शुक्रबार, वैशाख १४, २०८१

दशैँ विदामा घुम्न कहाँ जाने ? हेर्नुहोस त घुम्नै पर्ने यि ठाउँ ।

नेपालखोज २०७६ असोज १५ गते १४:०१

टंककला तिमिल्सेना, काठमाडौं । विदाका दिनहरुमा प्राय सबैले घुम्न रुचाउँछन् । त्यस माथि दशैँ पर्व नेपालीहरुको महान चाँड । दशैँमा पारिवारिक घुमघाम देखि विभिन्न पेशा व्यवसायमा व्यस्त हुनेहरु पनि फुर्सद निकाली घुम्न जाने गर्छन् । तपाईका पनि योजना त पक्कै होलान् ? त्यसो भए स्वदेश मै घुमाईकालागि यि ठाउँहरु तपाईलाई उपयुक्त हुन सक्छन् ।

१. बर्दिया राष्ट्रिय निकुञ्ज र त्यहाँको थारु समुदायका होमस्टे

 

थारु समुदायमा दशैँको विशेष रौनक हुन्छ । छुट्टै भाषा, संस्कार, संस्कृतिका धनी थारु जातीले दशैँलाई अत्यन्त रमणिय र यादगार बनाउने गर्छन् । पारिवारिक रमाईलोकालागि बर्दियाका थारु जातीसँग दशैँमा रमाउनु धेरै नै उपयुक्त हुन्छ । काठमाडौँबाट सार्वजनिक यातायात मै जाँदा पनि करिब १४ घण्टामा बर्दिया पुगिन्छ । बर्दियादेखि कञ्चनपुरसम्म दशैँका समय रमाईलो गर्न तपाईले कम्तिमा पनि ५ दिनको समय त छुट्याउनै पर्छ ।

बर्दिया जिल्लाका अकर्षणहरु
— थारु समुदायका होमस्टे
बर्दिया घुम्न जानुभयो भने बसाईकालागि राम्रो स्थान थारु होमस्टे हुनसक्छ । यहाँ बस्दा थारु समुदायको दशैँलाई राम्रोसँग बुझने र रमाउने मौका पाईन्छ ।

— शितल हरियाली अनी सन्तुलित मौसम
असोज महिनामा बर्दियामा धेरै गर्मी पनि हुदैन । सन्तुलित मौसम हरियालीको बहार हुने समय हो यो । हरिया तराईका फाँटसँगै खेतका गरामा धानका बाला झुलेका, हरियाली वन जंगल र त्यहाँका चराचुरुङगीको आवाज प्राकृतिकको काखमा रमाउनेहरुकालागि प्रशस्त छ त्यहाँ ।
— बर्दियाँ राष्ट्रिय निकुञ्ज र यस क्षेत्रमा राजमार्ग छेउछाउ देखिने जनावरहरु
— बबई नदी र त्यस नदीमा प्रशस्त देख्न पाईने गोही
— टाईगर टप पिक्निक स्पोर्ट
— थारु जातीका मौलिक परिकारहरु
— चिसापानीको माछाका परिकार
— जंगल सफारीमा रमाउने सुविधा लगायतका अन्य थुप्रै आकर्षक विशेषता छन् बर्दियाका ।

२. कर्णाली नदीमा बनेको एउटा मात्र खम्बामा अडिएको पुल

 

५ दिनको बर्दियाँ भ्रमणकै समयमा तपाई बर्दियाँ र कैलालीको सिमानामा जोडेको नेपालको सबै भन्दा लामो कर्णाली नदी र चिसापानी क्षेत्रको अवलोकन गर्न सक्नुहुन्छ ।
— चिसापानी पुल विश्वको एउटा मात्र एक खम्बे पुल हो ।

— कर्णाली पुल नेपालको भौगोलीक ईहास बोकेको एउटा खुल्ला किताब हो ।

— यो पुल बन्नु पहिले सुदुरपश्चिमका जिल्लाहरुको काठमाडौँसँग सोझो यातायात सम्बन्ध थिएन । सुदुरपश्चिमबाट काठमाडौँ आउनु परे भारतिय भुमी प्रयोग गरेर मात्र काठमाडौँ प्रवेश हुन्थ्यो ।
— कर्णाली पुल क्षेत्रको एउटा अचम्मको विशेषता छ । कर्णाली पुलको विच भागमा दिउँसो १२ बजे देखि करिब २ बजेसम्म सधै चिसो हावा निरन्तर चलिनै रहन्छ । २ बजे पछि त्यो चिसो हावा सधैँ बन्द हुन्छ ।
— यही क्षेत्रबाट कर्णाली नदीको वहाबमा ¥याफ्टिङको मज्जा पनि लिन पाईन्छ ।
— चिसापानीको माछाका परिकार यहाँको खानाको मुख्य आकर्षण हो ।
— चिसापानी क्षेत्र घुमाई पश्चात तपाई करिब ३० मिनेटको उत्तर दिशामा हिड्नु भयो भने सुन्दर कर्णाली नदिको किनाराको मज्जा लिने । पौडी खेल्ने अनि जंगलको मज्जा लिन पाउने ठाउँमा पुग्नु हुन्छ तपाई । जुन क्षेत्रको नाम पितमारी हो । यो क्षेत्र पिक्निक स्पोर्टकालागि अत्यन्त उपयुक्त मानिन्छ ।

 

३. राजा विरेन्द्र र रानी ऐश्वर्य रमाउने टिकापुर पार्कमा तपाईपनि रमाउनुहोस

पाँच दिनको दशैँ भ्रमण प्याकेजमा तपाई बर्दिया होमस्टे हँुदै कर्णाली पुल र कर्णाली चिसापानी हुँदै लम्की बजार पुग्न सक्नुहुन्छ । लम्की बजारबाट दक्षिण दिशातर्फको टिकापुर रोड हुदै १३ किलो मिटरको दुरी पार गरी तपाई टिकापुर बजार पुग्नु हुन्छ ।

तपाई सार्वजनिक सवारीमा यात्रा गर्दै हुनुहुन्छ भने लम्की चौराहादेखि बस चढ्नुहोस र टिकापुर बस पार्कमा तपाई झर्नु पर्छ । त्यहाँबाट इलेक्ट्रिकल रिक्सा चढेर १५ मिनेटको रिक्सा यात्राको रमाईलोसँगै तपाई टिकापुर पार्क पुग्नुहुन्छ ।

याद राख्नुहोस टिकापुर बस पार्कदेखि टिकापुर पार्कसम्म रिक्सा चढेको अधिकतम मुल्य प्रति व्यक्ति ५० रुपैयाँ मात्र हो । त्यस रकम भन्दा बढी भाडा रकम नतिर्नुहोला । २० मिनेटको रिक्सा यात्रा पछि तपाई टिकापुर पार्क पुग्नु हुन्छ ।

— पार्क पुगेपछि पार्कको सुन्दरतासँगै पार्कको किनारा हुँदै बग्ने कर्णाली नदीमा पौडी खेलाईको आनन्द लिनुहोस ।
— टिकापुर पार्कसँग राजा महेन्द्रको जिवनकाल जोडिएको छ । राजा महेन्द्रका पालामा बनाईएको यो पार्क नेपालकै सबै भन्दा ठुलो मानव निर्मित पार्कका रुपमा पनि चिनिन्छ ।
— स्थापना कालमा राजामहाराजा र दरबारियाहरु जाने बस्ने, सिकार खेल्ने, कर्णालीमा नदीमा पौडी खेल्ने अनी फ्रेस हुने गर्थे ।
— जानकारहरुका अनुसार राजा बीरेन्द्र पनि रानी ऐश्वर्य र अन्य राज परिवारका निकटहरूसंग यो पार्क धेरै पटक आउने, विश्राम लिने, महत्वपुर्ण छलफलहरु गर्ने समेत गर्थे ।
— टीकापुर पार्क लाई टीकापुर बृहत उद्यान नामले पनि चिनिन्छ । यो पार्कको वास्तबिक नाम भने बङ्गला हो ।

— टिकापुर पार्क र पार्क कै किनारा हुँदै बग्ने कर्णाली नदीमा पौडी खेलेर कर्णालीको चिसो पानीमा नुहाउनुको आनन्द लिन पाउनुहुन्छ तपाई ।

— नदीमा त पौडी खेल्न सकिन्न भनेर डराउनु पर्दैन । यस क्षेत्रमा कर्णाली नदीको बहाव सामान्य अवस्थामा सामान्य प्रकृतिको नै हुन्छ । साना साना नानी बाबुहरुले पनि किनारा किनारामा पौडी खेल्न सक्छन् ।

 

४. केराका परिकारको हबका रुपमा परिचित बनाना रेष्टुरेन्ट जानुहोस


टिकापुर पार्कमा रमाईलो गर्दै तपाई पार्क बाहिर निस्किनुहोस । पौडी खेलाई र अन्य रमाईलो गर्दा गर्दै भोक लागेको हुनसक्छ तपाईलाई । टिकापुर क्षेत्रलाई चिनाउने फेमस परिकार भनेको केराका विभिन्न आइटम हुन् । पार्क बाट निस्केर १० मिनेट हिड्नुहोस बाटोको करिब ५० मिटर भित्र एउटा ठुलो आकर्षक बनाना रेष्टुरेन्ट छ । जानुहोस त्यहाँ अनी आनन्दको स्वाद लिनुहोस ः—

केराको मः मः
केराको अचार
केराको जुस
केराको वाइन
केराको पकौडा लगाएत अन्य विभिन्न केराका परिकारको मज्जा लिन सक्नुहुन्छ तपाई ।

 

५. मानिसका हत्केला आकारको घोडाघोडी ताल

तपाई टिकापुरबाट फर्केर पुन लम्की बजार आउनुहोस । लम्कीबाट सिधा सुखड घोडाघोडी तालकालागि गाडी चढ्नुहोस । घोडाघोडी ताल निरै गाडी रोक्किन्छ । तपाई झर्नुहोस अनी यसो उत्तरपट्टी नजर फिजाउने वित्तिकै सुन्दर, पौराणिक एवम् अनुसन्धानकर्ताकालागि उपयुक्त प्राकृतिक सुन्दरताको अनुपम दृश्य घोडाघोडी ताल देखिन्छ ।

— यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिईएको छ । योगी नरहरिनाथले यो तालबाट पौराणिक काललाई स्मरण गराउने केही चिन्हहरू पत्ता लगाएर यो ताल महाभारत काल भन्दा पनि पहिलेबाट नै एक पवित्र तिर्थस्थल थियो भन्ने सावित गरेका थिए ।

— यो तालको इतिहास थारू समुदायसँग गाँसिएको छ । स्थानीय किम्बदन्ती अनुसार यो ताल सातवटा थारू जातिको बसोबास रहेको गाउँ डुबेर बनेको मानिन्छ र यस तालको आकर मानिसको हात जस्तै छ ।

— किम्बदन्ती अनुसार प्राचिनकालमा यो स्थानमा एउटा सुन्दर गाँउ थियो । तर, एक रात निकै पानी पा¥यो । एकै रातकोे पानीले उक्त स्थानलाई तालमा परिणत गरायो । त्यसपछि त्यहाँका राजाले पहिला भाले र केही समय पछि पोथी घोडालाई त्यस क्षेत्रको अनुगमन गर्न पठाएछन् । तर दुबै घोडाहरू गन्तव्यमा नपुगि मरेछन । त्यसपछी ती राजाले उक्त स्थानमा कुनै दैवीशक्ति भएको बिचार गरी त्यस स्थानमा मन्दिर निर्माण गर्न लगाए । तिनै मृत घोडाघोडी सम्झनामा त्यो मन्दिर र ताललाई घोडाघोडी भन्न थालिएको हो ।

— घोडाघोडी ताल १९ वटा औंला भएको हत्केला आकारको देखिन्छ । यो क्षेत्र सिमसार क्षेत्र पनि हो । यस आसपासमा अन्य १३ वटा ससाना तालहरू छन् । यि ताललाई समेटेर नै यस क्षेत्रलाई सिमसार क्षेत्रका रुपमा स्थापित गरिएको हो ।

— हवाई दृश्यबाट अवलोकन गर्दा यो सिमसार क्षेत्र एउटा तालको सीमा टुङ्गिन नपाउँदै अर्को ताल सुरु हुने तालै तालको माला झैं देखिने गर्छ । यस ताल क्षेत्रमा दुर्लभ चराचुरिङ्गीहरु प्रशस्त पाईन्छन् । दुर्लभ चराचुरिङ्गीहरुकालागि यो क्षेत्र शान्त र सुरक्षित बासस्थानका रुपमा रहेको छ ।

— विश्व जलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्गीहरूलाई अझसम्म पनि यहाँका तालहरुले संरक्षण गरिरहेका छन् ।

— यो क्षेत्र सन् २००३ अगस्तमा विश्व सिमसार सूचीमा सूचिकृत भएको छ ।

— यूरोप, अमेरिका तथा दक्षिण एसियाली मुलुकका कतिपय प्रकृति संरक्षणविद्, अनुसन्धानकर्ताका लागि यो क्षेत्र ज्यादै महत्वपूर्ण छ ।

