बिहीबार, वैशाख ६, २०८१

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखी सुरु हुँदै, यस्ता छन् एजेण्डा

नेपालखोज २०७६ असोज २७ गते १०:१५

२७ असोज २०७६, काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि सुरु हुँदैछ । बैठक सोमबारदेखि भारतमा हुन लागेको हो । समितिको बैठक यसअघि गत माघ ९ र १० मा पोखरामा सम्पन्न भएको थियो ।

बैठकलाई नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतको तर्फबाट त्यहाँका ऊर्जा सचिव एससी गर्गले नेतृत्व गर्नेछन् ।

बैठकको मुख्य प्राथमिकतामा अन्तरदेशीय प्रसारणलाइन र इनर्जी बैकिङ रहेको ऊर्जा मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले जानकारी  दिए । उनले भने, ‘यस बैठकमा भारतसँग विभिन्न ऊर्जासम्बद्ध एजेन्डामा छलफल र सहमतिको प्रयास हुनेछ । न्यू बुटवल–न्यू गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनको निर्माणको मोडालिटी यही बैठकमा टुंग्याउने प्रयत्न गर्ने छौँ ।’

यो प्रसारणलाइन निर्माण गर्न दुबै देश सहमत भए पनि कसले कुन मोडलमा लगानी गर्ने भन्ने टुंगिएको छैन । यो विषय नटुंगाएसम्म अमेरिकी सहयोगको मिलिनियम च्यालेन्ज अन्तरगतको ४ सय केभी लाइनको काम अघि बढ्न नसक्ने भएकाले नेपालले यो बैठकमा सहमतिका लागि अधिकतम प्रयास गर्नेछ ।

नेपालले सुरुवातमा यो आयोजना पूर्णरुपमा जीटूजी मोडलमा अनुदानमा बनाइदिन भारतलाई आग्रह गरेको थियो । भारतले अस्वीकार गरेपछि अधिकतम ७ वर्षसम्म इनर्जी बुक गर्न नेपालले प्रस्ताव गरेको छ ।

इनर्जी बुक गरेको ७ वर्षमा पनि भारततर्फ विद्युत लैजाँदा सम्बन्धित विद्युत निर्यातकर्ताबाट प्रसारण शुुल्क असुल गर्न सक्ने प्रस्ताव नेपालले गरेको हो । तर, भारतले त्यसलाई पनि स्वीकारेको छैन । यसअघिको बैठमा नेपाल र भारतबीच यो प्रसारणलाइनका लागि संयुक्त रुपमा कम्पनी खोल्ने र भारतले विना ब्याजको ऋण प्रवाह गर्नेबारे छलफल भएको थियो ।

भारतले निर्माणपछिको ७ वर्षसम्ममा नेपालमा निर्यात गर्नसक्ने गरी बन्ने ठूला आयोजनाको विवरण मागेको छ । त्यसकै आधारमा अब छलफल गरेर यसै बैठकमामर्फत यो आयोजनाको निर्माण मोडालिटी टुंगो लगाने तयारी छ ।

प्रसारणलाइन निर्माण गर्न करिब ४ वर्ष लाग्ने भएकाले सुरुका ७ वर्ष नेपालले इनर्जी बुक गर्ने र त्यसपछि नेपालले उक्त लाइन विद्युत निर्यातका लागि प्रयोग गर्ने भएकाले सोहीअनुसार लगानीको प्रारुप तयार गर्ने योजनामा नेपाल छ । यस्तै अन्य विभिन्न योजनाको वर्तमान अवस्था र आगामी रणनीतिबारे समेत छलफल हुनेछ ।

प्रतिक्रिया