शुक्रबार, वैशाख १४, २०८१

एनआरएनको चुनाव आज, कुन प्यानल कति बलियो ?

नेपालखोज २०७६ असोज २९ गते ९:२०

२९ असोज, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हने छ ।

यस निर्वाचनमा ४९ देशबाट आएका झण्डै २६ सय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिँदैछन् । निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली पनि आजै प्रकाशित गर्ने जनाएको छ ।

साँझ ५ बजे देखि राति १० सम्म एनआरएनए महाधिवेशन प्रतिनिधिहरुले विद्युतीय मतदान गर्नेछन् । मतदान सम्पन्न भएको एक घण्टाभित्रमा नै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । विद्युतीय मतदान भएकाले आज नै सम्पूर्ण नजिता आइपुग्ने छ ।

संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्यानलसहित चुनावी मैदानमा छन् । दुबै प्रत्यासीहरुको प्रचार शैली निकै भड्किलो र खर्चिलो भएको भन्दै केही प्रतिनिधिहरुले आलोचनासमेत गरेका छन् । संघको स्थापनाको उद्देश्यविपरीत राजनीतिक ध्रुवीकरण बढेको भन्दै संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोले सम्मेलनको उदघाटन बहिस्कार गरेका छन् ।

तर, एनआरएनको विधानविपरित दुवै अध्यक्षका प्रत्यासीहरु प्यानल नै बनाएर चुनाव लड्ने भएका छन् । आचार्यले सोमबार दिउँसो नै पत्रकार सम्मेलन गर्दै आफ्नो टिम घोषणा गरेका थिए । पन्तले गोप्यरुपमै आफ्नो प्यानललाई अन्तिम रुप दिएका छन् । बुधबार राति अबेरसम्म छलफल गर्दै पन्तले निर्णय लिएको स्रोतको दाबी छ ।

दुई—दुई पटकसम्म उपाध्यक्षमा बनेका जर्मनी निवासी व्यवसायी कुमार पन्तले यसपटक अध्यक्षको दाबी गरेका छन् । पन्त समूहलाई नेकपा निकटका रुपमा चिनिँदै आएको छ । तर, केही उम्मेदवारहरु प्रजातान्त्रिक विचारधारका र केही स्वतन्त्ररुपमा चिनिएका छन् ।

पन्त समूहबाट ५ उपाध्यक्षमा डा. बद्री केसी (रसिया), हिक्मत थापा (अफ्रिका), सोनाम लामा (अमेरिका), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) र धर्मराज अधिकारी (अष्ट्रेलिया) छन् ।

खुल्लातर्फ उपाध्यक्षमा ४ पद रहेकाले श्रेष्ठ र अधिकारीमा कसलाई अघि लैजानेबारे पन्त समूहमा अझै पनि छलफल चलिरहेको कुमार पन्त निकटस्रोतको भनाइ छ । महिला उपाध्यक्षमा पन्त समूहबाट रसिया निवासी सपिलाराज भण्डारीले उम्मेदवारी दिने भएकी छिन् ।

पन्त समूहले महासचिवमा बेलायत निवासी प्राध्यापक डा. हेमराज शर्मालाई अघि सारेको छ । सचिवमा अमेरिका निवासी गौरी जोशीबारे निर्णय गरेको भए पनि शिवकुमार बरुवाल (बेल्जियम) र मध्यपूर्वका राजेन्द्र कुमार शर्मा (आरके) मध्ये एकलाई उतार्ने प्रयास भइरहेको बताइन्छ । एनआरएनए विधानअनुसार २ जना सचिवमा निर्वाचित हुनेछन् ।

पन्त समूहबाट कोषाध्यक्षमा जापानका महेशकुमार श्रेष्ठले उमेद्वारी घोषणा गरेका छन् । पन्त समूहबाट सह–कोषाध्यक्षमा लोकप्रसाद दाहाल (बेल्जियम), गोबिन्दप्रसाद गौतम (रसिया) र एसी शेर्पा (अमेरिका) ले दाबी गरेका छन् । तर, अन्तिम समयमा आएर दाहाल वा गौतम मध्ये एकलाई अघि बढाउने निर्णयमा पुगेको पन्त निकटस्थहरुको भनाइ छ । यसअघि शेर्पालाई जिताउन पूर्वअध्यक्ष शेष घलेसँग पन्तले सहमति जनाएकोबारे चर्चा चलेको थियो ।

बेलायत निवासी व्यवसायी कुल आचार्य आफ्नो टिमसहित चुनावी मैदानमा उत्रिएका छन् । संघका वर्तमान उपाध्यक्ष रहेका आचार्यले अन्तिम समयमा आएर पन्तलाई टक्कर दिएका हुन् । आचार्यको उम्मेदवारीबारे सुरुका दिनमा हल्लाका रुपमा लिइएको भए पनि अन्ततः उनले निर्वाचनको माहोललाई ह्वात्तै तताएका छन् ।

प्रजातान्त्रिक विचारधारका आचार्यको समूहलाई कांग्रेस निकटका रुपमा हेरिएको छ । विदेशस्थित नेपाली जनसम्पर्क समिति सम्वद्व एनआरएन प्रतिनिधिहरु आचार्यलाई जिताउन एकतावद्व बनेका छन् ।

आचार्यको समूहबाट पाँच उपाध्यक्षमा डा.केशव पौडेल (अमेरिका), मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व) र रबिना थापा (अमेरिका) लाई अगाडि सारिएको छ ।

यस्तै आचार्य समूहबाट महासचिवमा बेल्जियम निवासी व्यवसायी जानकी गुरुङलाई अघि सारेका छन् । गुरुङ एनआरएनएकी वर्तमान सचिव हुन् ।

यस्तै वर्तमान सहकोषाध्यक्ष सोम सापकोटाले आचार्य समूहबाट कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । अन्य पदका उम्मेदवारहरुलाई भने आफूलाई सघाउने शर्तमा आन्तरिक सहमति भएको आचार्य निकटस्थ स्रोतको दाबी छ ।

अध्यक्षका प्रत्यासी कुमार पन्तलाई नेकपा निकट र कुल आचार्यलाई कांग्रेसनिकट ठानिएकाले अहिलेको निर्वाचनलाई कांग्रेस भर्सेस कम्युनिष्टका रुपमा हेरिएको छ ।

नेपालमा भएका कतिपय संघ संस्थाका चुनावमा नेकपा समर्थित उम्मेद्वार पराजीत बनेको र कांग्रेस निकटले जितेको सन्दर्भ कोट्याउँदै कतिपयले एनआरएनएको आजको निर्वाचनलाई पनि कांग्रेस र कम्युनिष्टको लोकप्रियता जाँच्ने कडीका रुपमा विश्लेषण गर्न खोजेको देखिन्छ ।

 

प्रतिक्रिया