लागु औषधसहित पक्राउ

काठमाडौं । काठमाडौंको कागेश्वारी मनोहरा नगरपालिका ८ शिवचोक डेरा गरी बस्ने मोरङ घर भएकी २२ वर्षीया सपना राजबंशीलाई करिब ५ केजी अवैध लागूऔषध गाँजा सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
साथै घटनामा संलग्न फरार सिन्धुपाल्चोक मेलम्ची घर भएका २६ वर्षीय ईश्वर आचार्यको प्रहरीले खोजी गरिरहेको छ ।
पर्साको बहुदरमाई नगरपालिका ७ बिश्रामपुर बस्ने ६० वर्षीय मसलिम देवानलाई ९ केजी २ सय ग्राम अवैध लागूऔषध चरेस, ३ थान चरेस बनाउन प्रयोग हुने मेसिन र ९ सय २० ग्राम केमिकल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी पर्साको वीरगंज महानगरपालिका २५ सिर्सियाबाट २ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित भारत बिहार जमुईग्राम मोहनपुर बस्ने २० वर्षीय राकेश सिंहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी छप्कैयाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया