मंगलबार, जेठ १, २०८१

‘यो गठबन्धनको राजनीतिक, दार्शनिक एवं सैद्धान्तिक आधार कमजोर छ’

माओवादीमा पार्टीको सत्ता होस् वा सधैं देशको सत्तामा टाँसिइरहने, सत्तामा टिकिरहने प्रवृत्ति देखिएको छ ।

नेपालखोज २०७८ माघ २० गते १०:१०

हाइलाइट्स :
-यो वर्तमान गठबन्धन स्वभाविक प्रकृतिको होइन । यो संवैधानिक वा कानुनी पनि छैन । यसका अंग-प्रत्यंग ठीक छैनन् । संसद्‌को सबैभन्दा ठूलो पार्टीलाई बाहिर राखेर गरिएको यो गठबन्धन साना-तिना झिनामसिना कुराले नै हल्लिने गरेक‍ो छ ।
-यो गठबन्धन स्वार्थले बनेको हो, यसको राजनीतिक, दार्शनिक, सैद्धान्तिक आधार कमजोर छ ।
-निर्वाचन भन्यो कि यो गठबन्धनका सहयात्रीहरु त्रसितजस्ता देखिन्छन् । यो गठबन्धनभित्रै निर्वाचन सार्ने खेल चलिरहेको छ ।
-एक-अर्कालाई ढाल्ने, बदला लिने हिसाबमा मात्र य‍ो गठबन्धन निर्माण भएको हो ।
-एमाले र राप्रपाबीच गठबन्धन होला जस्तो लाग्दैन ।
-प्रजातान्त्रिक प्रणालीमा निर्वाचनले नै देशको राजनीतिलाई डोर्‍याउँछ । यद्यपि हामीकहाँ जनतालाई बलियो हुन नदिने, निर्वाचनलाई बलियो बन्न नदिने आन्तरिक र बाह्य खेल अनवरत चलिरहेको छ । यो नेपालको राजनीतिलाई स्थिर हुन नदिने चालबाजी पनि हो ।
-माओवादीमा पार्टीको सत्ता होस् वा सधैं देशको सत्तामा टाँसिइरहने, सत्तामा टिकिरहने प्रवृत्ति देखिएको छ ।
-पार्टीहरु आफ्नो धरातलबाट च्यूत भएको देखिएका छन्, हरेक पार्टी ।
-नेताहरुलाई जनताले के कारणले श्रद्धा गर्नु भन्ने गम्भीर प्रश्न खडा भएको छ भने नेताहरु रत्नपार्क, बसपार्क, चाबेलजस्ता खुला ठाउँमा जनताबीच उभिन सक्ने अवस्थामा छैनन् ।
-राजालाई पुन:स्थापित गर्नुपर्छ भनेर लाग्नेहरुमा सबै खिइएका मानिसहरु छन् ।
-कसैले कसैलाई ढाल्न सकेन भने पनि समयले सबैलाई ढालेरै छाड्नेछ ।
-जनता अविवेकी र मूर्ख छैनन्, उनीहरुले सारा कुरा, सारा खेल हेरिरहेका छन्, बुझिरहेका छन् । जनताले नै यसको निकास पनि दिनेछन् ।
-नेताहरु जनताबाट कटेर बादशाहजस्ता भए । सुविधाभोगी भए अनि जनताबाट टाढिए ।
-बिहारमा लालुले देखाएजस्तो व्यवहार हाम्रा कालुहरुले देखाउँदै आएका छन् ।
-मुलुकका जनताले ठूलो कुरा चाहेका होइनन्, यिनै पार्टीले आफ्नो घोषणापत्रमा लेखिएको कुरा व्यवहारमा लागु होस् भन्ने चाहेका हुन् ।
-कांग्रेसको महाअधिवेशनमा को-कुन पदमा जाने भन्ने कुरा मात्र भयो । नीति, कार्यक्रम, सिद्धान्त आदिमा कुनै छलफल भएन ।
-माधव नेपालले महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हटाउन महाधिवेशनसम्म कुर्ने धैर्यता पनि देखाउनु भएन । महाधिवेशनमा नेतृत्वलाई चुनौती दिन्छु भन्ने हिम्मत पनि देखाउनु भएन । उहाँलाई रातारात अवैध बाटोबाट अध्यक्ष चाहियो ।
-पार्टीहरुले आफूलाई लोकतान्त्रिक त भनेका छन् तर उनीहरुको आचरण-व्यवहारमा लोकतान्त्रिक चरित्र पटक्कै देखिएको छैन ।
-प्राणले शरीर छोड्ला तर नेताहरुले पद छोड्नेवाला छैनन् । यद्यपि कामै गरेर देखाउन एउटै कार्यकाल पर्याप्त हुन्छ ।
-हाम्रो न्यायालय अति राजनीतीकरणको सिकार भएको छ । अहिले सर्वोच्च अदालतमा देखिएको परिदृष्य त्यसकै परिणाम हो । यसबाट देश नै प्रताडित हुनुपरेको छ ।

प्रतिक्रिया