मंगलबार, वैशाख ११, २०८१

कांग्रेस भित्र आफैमा पनि जागरणको खाँचो छ

नेपालखोज २०७६ असोज १२ गते १३:४३

दुई तिहाईको बलियो सरकारलाई सही मार्गमा रहन खबरदारी गर्ने जिम्मेवारी जनताले नेपाली कांग्रेसलाई दिएका छन् । तर, नेपाली कांग्रेस सशक्त प्रतिपक्षीको भुमिकाबाट चुकिरहेको टिप्पणी हुने गरेको छ । कांग्रेस प्रति जनताका आशा र गुनासा दुवै उत्तिकै छन् । तर, पार्टीमा आन्तरिक गुटगत राजनीति उच्च भएकाले कांग्रेसले जनअपेक्षा अनुसार काम गर्न सकिरहेको छैन भन्ने आरोप लागिरहेको छ । यता, कांग्रेसले भर्खरै आफ्नो दोस्रो चरणको जागरण अभियान पनि सम्पन्न गरेको छ । यसै सन्द्रर्भमा जागरण अभियानको समिक्षा र कांग्रेसको समग्र अवस्थाबारे कांग्रेस नेता एवं सांसद राजेन्द्रकुमार केसीसँग उपसम्पादक टंककला तिमिल्सेनाले गरेको कुराकानी संक्षेप ।

नेपाली कांग्रेसको दोस्रो जागरण अभियानले जनतालाई जगाउन सफल भयो त ?

हेर्नुस, हामीले दोस्रो जागरण अभियानमा सबै प्रदेशका जनतालाई यस सरकारले गरेका सम्पुर्ण गल्ती र सम्भावित अप्ठ्याराहरुका बारे सचेत गराएका छौँ । जनता हाम्रा कुराहरुलाई सुनिरहेका छन् र बुझिरहेका पनि छन् । यो सरकारले जुन प्रकारले संविधान प्रति गैरजिम्मेवारीपन देखाएको छ यसको नेपाली कांग्रेस घोर विरोध गर्छ र जनताले पनि यसलाई बुझेका छन् । हामीले बुझाएका छौँ । यो सरकार अपराधिहरुको संरक्षणकर्ता भैरहेको छ । तपाई कञ्चनपुरकी बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तकै केश हेर्नुस । जनसागर सडकमा ओर्लियो, देशैभर यस घटनाको विरोध भयो तर सरकारले निर्दोषलाई फसाउने विभिन्न प्रपञ्च रच्यो तर वास्तविक अपराधिलाई लुकाई रहेको छ । अरु कुरा पनि प्रशस्तै छन् । तपाईलाई थाहैँ छ कम्युनिष्टको यो सरकारले आफु विरुद्ध बोल्नेको मुखै थुन्ने गर्छ । देशकै प्रधानमन्त्रीले विरोध गर्नेहरुलाई अरिङगालको गोलोले झै टोक्नु भन्दै आफ्ना कार्यकर्तालाई निर्देशन दिन्छन् भने अरुबाट के अपेक्षा गर्ने ?
भर्खरैको कुरा हेर्नुस न काठमाडौँमै एक भ्रष्टाचार विरोधि अभियन्ताको कार्यक्रममा पुगेका पत्रकार माथि नै नेकपाका कार्यकर्ताले आक्रमण गरे । अभियन्ताहरु माथि जाईलाग्ने, प्रेस माथि आक्रमण गर्ने, जनताका आवश्यकताको मतलब नगर्ने यस्तो यो केपीशर्मा ओली नेतृत्वको सरकारका सबै काला कर्तुतलाई हामीले जनता माझ पु¥याएका छौँ । जनता अब जागी सकेका छन् । हामी अहिले लोकतान्त्रिक पद्धतिमा बसेर सरकारलाई खबरदारी गर्दै जनतामा जागरण ल्याउने बाटोमा छौँ ।

जनतामा जागरणकालागि त विभिन्न अभियान चलाउनुभयो तर तपाईलाई लाग्दैन कांग्रेस भित्र नै जागरणको खाँचो छ ?

तपाईको यस कुरालाई म स्विकार छु । कांग्रेस भित्र आफैमा पनि जागरणको खाँचो छ । त्यसैले त दोस्रो जागरण अभियानमा हामीले पहिले आफु भित्र नै जागरणका विभिन्न कदमहरु चाल्यौँ । पक्कै पनि कांग्रेस सच्चिनु पर्ने छ । हामी आन्तरिक खिचातानीमै रुमलिएकाले नै यस पटक जनताले हामीलाई तिमिहरु सच्यौँ र अब केही समय कम्युनिष्टलाई सरकारमा रहन देऊ यदी उनिहरुले आफ्नो बचन सही तवरले निभाएन भने खबरदारी गर भनेका हुन् । अहिले हामीमा राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने किसिमको कुनै आन्तरिक विवाद छैन र रहदैन पनि ।

त्यसो भए कांग्रेस भित्र गुटगत राजनीति छैन अब ?

