बुधबार, वैशाख १२, २०८१

पाठेघरको क्यान्सरबाट यसरी बच्न सकिन्छ

नेपालखोज २०७६ असोज १२ गते १२:३३

१२ असोज, काठमाडौं । जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन् तब पाठेघरको क्यान्सर हुन्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ । पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो । पाठेघरको मुख र भित्रपटिट्को क्यान्सर सुरुकै अवस्थामा थाहा पाउन सकिन्छ । लक्षणहरु सुरुवाति अवस्थामा नै थाहा भए क्यान्सरबाट बच्न पनि सकिन्छ ।

चिकित्सक रवीन्द्र पाण्डेका अनुसार महिला प्रजनन प्रणाली अत्यन्तै संवेदनशील, परिविर्तनशील, हर्मोन तथा रसायनहरूको तीव्र प्रभावयुक्त हुने भएकाले पाठेघरको क्यान्सर बाहेक योनिको क्यान्सर, योनिद्वारको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र डिम्बाशयको क्यान्सर हुने गर्छन् ।

सन् २०१४ सम्म बिश्वभर करिव १ करोड पैतिस लाख भन्दा बढी क्यान्सर रोगीको संख्या थियो यो संख्यामा बर्षेनी करिब २५ लाख नयाँ मानिसहरुमा क्यान्सर देखिने गरेको छ । एक अध्ययन अनुसार सन् २०२० सम्ममा क्यान्सर रोगीहरुको संख्यामा बर्षेनी २० प्रतिशतले बृद्धी हुने अनुमान छ ।

नेपालको सन्र्दभमा हेर्ने हो भने पनि प्रति वर्ष झण्डै २५ हजार मानिसमा क्यान्सर रोग देखा पर्ने गरेको छ । जसमा स्तन क्यान्सर र पाठेघरको क्यान्सरबाट पिडित महिलाहरुको संख्या बढी छ । महिलाहरुमा हुने पाठेघरको क्यान्सर र स्तन क्यान्सर रोग सम्बन्धी २०५३ साल देखि विभिन्न सचेतना मुलक कार्यक्रमहरु चलाउदै आएको नहुँदा सामाजिक संस्थाका राधा ज्ञवालीको अनुभवमा रोगबाट संक्रमितहरु सहरका भित्रि वस्तिहरुमा पनि छन् तर उनिहरु रोगबारे कसैलाई सुनाउनै चाहादैन् ।

के हो पाठेघरको क्यान्सर ?

पाठेघरको क्यान्सरलाई इन्डोमेट्रियल क्यान्सर पनि भनिन्छ । पाठेघरमा असामान्य कोषहरूको वृद्धि भएपछि पाठेघर सुन्निने, मासु, फोका वा गुच्छाजस्तो पलाउने हुन्छ । क्यान्सरमा परिणत नहुने फाइब्राइड, पोलिप्स आदि तत्व मृत्युको कारक हुँदैनन् जो उपचार वा शल्यक्रियापछि निको हुन्छ र पुनः उम्रँदैन्, वरिपरि अनावश्यक कोष तथा तन्तुलाई हानि गर्दैनन् र शरीरको अन्य भागमा फैलिँदैनन् ।

चिकित्सक पाण्डे भन्नु हुन्छ क्यान्सरमा परिणत हुने फाइब्राइड, पोलिप्स आदि तत्वले मानिसको मृत्यु नै गराउछ । शल्यक्रिया गरेर हटाए पनि यि फाइब्राइड र पोलिप्स पुनः वृद्धि हुनुका साथै नजीकका तन्तु तथा अंगहरूमा असर गर्छन् र शरीरको अन्य भागमा पनि फैलिन्छन् ।
समयमै पाठेघरको क्यान्सरको निवारण नगरेमा पाठेघरमा रहेका अर्बुद कोषहरू लिम्फ नलीमार्फत लिम्फ ग्रन्थिहरूमा पुग्छन् । त्यहाँबाट रक्तनली हुँदै फोक्सो, कलेजो, हड्डी तथा मस्ितष्कमा समेत पुग्ने गर्दछन् ।

चिकित्सकका अनुसार ४० वर्षभन्दा कम उमेरका महिलालाई पाठेघरको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ । ५० वर्ष उमेरमाथिका महिलाहरू अथवा महिनावारी प्रकृया बन्द भैसकेका एवम रजोनिवृत्ति भएका महिलाहरूमा पाठेघरको क्यान्सर हुने सम्भावना बढी हुन्छ । अहिले सम्मको अध्ययन अनुसार पाठेघरको क्यान्सर भएका महिलाहरूमध्ये ४० वर्षभन्दा बढी उमेरका महिलाहरूको संख्या ९५ प्रतिशत छ ।

