शुक्रबार, वैशाख ७, २०८१

सीतारामजीको चस्मा र ट्राफिक व्यवस्थाको रामकहानी

नेपालखोज २०७६ असोज १२ गते ११:४९

यहाँ उल्लेख गरिएका सीताराम चर्चित ट्राफिक प्रहरी इन्सपेक्टर हुन् । पछिल्लो समय ट्राफिक प्रहरी कार्यालय ललितपुरमा कार्यरत उनले २९ बर्षको सेवापछि अवकाश पाएका छन् । सीतारामजीको चर्चा र नेपालको ट्राफिक व्यवस्थाका केही पाटोबारे टिप्पणी गर्नु यो आलेखको ध्येय हो ।
सीतारामले आफु प्रहरी सेवामा रहँदा केही असल अभ्यासहरु गरे भन्‍न कुनै कञ्‍जुस्याइँ गर्नुपर्दैन । जिन्दगीभर सुरक्षा निकायको सहायक र पछिल्लो समय जुनियर अफिसरको रुपमा कार्यरत यौटा व्यक्तिले गर्नसक्ने त्यति नै थियो । जताजतै अव्यस्वस्था भोग्न विवश नागरिकहरुले उनलाई महामानव बनाइदिए । मिडियाले अनावश्यक एक्सपोज गरेर पाठकका लागि खुराक बनाए । हाम्रो देशमा त्यतिसम्म हुनु कुनै नौलो कुरा भएन ।
स्वयं सुरक्षा अधिकारीहरुले सार्वजनिक मञ्‍चमार्फत सार्वजनिक खपतको लागि बिफ्रकेशको प्रसङ्ग झिक्दै बतासिने, मुख्यसचिव नै अमुक अभियानको अभियन्ता बनेर बोरा बोकेर खोलामा पस्ने देशमा सीतारामजीले कम्तीमा पनि समाजलाई फाईदा नै हुने काम गरे ।
यो पंक्तिकारले सीतारामको जागिरको अन्तिम वर्षमा केही घण्टाका लागि उनीसँग साक्षात्कार गर्ने मौका पाएको थियो । यौटा तालिमको सिलसिलामा सीतारामजी प्रशिक्षक बनेर आइपुगे । त्यतिखेरको भेटमा उनीसँग यौटा सुरक्षा अधिकृतको फुर्तिफार्ती, केही स्पेशल ग्याजेटहरु र मिडियाले अनावश्यक एक्सपोज गरेर बनाइदिएको व्यक्तित्व तीनै चीज थिए ।

तिनताक सीतारामसँग यौटा गजबको कालो चस्मा थियो । जसमा भिडियो रेकर्ड गर्ने सुविधासमेत थियो । वायरलेस र पावर ब्याकअप सहितको प्रोजेक्टर, ट्राफिकले प्रयोग गर्नका लागि झिकाइएको यौटा ड्रोन लगायतका ग्याजेट उनीसँग थिए । जसको खासखास अवस्थामा प्रयोग हुन्थ्यो ।
कक्षा सुरुवात गर्दै जब सीतारामजीले भिडियो प्रोजेक्सन सुरु गरे, तब दुईचार वर्षअघि दरबारमार्गमा नाचेको भिडियोको प्रयोजन के रहेछ भन्ने बल्ल बुझियो ।

सामान्यतया संसारमा कतै पनि ड्‍युटीमा रहेका ट्राफिक प्रहरी सडकमै नाचिरहेको सुन्‍न, पढ्न पाइँदैन । त्यो खासमा ट्राफिक कक्षा सञ्‍चालनका लागि सन्दर्भ सामग्रीको रुपमा भिडियो खिच्ने उदेश्यसहितको नाच रहेछ । भिडियो हेरेपछि बल्ल यो पंक्तिकारले नाचेरै ट्राफिक व्यवस्थापन गर्छन्, सीतारामु टाईपका पुराना हेडलाइनको रहस्य बुझ्यो ।

उनीसँग भेट भएको केही समयपछि मापसे जाँचमा परेर ट्राफिक कक्षा लिन पुगेका एकजना आफन्तले सोही भिडियो त्यहाँ हेरेको बताए । साथै ती आफन्तले कक्षा लिन जाँदा ट्राफिक प्रहरीले गर्ने व्यवहार र त्यहाँ प्रयोग हुने भाषाको विषयमा दुखेसो सुनाए । यी सबैथोकबारे बुझिसकेपछि सीतारामजीको व्यक्तित्व, उनीसँग हुने ग्याजेट, ट्राफिक प्रहरीको दुःख र हाम्रो देशका सवारी चालक अनि आम मान्छेबारे निष्कर्षमा पुग्न सजिलो भयो ।

फेरि पनि दोहोर्‍याउँ, सीतारामजी एकजना जुनियर अफिसर थिए । उनले गर्नसक्ने त्यही नै थियो । मिडिया र आम मान्छेले उनलाई महामानव बनाए । त्यो बेग्लै कुरा हो । तर, सीतारामले सेवामा रहँदासम्म गरेको मेहनत र असल अभ्यासबारे उल्लेख नगर्नु उनीप्रति अन्याय हुनसक्छ।
सीतारामले केही प्रयासहरु गरे । केही सुधारको थालनी गरे र अवकाश पाए । उनले लगाएको चस्मा सायद अचेल अरु कसैले लगाउँछ । उनले प्रयोग गर्ने अफिसियल वायरलेस प्रोजेक्टर र ड्रोन आज अरु कसैको हातमा छ होला । उमेर हदको कारण अवकाश लिनु अघिसम्म करिब ३ दशकसम्म आफ्नो बलबुताले भ्याउनेसम्म गरे ।
प्रतिदिन राजधानीको ट्राफिक व्यवस्थापन झनै भयावह बन्दै गएको छ । नागढुङ्‍गा नौबिसे खण्डमा घन्टौं लामो ट्राफिक जामका कारण एक नागरिकले मृत्युवरण नै गर्नुपर्‍यो । राजधानी बाहिर र दुरदराजका ट्राफिक तथा यातायात समस्याको बारेमा त बोलिदिने, लेखिदिने मान्छेकै समेत अभाव छ । तर, यस्तो अवस्थामा पनि सीतारामजत्तिको चर्चा गर्नलायक अधिकृत पनि दृश्यमा आएको छैन । आम नेपालीको दुःखद् नियतिको पाटो यही हो ।
विगतमा ट्राफिक प्रहरीले अनेक स्टन्ट गर्‍यो । जसबाट कुनै वास्तविक प्रतिफल हासिल हुने अवस्था थिएन । किनकि, ती कार्यक्रम वास्तवमै रिजल्ट आउने खालका नै थिएनन् । जथाभावी बाटो काट्नेलाई नमस्ते गर्ने अभियान, गुलाबको फूल दिने अभियान, १०० रुपैयाँ जरिवानावाला अभियान, ट्राफिक प्रहरीलाई कमिसन दिने अभियान यी नेपालको ईतिहासमा बिर्सनै नहुने संस्थागत उट्‍पटाङ हुन् ।

जेब्रा क्रस मेटिएको छ । खोज्दा पनि भेटिने अवस्था छैन । छ भने पनि पायक पर्ने स्थितिमा छैन । उहारणको लागि राष्ट्रिय सभागृहनेर गाडीबाट उत्रिने यात्रु जेब्राक्रस वा आकाशेपुल खोज्दै भद्रकाली र विद्युत प्राधिकरणनेर पुग्नुपर्ने अवस्था छ । आकाशेपुलहरु एकातिर आँधी, एकातिर झोलुङ्‍गो भन्ने उखानलाई माथ गर्ने खालका छन् ।
सीतारामकै उद्धरणलाई स्मरण गर्ने हो भने जेब्रा क्रस र लाइनिङ कसैगरी पनि ३ महिनाभन्दा बढी टिक्दैन । तर, त्यो कामको लागि बजेट चौमासिक रुपमा निकासा हुन्छ । यति सानो प्राविधिक विषयमा पनि आजसम्म कसैको ध्यान पुगेको छैन । र, हामी हरेक तहमा उट्‍पटाङ र ठट्टाजस्तो लाग्ने अभियानमा सिमित छौं ।
वनस्थली खरिबोट लगायतका केही रुटका यात्रुले बस स्टपमा लाईन लागेर बस चढ्ने अभ्यास गरे । तर, कतिबेर बीच सडकमा उभिएपछि गाडी आउँछ भन्ने प्रश्नको उत्तर यो देशको कुनैपनि तहको व्यवस्थापक र स्वयं गाडी चालकलाई पनि थाहा छैन । त्यतिखेरको भेटमा मैले किन यस्तो हुन्छरु यसको समाधान छैनरु भन्‍ने पंक्तिकारको प्रश्नमा सेलिब्रेटी सीतारामजीले एकजनाले दुईटा प्रश्न सोध्न नपाइनेु उर्दी दिएर चुप लगाईदिए । अद्यापि यो प्रश्‍नको उत्तर न कसैले खोजेको छ, न पाइनेवाला छ ।
राजधानीमा सर्वसाधारण यात्रुलाई सहज हुनेगरी ट्राफिक व्यवस्थापन गर्ने नै हो भने पूर्व -पश्‍चिम र उत्तर-दक्षिण गरी दुईवटा एक्सप्रेस वे बनाउनुपर्छ । बाँकी सबैको विषयमा एकैचोटि समाधान खोजेर भेटिने अवस्था छैन भन्‍ने यो पंक्तिकारको मत हो । सञ्‍चार माध्यमबाट पंक्तिकारले थालनी गरेको यो बहस अहिलेसम्म नेतृत्व र व्यवस्थापकको कानमा पुगेको छैन ।
विगत केही वर्षदेखि सरकारले ठूला सवारी अर्थात् मास भेहिकलमा सहुलियत दिँदै आएको छ । त्यसको प्रभावस्वरुप सबैतिर ठूला आकारका र डिलक्सु सवारीको भिडभाड छ । तर, त्यही अनुपातमा साना सवारी विस्थापनको सोच अहिलेसम्म कतै आएको छैन ।
हाम्रा दातृ निकाय ९अचेलको भाषामा विकास साझेदार हरु बेलाबखत निर्मम मजाक गर्छन् । त्यस्तो मजाक साक्षर घोषणादेखि खुल्ला दिसामुक्त अभियान लगायतमा प्रष्टै देखिन्छ । सवारी व्यवस्थापनको सिलसिलामा एउटा दातृ निकायले उपत्यकाभित्र १ सय ५० भन्दा बढी वैज्ञानिक रुटहरु सिफारिस गरेको छ । विद्यमान रिङ्‍रोडबाट २९ किलोमिटरमा एक चक्‍कर लगाउन सकिने र निर्माणाधीन बाहिरी चक्रपथकै प्रयोग गर्दा पनि १ सय किलोमिटरभन्दा कम दूरीमै फन्को लगाउन सकिने काठमाडौं उपत्यकाभित्र डेढ दुईसय वैज्ञानिक रुट तोकिनु आफैमा भद्दा मजाक हो ।
अचेल फेरि विद्युतीय सवारी भित्र्याउने विषयले रोमाञ्‍च थपेको छ । मौजुदा सवारी संख्याबाट एक अंक पनि नघटाई त्यसैमाथि विद्युतीय, ठूला, साना, मझौला, वैज्ञानिक अनेक नामले चिनिने सवारी थप्दै जाने हो भने अफिसबाट घर फर्किँदै गरेको यात्रु जाममा परेर घरै नपुगी मर्नुपर्ने अवस्था आउन के बेर,  अझैपनि हामीले वास्तवमै समाधान खोज्ने कि यस्तै स्टन्ट र बतासे योजनामै रमाउने ?
उसो त ट्राफिक प्रहरीको दुःखको पनि वर्णन गरिसाध्य छैन । उनीहरुले आफु सधैं सुखसयल र सजिलोमा बसेर सर्वसाधारणलाई सास्ती दिएका होइनन् । यो सबैथोकको समाधान नीति र गतिसँग जोडिएको छ ।
नीतिगतरुपमा सही व्यवस्थापकीय हस्तक्षेप गर्न नसक्ने हो भने गृहमन्त्रीले एक प्रसङ्‍गमा भनेजस्तो आम नागरिक बाटैमा मर्दापनि समाजमा यस्ता घटनाहरु घटिरहन्छन् भनेर चित्त बुझाउनुको विकल्प छैन ।
स्मरण रहोस्, हिजो सीतारामजीले भिडियो खिच्ने चस्मा पहिरिँदैमा जनताको सास्ती घटेन । र, आज त्यही चस्मा अरु कसैले पहिरिँदैमा पनि नेपालीको नियति बदलिनेवाला छैन । कामलाग्दो र समाधानमुखी नीति, वैज्ञानिक रुट व्यवस्थापन र राजधानीभित्र एक्सप्रेस वे को व्यवस्था बिना आम नागरिकको सास्ती एकरत्ति घट्नेवाला छैन । – टीएन रेग्मी

प्रतिक्रिया