नयाँ बस्तीसँग हारेसँगै पुल्चोक क्लब ‘सी’ डिभिजनमा घटुवा

काठमाडौं । पुल्चोक स्पोर्ट्स क्लब ‘सी’ डिभिजनमा घटुवा भएको छ । एन्फा मैदान सातदोबाटोमा बुधवार नयाँ बस्ती युथ क्लबसँग दुई-एकले हारेसँगै पुल्चोक सी डिभिजनमा घटुवा भएको हो ।
‘बी’ डिभिजनमा रहिरहन पुल्चोकलाई बुधवारको खेल जित्नैपर्ने दबाब थियो । प्रतियोगिताका ११ खेलमा पुल्चोकले जम्मा पाँच अङ्क जोड्न सक्यो ।बुधवारको खेलमा नयाँ बस्तीको जितमा अशोक तामाङ र विवेक गुरुङले एक–एक गोल गरे । बुधवार नै भएको पहिलो खेलमा खुमलटार युथ क्लबले बाँसबारी क्लबलाई चार-शून्यले हरायो । खुमलटारका लागि आदिल हमिद, प्रशान्त अवस्थी, आयुश घलान र महेश राईले गोल गरे ।
जीतसँगै २५ अङ्क जोडेको खुमलटारले शीर्ष स्थानको सातदोबाटो युथ क्लबसँग अङ्क बराबरी गरेको छ । गोल अन्तरको आधारमा खुमलटार दोस्रो स्थानमा छ । लिगको उपाधि यसअघि नै सातदोबाटोले जितिसकेको छ । २१ अङ्क रहेको बाँसबारी तेस्रो स्थानमा झरेको छ ।
प्रतिक्रिया