मंगलबार, वैशाख ३०, २०८२

मेयर कप क्रिकेटमा पुलिसले आर्मीलाई हरायो, एपीएफ वागमतीसँग पराजित

नेपालखोज २०७७ फागुन २५ गते १९:२७

काठमाडौं । मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मङ्गलवार भएका खेलमा पुलिस र वाग्मती विजयी भएका छन् ।

र्कीर्तिपुर मैदानमा भएको खेलमा वाग्मतीले एपीएफलाई २७ रनले हराएर पहिलो जित निकालेको छ । वाग्मती प्रदेशले दिएको दुई सय ३४ रनको लक्ष्य पछ्याएको एपीएफ ४४ ओभर ५ बलमा अलआउट हुँदै दुई सय ६ रनमा समेटियो । एपीएफका आशिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन ।

वाग्मतीका सोनु देवकोटाले ६, रामनरेश गिरी र अरियो पौडेलले दुईरदुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वाग्मतीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ३३ रन बनाएको थियो । वाग्मतीका कप्तान ज्ञानेन्द्र मल्ल र नन्दन यादवले अर्धशतकीय पारी खेले । नन्दनले ६० तथा मल्लले ५७ रन बनाए ।

यस्तै मूलपानीमा भएको खेलमा नेपाल पुलिस क्लबले आर्मीलाई तीन विकेटले हराएको छ । ८८ रनको लक्ष्य पाएको पुलिसले १८ ओभर तीन बलमा सात विकेट गुमाएर भेट्टायो । पुलिसका सुनील धमलाले सर्वाधिक ३९ रन बनाए । आर्मीका शाहब आलम एक्लैले सात विकेट लिए ।

पुलिसले आर्मीलाई हराएर दोस्रो जित निकालेको हो भने प्रतियोगितामा आर्मीको दोस्रो हार हो । मूलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३० ओभर एक बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । उसका तीन खेलाडीले मात्र दोहोरो अङ्कको रन जोडे । पुलिसका सागर ढकालले पाँच, पवन सर्राफले तीन तथा ललित राजवंशीले दुई विकेट लिए ।

प्रतिक्रिया