इराकसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिम इराक प्रस्थान गर्दै

काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम आज त्यसतर्फ प्रस्थान गर्दैछ । २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम आज राति १० बजे इराक जान लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
नेपाली टिम कतार एयरवेजमार्फत जानेछ । त्यसतर्फ जानुअघि टीमका सम्पूर्ण सदस्यले गरेको कोरोना भाइरसको परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । नेपालले जेठ १५ गते बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ ।
नेपाली टिमका नियमित सदस्य भरत खवास, रंजित धिमालसहित अमित तामाङ, सेसेहाङ आङदेम्बे, रबि पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ टिमबाट बाहिरिएका छन् ।
सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्न नेपाली टोली उतैबाट कुवेत जानेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।
कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपेइ, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । मैत्रीपूर्ण खेलमा सहभागि भएर नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छ ।
प्रतिक्रिया