मंगलबार, वैशाख ३०, २०८२

त्रिदेशीय नेसन्स कप प्रतियोगितामा बंगलादेशको सुखद सुरुवात

नेपालखोज २०७७ चैत १० गते २०:५६

काठमाडौं । बंगलादेशले त्रिदेशीय नेशनल कप फुटबल प्रतियोगितामा किर्गिस्तानको यु–२३ टोलीलाई पराजित गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले कीर्गिस्तानलाई १–० ले पराजित गर्दै त्रिदेशीय नेसन्सकपमा सुखद सुरुआत गरेको हो ।

किर्गिस्तानको उमेर समूहको टोलीलाई सुरुआतबाट नै दबाब दिएर खेलेको बंगलादेशले अग्रता भने ३०औं मिनेटमा पाएको थियो । ३०औं मिनेटमा किर्गिस्तानका लागि कुमारवज उलु बैमानले क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल भएपछि बंगलादेशले अग्रता पाएको थियो । बंगलादेशको जितका लागि सोही उपहार गोल नै निर्णायक बनेको हो । बंगलादेशका रक्षक मोहमद साद उडिनको क्रस बललाई क्लियर गर्ने क्रमा उलु बैमानको बलले जाली चुमेको थियो ।

पहिलो हाफमा पछि परेको किर्गिस्तानले दोस्रो हाफमा खेलमा फर्किन निकै प्रयास गर्‍यो । तर पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन । अन्तिम तिर खेलमा फर्किन निकै संघर्ष गरेको किर्गिस्तानले इन्जुरी समयमा गोलको सुन्दर मौका खेर फालेको थियो ।

टासेभ कामुलिद्दीनले कर्नर बललाई हेडरमार्फत गोल गर्ने अवसर पाए पनि उनको बल बार माथिबाट बाहिरएको थियो । अनमार्क रहेका उनीले हावाबाट आएको बललाई सही दिसा दिन सकेनन् । त्यसपछि थप गोल हुन सकेन र बंगलादेशले त्रिदेशीय प्रतियोगितामा उपहार गोलबाट विजयी सुरुआत गरेको हो ।

यससँगै बंगलादेशले किर्गिस्तानको उमेर समूहमाथि पहिलो पटक जित निकाल्न सफल पनि भएको छ । तर यस अघि भएका चार भेटमा किर्गिस्तानको राष्ट्रिय टोलीलाई बंगलादेशको टोलीले नतिजा सुम्पिएको थियो । खेलमा बंगलादेशका सोहेल राना म्यान अफ दि म्याच घोषित भए ।

सुखद सुरुआत गरेको बंगलादेशले फाइनल प्रवेशलाई बलियो सम्भावना बनाएको छ । अब बंगलादेशले अर्को खेलमा घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नछ । पराजित किर्गिस्तानले बिहिबार नेपालसँग खेल्नेछ ।

प्रतिक्रिया