महिनावारी बन्द भएपछि असामान्य रक्तश्राव भएमा पाठेघरको क्यान्सर लगभग सुनिश्चित हुन्छ । त्यसैले महिनावारी वन्द भैसकेका महिलाहरुले रक्तश्राव भएमा तुरुन्तै स्वास्थ्य परिक्षणकालागि जानु राम्रो हुन्छ ।

पाठेघरको क्यान्सरका लक्षणहरु
१— ९० प्रतिशत महिलामा असामान्य रूपमा योनिबाट रक्तश्राव हुन्छ ।
२— अनियमित महिनावारी हुने र धेरै दिन सम्म रगत बगिरहने साथै रगतको कालो ढिका जस्तो, कहिलेकाहीँ पानीजस्तो रक्तश्राव हुन्छ ।
३— यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने लगाएतका लक्षणहरु देखा पर्छन् ।
४— रजोनिवृत्ति भइसकेपछि पनि रक्तश्राव हुन्छ ।
५— यौन सम्पर्कको समयमा बढी पीडा हुन्छ ।
६— तल्लो पेट दुख्ने, सुन्निने तथा हावा भरिएजस्तो हुन्छ ।
७— मूत्रत्यागपछि मूत्राशयमा पीडा र गाह्रो अनुभव हुन्छ ।
८— शारीरकि तौल अस्वाभाविक रूपमा घट्छ वा बढ्छ ।

कारण र कारक तत्वहरू

वैज्ञानिकहरूले पाठेघरको क्यान्सरको ठोस कारण पत्ता लगाउन नसके पनि हालसम्मको अनुसन्धानबाट निम्नलिखित कारक तत्वहरू प्रमाणित गरेका छन् ः

— लामो समयसम्म एक्ट्रोजेन हर्मोन मात्र सेवन गर्ने महिलाहरूमा क्यान्सरको जोखिम उच्च हुन्छ ।
— मोटोपना ः शरीरमा भएको अत्यधिक बोसोले अन्य महिलाको तुलनामा ३ देखि १० गुणा हर्मोनको उत्पादन हुन्छ जसका कारण क्यान्सरको जोखिम उच्च हुन्छ ।
— वंशागु गुण
— कहिल्यै गर्भवती नभएका महिला तथा ३५ वर्षपछि गर्भवती भएका महिलाहरूमा पनि पाठेघरको क्यान्सर हुने सम्भावना हुन्छ ।
— महिनावारी १२ वर्ष पहिले सुरु भएका र रजोनिवृत्ति ५५ वर्षपछि भएका महिलाहरूमा ।
— स्तन, डिम्बाशय वा आन्द्राको क्यान्सर भएका महिलाहरूमा ।
— स्तन क्यान्सरको उपचारका लागि लामो समयसम्म टामोक्सिफेन औषधी प्रयोग गररिहेका महिलाहरूमा पाठेघरको क्यान्सर उच्च हुन्छ ।
यसैगरि
— पाठेघरको भित्री तह असामान्य रूपमा वृद्धि भएमा ।
— मधुमेह तथा उच्च रक्तचाप भएमा ।
— तल्लो पेटमा बारम्बार विकिरण अर्थात एक्स रे औषधी)को प्रयोग भएमा र
धेरै धुम्रपान गर्ने महिलाहरूमा पनि पाठेघरको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
यस्तै
ह्युमन पापिलोमा भाइरस, एचआईभीरएड्स वा अन्य निरन्तर संक्रमण भइरहेमा ।
पाठेघरमा लामो समयसम्म ट्युमर फाइब्राइड आदि भएमा र एस्ट्रोन प्रतिस्थापन उपचार निरन्तर गरेमा समेत पाठेघरको क्यान्सरको जोखिम बढी हुन्छ ।

पाठेघरको क्यान्सर भएको नभएको कसरी थाहाँ पाउने ?
योनि, योनिद्वार, पाठेघरको मुख तथा पाठेघरको आकार, प्रकार एवं अवस्था बारे जान्न स्वास्थ्य परीक्षण गराउने ।
— अल्ट्रासाउन्ड गराउने
— पाठेघरको मासुको बायोप्सी जाँच गर्ने ।
— एमआरआई गर्ने आदि

रोकथामका उपाय
१— नियमित स्वास्थ्य परीक्षण गर्ने ।
२— तौल घटाउने।
३— सन्तुलित आहारको सेवन गर्ने।
४— कम चिल्लो र बढी रेसायुक्त खाना खाने।
५— धुम्रपान नगर्ने ।
६— नियमित व्यायाम गर्ने।
७— तल्लो पेटको संक्रमण समयमै उपचार गर्ने
८— स्वस्थ, मर्या्दित एवं सुरक्षित यौन अभ्यास गर्ने।
९— अवैज्ञानिक उपचारमा समय नष्ट गरेर सुरुको अवस्थालाई गम्भीर अवस्थामा नर्पुयाउने।
१०— चिकित्सकको सल्लाह अनुरूप पाठेघरको शल्यक्रिया गरी हटाउने।

पाठेघरको क्यान्सरको अवस्था
पहिलो अवस्था : क्यान्सर पाठेघरमा मात्र हुन्छ, पाठेघरको द्वारमा हुँदैन ।
दोस्रो अवस्था : पाठेघरबाट क्यान्सर पाठेघरको मुख तथा द्वारसम्म फैलिन्छ ।
तेस्रो अवस्था  : क्यान्सर पाठेघरबाट बाहिर फैलिन्छ तर तल्लो पेटका अंगहरूमा मात्र सीमित हुन्छ ।
चौथो अवस्था : क्यान्सर तल्लो पेटबाहेक अन्यत्र जस्तैः पिसाब थैली, आन्द्रा, कलेजो, फोक्सो, हड्डी ग्रन्थिहरू र अरू अंगहरूमा पनि फैलिन्छ ।

पाठेघरको मुखको क्यान्सर हुनुका कारणहरु
नम्बर १ — ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ ।
नम्बर २ — धेरैजना पुरुषसँग यौनसम्पर्क राख्दा तथा असुरक्षित यौन सम्पर्क राख्दा पाठेघरको मुखको क्यान्सर हुन सक्छ ।
नम्बर ३ — सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ साथै योनाङगको सरसफाईमा ध्यान नदिदा पनि पाठेघरको मुखको क्यान्सर हुन सक्छ ।

पाठेघरको मुखको क्यान्सर भएको छ या छैन थाहा पाउने सजिलो उपाय ?

पाठेघरको मुखको क्यान्सर छ वा छैन पत्ता लगाउन अस्पतालहरुमा अपनाईने विधि प्याप स्मेयर हो । नियमित रूपमा पाठेघरको पानी निकालेर जाँच गरे क्यान्सर भए वा नभएको र पछि क्यान्सर हुने सम्भावना भए वा नभएको समेत पत्ता लगाउन सकिन्छ । यौनसम्पर्क गर्ने कुनै पनि उमेरका महिलाले वर्षको एकपटक नियमित रूपमा पाठेघरको पानी जाँच गर्दा रोग र हालको अवस्थाबारे थाहा पाउन सकिन्छ । चिकित्सकका अनुसार प्याप स्मेयर धेरै सजिलो तथा तुरुन्त गर्न सकिने जाँच हो । यो जाँच नजिकको स्वास्थ्य केन्द्रमा स्त्री रोग विशेषज्ञबाट गराउन सकिन्छ । पाठेघरको पानी जाँच गर्दा महिलालाई पीडा महसुस हुँदैन र बेहोस पनि गराउनु पर्दैन । ५ देखि १५ मिनेटभित्र जाँच सम्पन्न हुन्छ । प्याप स्मेयर पद्धतिबाट पाठेघरको पानी जाँच गराउन धरै महङगो शुल्क समेत तिर्नु पर्दैन ।

पाठेघरमा अनियन्त्रित ट्युमर वा क्यान्सर भएमा क्यान्सरको फैलावटलाई रोक्न शल्यक्रियामार्फत पाठेघर फ्याँकिन्छ । पाठेघर फ्याँकेपछि बच्चा नभए पनि यौन जीवनलाई खासै फरक पर्दैन । पाठेघर बाहिर क्यान्सर हुने सम्भावना देखिएमा पाठेघरका साथै डिम्ब नली र डिम्बाशय पनि निकालिन्छ । समयमै उपचार गरेमा पाठेघरको क्यान्सरबाट बाँच्ने सम्भावना ८४ प्रतिशत हुन्छ भने सुरुको अवस्थामा डाग्नोसिस अर्थात निदान भएका ९६ प्रतिशत महिलाहरू पाँच वर्ष बाँच्ने सम्भावना हुन्छ । यसैगरि पाठेघरको पूर्णरूपमा क्यान्सर भइसकेपछि ८३ प्रतिशत महिलाहरू बढीमा पाँच वर्ष बाँच्ने गर्छन् ।

 

प्रतिक्रिया