घोडाघोडी क्षेत्रको अवलोकन पश्चात तपाई अब यहाँबाट सिधा धनगढीकालागि गाडी चढ्नुहोस । धनगढी क्षेत्रमा तपाईलाई बसाईकालागि राम्रो व्यवस्था रहेका छन् । यहाँबाट भोली विहानै तपाई लाग्नुहोस कञ्चनपुर तर्फ ।

६. नेपाल-भारत पश्चिमी सिमाना महाकाली नदी, दोधारा चाँदनी पुल

एसियाकै दोस्रो लामो झोलुङ्गे पुल नै दोधारा चाँदनी झोलुङ्गे पुल हो । यो कञ्चनपूर जिल्लामा रहेको छ । नेपाल भारतको पश्चिमी सिमाना तय गरेको महाकाली नदीमा यो पुल रहको छ । कञ्चनपुलको दोधारा र चाककदनी लाई यस पुलले जोडेको हुँदा यसको नाम दोधारा चाँदनी राखिएको हो । यहाँ पनी महाकाली नदीको किनारामा पौडी खेल्दै दोधारा चाँदनी पुल माथि उफ्रिदै रमाउन सकिन्छ ।

५ दिनको छोटो भ्रमण प्याकेजमा तपाईले पश्चिम तराईका यि सुन्दर, मनोरम र ऐतिहासिक स्थान घुमेर कञ्चनपुरबाट सिधै काठमाडौँकालागी छुट्ने बस चढी काठमाडौँ फिर्ता हुन सक्नुहुन्छ ।
मैले यस लेखमा केवल ५ दिनको भ्रमण प्याकेजलाई ध्यानमा राखी यातायात सहजतालाई समेत ख्याल गरी बर्दियादेखि कञ्चनपुरसम्म त्यो पनी पूर्व— पश्चिम राजमार्ग छेउछाउ वा नजिक पर्ने स्थानहरुलाई मात्र समावेश गरेकी छु । तपाईसँग लामो फुर्सदको समय भए अन्य थुप्रै पर्यटकीय, रमणिय र ऐतिहासिक स्थानहरु छन् पश्चिमका जिल्लाहरुमा ।
— कैलालीको राजकाडाँ, धार्मिक पर्यटकिय स्थल कैलाशधाम तिर्थस्थल वल्चौर, वर्दगोरीया
— कैलाली र कञ्चनपुरका सुन्दर फाँटहरु
— साइपाल र अपी हिमाल

— बझाङको चैनपुर / खप्तड
बझाङको चैनपुर र यस आसपासको क्षेत्र शाह तथा ठकुरी वंशको उदगम भूमी मानिन्छ । यहाँबाट दुई दिनकै यात्रामा खप्तड पुगिन्छ । चैनपुर र यस आसपासका ग्रामिण भेग अत्यन्त लोभलाग्दा छन् ।
पुराना शैलीका आकर्षक घर र ग्रामिण जनजीवन लोभलाग्दो छ । यहाँ कोदोबारी हुन्छ । तरकारीका थुप्रै परिकार बारीमा फलेका हुन्छन् । बोडीका कोसा बोटबाटै टिपेर खाने सारै रमाईलो हुन्छ यहाँको । स्वाद पनि मिठो ।
शाही र ठकुरीहरुको उत्पत्ती भएको स्थान भएकाले यहाँको बोलीचालीमा प्राय उच्चआदरार्थी शब्दहरु प्रयोग हुन्छन् । (जस्तै, आईसियो, गईसियो, जिउनार गरिसियो ।) यो यहाँको मौलिकता हो ।

खप्तड

चैनपुरबाट उकालो लागेपछि भूस्वर्गका नामबाट चिनिने खप्तडका लोभलाग्दा पाटन देखिन्छन् । पहाडी भेग भएपनि यात्रा धेरै कठिन हुदैन ।
हिडाईमा आनन्द आउँछ । ताक्लाकोटबाट भेँडा—च्यांग्रा झार्दै गरेको मनमोहक दृष्य समेत देखिन्छन् यहाँ ।

सुन्दर फाँट, प्रकृतिको शान्त, सुन्दर, धार्मिक दृष्टिले उच्च पवित्र मानिएको खप्तड साँच्चै असाध्यै रमणिय छ । सुदुरपश्चिम भरीका जिल्लाहरु घुम्ने समय भएत तपाईलाई पर्यटकिय स्थल थुप्रै छन् । समय भने कम्तिमा पनि १ महिना त छुट्याउनै पर्छ ।

प्रतिक्रिया