एमाले विवाद : सुदूरपश्चिममा १७ सांसदलाई स्पष्टीकरण माग, चित्त बुझ्दो जवाफ नआए निष्काशन गर्ने चेतावनी

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने समय दिएर स्पष्टीकरण सोधिएको एमालेका प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिए ।
रावलले १० जेठमा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्था र विश्वासको मतको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरीत मतदान गरेकाले स्पष्टीकरण सोधिएको बताए ।
उनले संसदीय दलका नेता प्रकाशबहादुर शाहसहितका १७ जना प्रदेशसभा सदस्यलाई नै स्पष्टीकरण सोधिएको बताएका छन् । साथै चित्त बुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया