बुधबार, जेठ १, २०८२

वायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

नेपालखोज २०७७ चैत ५ गते ८:४५

काठमाडौं । जर्मन क्लब वायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । साविक विजेता वायर्नले बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब लाजियोलाई २–१ ले पराजित गरेको हो । 

घरेलु मैदानमा अन्तिम आठमा प्रवेश गर्ने क्रममा वायर्नले समग्रमा ६–२ को जित निकाल्यो । वायर्नले पहिलो लेगमा ४–१ को जित निकालेको थियो । वायर्नका लागि रोबर्ट लेवान्डोस्की र एरिक म्याक्सिमले एक–एक गोल गरे । लाजियोका मार्को पारालोले एक गोल फर्काए ।

पहिलो सिजनमा वार्यनले फाइनलमा पीएसजीलाई हराउँदै उपाधि उचालेको थियो । खेलको ३३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा एरिकले गोल गर्दै वायर्नलाई २–० गोलको अग्रता दिलाए ।

८२ औं मिनेटमा लाजियोका मार्कोले एक गोल फर्काए पनि वायर्न २–१ ले विजयी भयो । जर्मन लिगमा राम्रो अवस्थमा रहेको वायर्न च्याम्पियन्स लिगको उपाधि जित्ने योजनामा छ । 

प्रतिक्रिया