हेर्नुस, कांग्रेस लोकतान्त्रिक पार्टी हो यहाँ विचार विमर्श हुन्छ । फरक मत हुन्छन् । त्यसलाई चरम गुट भन्न मिल्दैन । कतिपय ठाउँमा तपाईको आशय मिल्ला त्यो कांग्रेस भित्र छ । तर, मैले पहिले पनि भने नी कांग्रेसको आन्तरिक व्यवस्थापनको कुराले राष्ट्रिय राजनीतिमा प्रभाव देखिने छैन । अब आउने चुनाव कुरौँ सबै छर्लङ हुने छ ।

कांग्रेस प्रति जनताको अर्को पनि आरोप र गुनासो छ । तपाईहरु ईतिहासकै कमजोर प्रतिपक्षी हुनुभयो भन्छन् नी ?

अब हेर्नुस, यो त जनतामा सरकारप्रति एक किसिमको नैराश्यता छ । हामी प्रति जनअपेक्षा धेरै छ । त्यसैले यस्तो गुनासो हुन सक्छ । तर, के भने हामी लोकतान्त्रिक अभ्यास बाट विचलित हुँदैनौँ । हामीले थुप्रै राष्ट्रिय मुद्धाका विषयमा सदनमा पनि लामो समय अवरोध गरेका छौँ । सरकार त दुई तिहाईको दम्भमा अधिनायकवाद शैलीमा अघि बढि रहेको छ । सरकारले ल्याएका विद्येयकहरु हेर्नुस मिडिया काउन्सिल विद्येयक, नागरिकता सम्बन्धि विद्येयक, मानव अधिकार आयोग सम्बन्धि विद्येयक लगाएतका विद्येयक हेर्नुस त कति अधिनायकवादी छन् । हामिले यस्ता विद्येयकको कडा प्रतिकार गरेका छौँ । गुठी विद्येयककै कुरा गर्नुस आफ्ना कार्तकर्ताका हातमा गुठीका जग्गा पार्न कुन हदसम्म पुग्यो यो सरकार । हामीले जनताको हातमा हात साथमा साथ दिई यो विद्येयक फिर्ता लिन बाध्य बनायौँ ।
अब आपराधिक प्रवृतिकै कुरा गरौँ हामीले सरकारले नेत्रविक्राम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्द्ध लगाउनु गलत हो भनी रहेका छौँ । विप्लव कार्यकर्तालाई जसरी मानव अधिकारको ठाडो उल्लङघन गरेर मारियो र त्यसलाई मुडभेड भनेर ढाकछोप गर्न खोजियो त्यसको कडा विरोध गरेकै छौँ । हामीसँग अहिले केवल खबरदारी गर्ने अधिकार छ । त्यो हामीले गरिरहेकै छौँ ।

अब तपाईहरुको आन्तरिक व्यवस्थापन तिर पनि केन्द्रित हौँ । भ्रातृ संगठनहरुको अवस्था पनि लथालिङग छ । माउ पार्टीको गुट उपगुट रोग भ्रातृ संगठनमा पनि छ । यिनको व्यवस्थापन गर्नु पर्दैन ?
हजुर तपाईको आशय बुझे मैले । हामी सबै भ्रातृ संगठनको महाधिवेसनकालागि तयारीमा जुटी सकेका छौँ । आन्तरिक तयारी भैरहेको छ ।
तपाईलाई त थाहै छ हामी हाम्रो आशन्न महाधिवेशनकालागि पनि सक्रिय नै छौँ । विशेष त सदस्यता वितरण देखि अन्य व्यवस्थापनका सबै पक्ष हेरी मिलाई रहेका छौँ ।

त्यसो भए अब कांग्रेसका सबै भ्रातृ संगठनहरु थप सक्रिय र व्यवस्थित हुन्छन् ? वा भनौँ कांग्रेस अब सच्चिन्छ र जनताको मन जितेर देशलाई समृद्ध बनाउने दिशामा उन्मुख हुन्छ ?

यसमा शंका गर्नुपर्ने ठाउँ छैन । हामी राष्ट्रिय मुद्धाका अगाडी आन्तरिक विषयलाई उभिन दिदैनौँ । ठुलो संघर्ष बलिदानीबाट प्राप्त लोकतन्त्रलाई कमजोर बनाउन यो सरकार लागेको छ त्यो हामी हुन दिन्नौँ । जनताका आशालाई सम्बोधन गर्न कांग्रेस सधै तयार थियो, छ र रहने छ ।

प्रतिक्रिया