मंगलबार, वैशाख १८, २०८१

खरिद नियमावली ८ महिनामा चार पटक संशोधन

नेपालखोज २०७६ पुष १२ गते ८:५८

१२ पुष, काठमाडौं । सरकारले रुग्ण आयोजन सम्पन्न गर्न एक वर्षको म्याद थप गर्ने भएको छ। सार्वजनिक खरिद नियमावली ८ महिनामा चार पटक संशोधन गर्दै सरकारले रुग्ण आयोजनाका लागि एक वर्ष थप गरेको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटाका अनुसार नवौं संशोधनमा दुईवटा व्यवस्था परिवर्तन गरिएको छ। आठौं संशोधनमा २०७६ जेठ २३ गते अघिसम्म म्याद सकिएका आयोजनाका हकमा १५ दिनभित्र निवेदन दिएर म्याद थप गर्न सकिने व्यवस्था थियो। उक्त समयमा म्याद थपका लागि निवेदन पर्न नसकेका आयोजनाका लागि एक वर्षको म्याद थप गर्ने व्यवस्था गरिएको हो। अर्को संशोधनमा ठेक्का निवेदनको सुरुवातमै सुरुमा लाइन अफ क्रेडिटको आवश्यक पर्दैन। यो व्यवस्थाले ठेक्का प्राप्त नगर्ने निर्माण व्यवसायीको आर्थिक व्ययभार कम हुने उनले बताए। ठेक्का प्राप्त गर्ने कम्पनीले भने ठेक्का सम्झौतापूर्व लाइन अफ क्रेडिटको व्यवस्था गर्नुपर्छ।

यसअघि साउनमा गरिएको आठौं संशोधनमा प्राविधिक र बाँकी कार्यको विश्लेषण गरी म्याद थप गर्दा आयोजनालाई आर्थिक व्ययभार नपर्नेगरी मात्र म्याद थप गर्न सकिने व्यवस्था गरिएको थियो। नयाँ संशोधनले उक्त अवधिमा समय थपका लागि आवेदन पर्न नसकेको आयोजनका लागि म्याद थपको बाटो खोलेको छ। सचिव सापकोटाका अनुसार नियमावली संशोधन भएको मितिको १५ दिनभित्र समय थपका लागि आवेदन पेस गर्नुपर्नेछ। आयोजना तथा सार्वजनिक निकायको मूल्यांकनका आधारमा निवेदन परेको ६० दिनभित्र म्याद थप गर्न सकिने व्यवस्था छ।

खरिद नियमावली पाँचौं संशोधन भएको १२ वर्षपछि सरकारले वैशाख ३० गते छैटांै संशोधन गरेको थियो। त्यसलगत्तै जेठ २३ र साउन १६ गते संशोधन भएको थियो।

प्रतिक्रिया