शुक्रबार, वैशाख १२, २०८२

देशका चार पालिकामा अझै बैंकका शाखा पुग्न बाँकी

नेपालखोज २०७७ चैत ५ गते १६:५५

काठमाडौं । देशका चार पालिकामा अझै बैंकका शाखा पुग्न बाँकी रहेको छ । सात सय ५३ पालिकामध्ये सात सय ४९ वटा पालिकामा ‘क’ वर्गका अर्थात् वाणिज्य बैंकको शाखा पुगेपछि चार पालिकामा भने अझै शाखा पुग्न बाँकी छ ।

नेपाल राष्ट्र बैंकका अनुसार माघ महिनासम्म सात सय ४९ पालिकामा बैंकका शाखा पुगेका छन्, चार वटा पालिकामा शाखा पुग्ने क्रममा रहेका छन् । प्रदेश दुई, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा बैंकका शाखा पुगेका छन् ।

प्रदेश एकको ताप्लेजुङको मिक्वा खोला गाउँपालिका, वाग्मती प्रदेशको धादिङको रुबिभ्याली गाउँपालिका, कर्णालीको जाजरकोटको जुनिचाँदे र सुदूरपश्चिमको बझाङको काँडा गाउँपालिकामा बैंकको शाखा पुगेको छैन ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या माघ मसान्तमा एक सय ४३ रहेको छ । यसमध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूको शाखा सङ्ख्या १० हजार तीन सय ६६ पुगेको छ ।

प्रतिक्रिया