शुक्रबार, वैशाख १२, २०८२

१० दसमलव ९ प्रतिशतले बढ्यो रेमिटेन्स

नेपालखोज २०७७ चैत ४ गते १२:५८

काठमाडौं । बैदेशिक रोजगारीबाट प्राप्त हुने रकम अर्थात रेमिटेन्स बढेको छ । नेपाल राष्ट्र बैंकको देशको बर्तमान आर्थिक तथा बित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको सात महिनाको प्रतिवेदन अनुसार रेमिटेन्स १० दसमलव नौ प्रतिशतले बढेर पाँच खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो रेमिटेन्स शुन्य दसमलव सात प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह छ दसमलव सात प्रतिशतले बढेर चार अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह शुन्य दसमलव पाँच प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५ दसमलव नौ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१ दसमलव सात प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७ दसमलव चार प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या शुन्य दसमलव छ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आठ दसमलव आठ प्रतिशतले बढेर छ खर्ब २९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर एक दसमलव पाँच प्रतिशतले घटेको राष्ट्र बैकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो सात महिनामा चालु खाता एक खर्ब एक अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब छ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड छ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर पाँच दसमलव सात प्रतिशतले कमी आई सात अर्ब ८३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७ दसमलव तीन प्रतिशतले कमी आई नौ अर्ब दुई करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर आठ अर्ब ३० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको छ ।

प्रतिक्रिया