आईजीपीको निर्देशन- पारिवारिक वातावरणमा उपचार होस्

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी अस्पतालमा पारिवारिक वातावरणमा उपचार हुनुपर्ने भन्दै मातहतका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
नेपाल प्रहरी अस्पताल महाराजगन्जकी मेडिकल डाइरेक्टर (प्रहरी अतिरिक्त महानिरीक्षक) डा. आशा सिंहलगायत अस्पतालमा कार्यरत वरिष्ठ प्रहरी अधिकृतहरुसँग शुक्रबार प्रहरी प्रधान कार्यालयमा आईजीपी थापाले छलफल गरेका हुन् ।
नयाँ भेरियन्टसहितको कोभिड-१९ को दोस्रो लहरका कारण संक्रमितहरुको संख्या बढ्दै गइरहेको अवस्थामा यसको नियन्त्रण तथा नेपाल प्रहरी अस्पतालले गर्ने उपचारलाई थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, स्रोत-साधन तथा जनशक्तिको व्यवस्थापनलगायत विषयमा छलफल गरिएको थियो ।
आईजीपी थापाले कोभिड-१९ संक्रमितको उपचारमा खटिने चिकित्सक तथा कर्माचारीहरुले सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी उपचाररतप्रति अझै बढी संवेदनशील भई पारिवारिक वातावरणका साथ उपचारमा संलग्न हुनुपर्ने बताए ।
अस्पतालमा उपचाररत बिरामीहरुप्रति गरिने व्यवहार शिष्ट हुनुपर्ने उल्लेख गर्दै उनले कोभिड–१९ नियन्त्रणमा गर्न सकिने सबै प्रयासलाई थप प्रभावकारी रुपमा लैजान नेपाल प्रहरी अस्पतालले अझ सक्रिय रुपमा भूमिका वहन गर्नुपर्ने बताए ।
अस्पताललाई आवश्यक पर्ने स्रोत-साधन उपलब्ध गराउन प्रहरी प्रधान कार्यालय सदैव तत्पर र क्रियाशील रहेको उनले उल्लेख गरे । छलफलका क्रममा प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा. सिंहले अस्पतालको गतिविधि तथा कोभिड-१९ नियन्त्रणका लागि गरिएका प्रयास र उपचार पद्धतिबारे जानकारी गराएकी थिइन् ।
साथै उपस्थित अस्पतालका वरिष्ठ प्रहरी अधिकृतहरुले आ-आफ्नो सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरुको समेत उपस्थिति थियो
प्रतिक्रिया