मंगलबार, वैशाख १८, २०८१

रमेश सिलवाल भन्छन्- भलिबलको कभर्डहल बनाउन सहयोग गर्छु

नेपालखोज २०७८ वैशाख ८ गते १६:४१

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रमेशकुमार सिलवालले भक्तपुरमा भलिबलको कभर्डहल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भक्तपुर जिल्ला स्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका पदक विजेतालाई प्रमाण पत्र तथा ट्रयाकसुट वितरण कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘भक्तपुरमा उपयुक्त ठाउँको खोजी गर्नुस् । भलिबलका लागि पूर्वाधार बनाउन बजेट उपलब्ध गराउँछु । राष्ट्रिय खेल भलिबलको आफ्नै कभर्डहल हुनु जरुरी छ,’ सिलवालले भने, ‘राष्ट्रिय खेल हो । जसरी राष्ट्रिय गानको हामी सम्मान गर्छौं । राष्ट्रिय खेल भलिबलको पनि सम्मान हुनुपर्छ । अरु खेललाई नगर्ने भन्नेचाहिँ होइन ।’

सदस्य-सचिव सिलवालले भक्तपुरका खेलसँग सम्बन्धित विभिन्न खेलका मन्डेकाजी श्रेष्ठ, कान्छीमाया कोजू, उपेन्द्रमान सिंह, शिवसुन्दर गोथे, गौतम लासिवा, प्रकाश धौबडेललगायतको नाम लिँदै उनले भने, ‘भक्तपुरमा ख्याति कमाएका र राष्ट्रलाई गुण लगाएका धेरै खेलाडी छन् । उनीहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि देशको शिर उँचो बनाउने कार्यमा योगदान पुर्‍याएका छन् । तैपनि खेलाडीहरुलाई अलि एक्पोजरको कमी भएको हो कि भन्ने महसुस हुन्छ । यसलाई अन्यथा नठान्नुहोला । एक्सपोजरमा बढी ध्यान दिनु आवश्यक छ ।’

भक्तपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष श्रीभक्त कासीछ्वाले समितिले भक्तपुरमा रंगशाला बनाउन पहल गरिरहेको जानकारी गराए ।

कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समिति, वाग्मती प्रदेशका अध्यक्ष श्रीभक्त कासीछ्वा र भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाललाई सम्मान गरिएको थियो । भक्तपुर जिल्ला खेलकुद विकास समितिका लागि स्थायी कार्यालय भवन उपलब्ध गराउन पहल गरेकामा कासीछ्वा तथा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको साबिक जिल्ला प्राविधिक कार्यालयको भवन जिल्ला खेलकुदलाई कार्यालय स्थापना गर्न उपलब्ध गराइ सहयोग गरेकोमा गेलाललाई सम्मान गरिएको हो । सदस्य-सचिव सिलवालले उनीहरुलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे ।

त्यसै अवसरमा सदस्य-सचिव सिलवालले केन्द्रीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि भक्तपुरबाट छनोट भएका खेलाडीलाई प्रमाण पत्र प्रदान गरेका थिए । छनोट भएका खेलाडीलाई राजेश चिकबञ्जार र विज्ञान राईले प्रायोजन गरेको ट्रयाकसुट पनि खेलाडी र टिम प्रशिक्षकलाई वितरण गरिएको थियो ।

केन्द्रीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि भक्तपुरबाट विभिन्न ७ खेलमा प्रतिस्पर्धा गराइ ६६ खेलाडी छनोट गरिएको भक्तपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बाबुकाजी (विके) श्रेष्ठले जनाएका छन् । एथलेटिक्स, तेक्वान्दो, कराते, उसु, टेबलटेनिस, ब्याडमिन्टन र कबड्डीमा करिब तीन सय खेलाडीले प्रतिस्पर्धा गरेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया