शनिबार, जेठ २५, २०८२

अमेरिकाको स्वास्थ्य योजना कटौतीले आदिवासी समुदायमा असर : प्रतिवेदन

नेपालखोज २०८२ जेठ २२ गते २१:०६

अमेरिकाको सङ्घीय स्वास्थ्य कार्यक्रममा ठूलो कटौती भएपछि देशभरका आदिवासी समुदायका नेताहरू चिन्तित भएका छन् । यसले आदिवासीहरूका स्वास्थ्य सेवामा ठूलो असर पार्ने स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

नेभाजो आदिवासी समाजका अध्यक्ष बू न्यग्रेनले भने, ‘सङ्घीय अनुदान र कामदार कटौतीले चार लाख जनसङ्ख्या भएको नेभाजो समुदायमा असर परेको छ । नेभाजो आदिवासी क्षेत्र अमेरिकाको सबैभन्दा ठूलो आदिवासी आरक्षण हो, जुन एरिजोना, न्यू मेक्सिको र युटाह राज्यमा फैलिएको छ ।’

स्वास्थ्य तथा जन कल्याण विभागले आफ्नो कामदार सङ्ख्या घटाउने योजना बनाएको छ । यसबाहेक, राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले विभागका सबै काममा खर्च ३५ प्रतिशत कम गर्ने निर्देशन दिएका छन् ।

यी कटौतीका कारण आदिवासी समुदायलाई दिइने अनुदानमा कमी आएको छ र स्वास्थ्य परियोजनाहरूमा समस्या आएको छ । नेभाजो प्रतिनिधि चेरीलिन याजिजीले भने, ‘यी कटौतीहरूले हाम्रो जनजीवनमा प्रत्यक्ष असर पुर्याइरहेका छन् ।’

सङ्घीय कर्मचारी कम हुँदा स्वास्थ्य सेवा कार्यक्रममा आवश्यक सहयोग र आर्थिक सहायता पाउन गाह्रो भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय आदिवासी स्वास्थ्य बोर्डले स्वास्थ्य मन्त्रीलाई पठाएको पत्रमा आदिवासी समुदायले छ लाख अमेरिकी डलरभन्दा बढी अनुदान गुमाएको जानकारी दिएको छ ।

यसले समुदायका स्वास्थ्यकर्मी, खोप कार्यक्रम र तथ्यांक सुधार योजनामा असर पुर्याउन सक्छ । स्ट्यान्डिङ्ग रक सिउक्स समुदायको अध्यक्ष जेनेट अल्काइरेले यसले स्वास्थ्य सेवामा ठूलो प्रभाव पार्ने बताए । -रासस

प्रतिक्रिया