विपक्षी दलको अवरोधका कारण मधेस प्रदेशसभा बैठक स्थगन, अर्काे बैठक भाेलि दिउँसो १ बजे बस्ने

जनकपुर । विपक्षी दलको अवरोध र विरोधका कारण मधेस प्रदेशसभा बैठक आज सुरु हुनासाथ स्थगित भएको छ । जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक सुरु भएसँगै जसपाका सांसदहरूले सिटबाट उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठकलाई बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गरेका छन् ।
जसपाका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशसभाको चौथो अधिवेशनको २२औँ बैठकमा सभामुख मण्डलले छानबिन समिति गठन गर्ने घोषणा गरे पनि त्यसको कार्यान्वयन नभएकामा आपत्ति जनाएका थिए । उनले संसदीय छानबिन समिति गठन नभएसम्म बैठक अवरुद्ध जारी राख्ने बताए ।
यसअघि प्रदेशसभा सञ्चालनका लागि सभामुख मण्डलले आज तीन घण्टा छलफल गरेका थिए । तर छलफलबाट सकारात्मक निष्कर्षमा पुग्न नसकेपछि प्रदेशसभा सञ्चालन भएको थियो ।
प्रतिक्रिया