शुक्रबार, वैशाख ७, २०८१

जसले संघीयता ल्यायो उसैबाट खतरा छ

नेपालखोज २०७६ असोज ९ गते १७:५०

सत्तामा रहेका र प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका दलहरु यतिखेर गणतन्त्र र संघीयता खतरामा रहेको अभिव्यक्ति सार्वजनिक गरिहेका छन् । मुलुकको आमूल परिवर्तनका लागि लडेका भनिएका दलहरुबाट नै संघीयताको खतरामाथि प्रश्न उठाईरहेका बेला नेपालमा संघीयता र गणतन्त्रको औचित्यमाथि प्रश्न उठाउँदै आईरहनु भएका प्रखर वक्ता एवं संविधानविद् डा भिमार्जुन आचार्यसँग गरिएको कुराकानीको संक्षेप ।

० सरकारमा रहेका दलका शीर्षस्थ नेताहरुले गणतन्त्र र संघीयता खतरामा छ भन्ने कुरा गरिरहनु भएको छ साँच्चै गणतन्त्र खतरामा परेको हो ?

पहिलो कुरा गणतन्त्र र संघीयता संविधानको मूल मर्म हो । हिजो संविधान निर्माणका क्रममा जसजसले यी कुराहरु लेख्न लगाए ती व्यक्तिहरुले नै गणतन्त्र र संघीयतालाई व्यवहारमा स्वीकार गर्न नसकेका कारण समस्या आएको छ । दोस्रो कुरा संविधानमा गणतन्त्र संघीयता लेख्दा जे जे फाइदा हुन्छ भन्ने भ्रम जनतामा बाँडिएको थियो त्यो पनि हुन सकेन । जनतालाई जसरी आश्वासन दिएको थियो ती चीजहरु भविष्यका दिनमा चुनौति रुपमा बढ्दै जाने छ । त्यसकारण गणतन्त्र र संघीयताको खतरा सत्ताधारी र हिजो संविधान लेखन गर्दा जसले संघीयता र गणतन्त्र नै सर्वोच्च हो भन्ने सोच राखेका थिए उनीहरुबाट नै संघीयता खतरामा परेको छ ।

० सत्तामा रहेका व्यक्तिहरुले नै संघीयता र गणतन्त्र खतरामा प¥यो भन्नुको कारण के होला ?

संघीयता सफल हुँदैन भन्ने कुरा मैले विगतदेखि नै भन्दै आईरहेको छु । अहिले त्यसको संकेतहरु देखिँदै छन् । त्यसकारण पनि नेतृत्वमा बस्नेहरु आफूले गरेका गल्तीहरु ढाकछोप गर्नका लागि र अरुलाई दोष थोपर्नका लागि उनीहरुले चालेको अर्को एउटा कदमका रुपमा यसलाई लिनु पर्दछ । यदि होइन भने दुई तिहाईको सरकार छ । २०४७ सालपछिको सवैभन्दा शक्तिशाली सरकार अहिलेको सरकार हो । सातवटा प्रदेश बनाएता पनि दुइ नंम्वर प्रदेशलाई केही पाखा लगाएर छ वटै प्रदेशमा अहिलेको सत्ताधारीसँगको विचारधारा बोकेका व्यक्तिहरुले नेतृत्व लिईरहेको अवस्था छ ।

० प्रजातन्त्र प्राप्ति पछि यति बलियो सरकार अहिलेसम्म थिएन र भोलीका दिनमा पनि आउने सम्भावना कम नै छ होइन ?

हो,त्यसकारण पनि अहिलेको सत्ताधारीहरुले चाहेमा ,संविधान लेखिरहँदा जनतालाई दिएको आश्वासन साँच्चै नै पूरा गर्दछु भन्ने हो भने गर्न नसक्ने कुरा केही छैन ।

० त्यत्ति हुँदा हुँदै पनि संघीयता र गणतन्त्र खतरामा कहाँ देखे त ?

महत्वपूर्ण कुरा के हो भने हिजो संविधान लेखिरहँदा संविधानलाई मजाकको विषय बनाए । नेपालमा बुद्धिजीवि कोही छैन, हामीले जे लेख्छौ त्यो नै संविधानमा हुन्छ भन्ने भ्रमा पालेकै कारण समस्या आयो । गणतन्त्र संविधानमा लेखिदिएकै कारण आएको हो । त्यसका लागि कुनै लगानी गर्नु परेको छैन । मध्यरातमा गणतन्त्र घोषणा भयो राजतन्त्र हट्यो सकियो । तर संघीयता लेखिएकै कारणले त आएको होइन । यसलाई त कार्यान्वयन गर्नु पर्ने थियो तर कार्यान्वयन हुन सकेन । त्यसका लागि श्रोत, लगानी, योजना सव चाहिन्छ । अव अहिले आएर के बुझे भने यो आफ्नो औकातको विषय होइन भन्ने बुझे कै कारण संघीयता र गणतन्त्र खतरामा देखेका हुन् ।

० कांग्रेसका नेताहरुले दुई तिहाईकै सरकारबाट गणतन्त्र खतरामा प¥यो भनिरहेको छन् भने सरकारमा बस्नेहरुले कांग्रेसका कारण गणतन्त्र खतरामा छ भनिरहेका छन् खास कुरो के हो ?

यो सवै मिलेकतोको कुरा हो । महत्वपूर्ण कुरा के हो भने सरकारमा बस्नेहरुले यो त्यत्ति चाँडै छाड्ने कुरा होइन । शक्ति नदिउँ भन्ने पनि होइन तर विडम्वन संघीयत र गणतन्त्र सरकारमा बस्नेहरुले चाहेर पनि बचाउन नसक्ने अवस्थामा पुगिसकेको छ । यो कांग्रेसले बुझेको छ, मधेशवादी दलहरुले बुझेका छन् अनि सत्तामा बस्नेहरुले पनि बुझेका छन् । ८ सय ८५ सांसदको खर्च कसरी धान्ने ? सातवटै प्रदेशको राज्य प्रशासन संयन्त्र धान्नु प¥यो । खर्चले धान्न सक्ने अवस्था नै छैन । यो संघीयता न अगाडि बढ्न सक्ने भो न पछाडि हट्न । त्यसकारण आफ्नो असक्षमता ढाँक्नका लागि आफ्ना शत्रु वा संघीयता गणतन्त्र नचाहनेहरुको नाम लिएर खतराका कुरा गरेका हुन् ।

प्रतिक्रिया