै हिड्ने एक चरित्रहिन महिलाका रुपमा वर्णन गरेको देखिन्छ ।
जसका कारणले एक राजाले गद्दी त्याग्नु परेको देखिन्छ । तर उनको पुस्तकका अनुसार एडवर्ड नै निकम्मा थिए, उनलाई राजा बनेर देश हाक्ने चाहना नै थिएन । उनमा त्यो साहस र हिम्मत पनि थिएन । उनलाई साथीहरु डेविड भन्दथे । उनमा राजा बनेर बन्धनमा बाँच्नु भन्दा सौखिन जीवन जिउने रहरहरु थिए । तर राज परम्परामा जेठो छोरा राजा बन्नु बाध्यता थियो । सेब्बाको पुस्तकका अनुसार एडवर्डसंग बुबा राजा जर्ज पाँचौले पनि खासै कुराकानी गर्दैनथे । उनको डायरीमा लेखिएको अनुसार एकपटक उनले आत्महत्या गर्ने सम्म कल्पना गरेका थिए । राजालाई यदि अप्ठ्यारो पर्दैन भने म आत्महत्या गर्न तैयार छु भनेर लेखेका थिए । उनले पढाइ पनि बिचैमा छोडेका थिए ।
अत्यधिक ब्यायाम गर्ने र कम खाएर आफूले आफैलाई सजायँ दिने गर्दथे । एडवर्डको निकटता केवल वालिससंग मात्र थिएन । यसभन्दा अगाडि पनि विवाहित महिला फ्रेडा डुडली वार्डसंग पनि थियो । उनले ति महिलालाई पत्र नै लेखेर, “तिमीसंग बाँच्न नपाए पनि तिेमीसंग मर्न चाहन्छु” भनेका थिए । वालिस अमेरिकाबाट लण्डन आइपुगे पछि उनकै साथी थेल्मा फर्नेसले एडवर्डसंग परिचय गराइदिएका थिए । जबकी थेल्माको निकट सम्बन्ध एडवर्डसंंग पहिले देखि थियो । र यता वालिस पनि अर्नेस्ट वालिसको पत्नी थिइन । पछि थेल्मा छुट्टीमा लामो समय अमेरिका बसेपछि एडवर्ड, वालिसको निकट हुँदै गए । थेल्मा बेलायत फर्केपछि एडवर्डले चासो नै दिएनन् ।
एडवर्ड युवराज रहँदा नै श्री ३ चन्द्र शम्शेरको समयमा नेपालमा पनि शिकारका लागि आएका थिए । फर्कदा श्री ३ ले थुप्रै उपहार पनि दिएर पठाएका थिए । श्री ३ चन्द्र शम्शेरले नेपाल सरकारको तर्फबाट प्रिन्स एडवर्डलाई उपहारमा दिइएका जनावरहरुमा एउटा हात्तीको छावा, एउटा गैडाको केटो, दुइवटा चितुवाको छाउरो, दुइवटा हिमाली कालो भालु, एउटा कालो चितुवा, एउटा धर्के चितुवा, एउटा बाघ, तिब्बती फ्याउरो, हिमाली फ्याउरो, दुइवटा जरायो, एउटा थार, तीनवटा कस्तुरी मृग, केही भिन्न जातका भेडाहरु, दुइवटा भोटे कुकुर, चारवटा कुकुरको छाउरा, एउटा सुन गोहोरो, केही अजिंगर तथा अन्य किसिम किसिमका चराहरुमा नेपाली कालिज, सेतो कलगी भएको कालिज, मुनाल, चीर, फोक्रास, चकोर, तित्रा, हरियो परेवा, खैरो पखेटा भएको ढुकुर, बाज, मयुर पठाइएको थियो । यि जनावर तथा पक्षिहरु सबै कलकत्ता पठाइयो । केही दिन कलकत्ता जुलोजिकल गार्डेनमा राखेपछि त्यहाँबाट रिजेन्टस पार्कमा रहेको लण्डन जुलोजिकल गार्डेनमा पठाइएको थियो ।
प्रतिक्रिया