शुक्रबार, वैशाख १४, २०८१

३१ महत्वपूर्ण व्यावसायिक व्यक्ति/संस्था घोषणा गरिँदै

नेपालखोज २०७६ कार्तिक ३ गते ८:३१

३ कार्तिक, काठमाडौ ।सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट ३१ उद्योगी व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) घोषणा गर्ने भएको छ । मुलुकको उत्पादन, रोजगारी, निर्यात, पर्यटन तथा विप्रेषण आयमा योगदान दिने व्यक्ति तथा संघसस्थालाई सिआइपी प्रदान गरिने भएको हो । यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तिम सूची तयार पारेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले निर्यात क्षेत्रका ६ जना, लगानी क्षेत्रका १, रोजगारी सिर्जनामा १, पर्यटन क्षेत्रको २, कर दाखिलामा १ र व्यावसायिक प्रतिनिधिमूलक संस्थाका ३ गरी कुल २५ जना व्यक्ति/संस्थाको अन्तिम नाम तयार गरेको छ । यसमा युवा, दलित, सीमान्तकृत र पिछडिएको क्षेत्रका ६ जना उद्यमी व्यवसायीसमेत थपिनेछन् । महत्वपूर्ण व्यावसायिक व्यक्ति छनोट तथा सिफारिस उपसमितिले सञ्चालक समितिको सिफारिसअनुसार मन्त्रालयले अन्तिम सूची तयार पारिसकेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) छनोट, सम्मान तथा सुविधासम्बन्धी कार्यविधि २०७४ अनुसार सिआइपी दिने तयारी थालिएको हो ।  आर्थिक वर्ष ०७३/७४ तथा ०७४/७५का लागि दिइने सिआइपीको नामावली  महत्वपूर्ण व्यावसायिक व्यक्ति छनोट तथा सिफारिस उपसमितिले सञ्चालक समितिमा पठाइसकेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सरदविक्रम राणाले बताए ।

समितिले यसअघि नै सिआइपी प्राप्त गर्ने सम्भावित व्यक्ति तथा संघ संस्थाको नामावली प्रकाशन गरेर दाबी विरोधका लागि आह्वान गरेको थियो । प्राप्त दाबी विरोधलाई समेत सम्बोधन गरेर सिआइपी पाउने व्यक्ति तथा संस्थाको अन्तिम नामावली तयार पारिएको उनले बताए । ‘लगभग सबै प्रक्रिया सकिएको छ,’ उनले भने, ‘तिहारलगत्तै सिआइपी प्रदान गर्न सकिनेछ ।’

 ६ वर्षपछि पुनः सिआइपी दिइँदै
यसअघि सरकारले ०७० मा १५ विधामा ३४ उद्यमीलाई सिआइपी प्रदान गरेको थियो । ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) छनोट, सम्मान तथा सुविधासम्बन्धी कार्यविधि २०६९’ अनुसार त्यतिवेला सिआइपी प्रदान गरिएको थियो । प्रत्येक दुई वर्षमा देशको निर्यात, लगानी, रोजगारी, विप्रेषण, पर्यटनलगायत क्षेत्रमा उल्लेख्य योगदान पु-याई उत्कृष्ट ठहरिएका व्यवसायी एवं यस क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउने उद्यमी व्यवसायी एवं तिनका प्रतिनिधिमूलक संस्थाका अध्यक्षलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) प्रदान गर्ने कार्यविधिमा उल्लेख छ । तर, त्यसले निरन्तरता पाउन सकेन । पछिल्लोपटक तीन वर्षअघि सरकारले सिआइपी दिने तयारी थाल्दा विवाद सिर्जना भएको थियो । त्यसपछि सरकारले सिआइपी नै दिएन । अहिले ६ वर्षपछि पुनः सरकारले सिआइपी दिने तयारी थालेको हो ।

के हो सिआइपी ?
निर्यात व्यापार, लगानी, विप्रेषण र पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान दिने उत्कृट उद्योगी व्यवसायीलाई सिआइपीको  परिचयपत्र, लोगो र प्रमाणपत्र प्रदान गरिन्छ । सरकारले सिआइपी सम्मानप्राप्त व्यक्तिलाई नेपालको प्रतिष्ठित उद्योगी–व्यवसायीको रूपमा स्वदेश तथा विदेशमा पहिचान गराउने उद्देश्य राखेको छ । सिआइपी सम्मान पाउने व्यक्तिले प्रधानमन्त्री तथा मन्त्रीजस्ता उच्च ओहदाका व्यक्तिसँग भेटघाट गर्न अग्रस्थान पाउँछ । त्यस्तै, उनीहरूलाई दक्षिण एसियाली देशको भ्रमणमा ‘सार्क स्टिकर भिसा’ उपलब्ध गराइने अन्तर्राष्ट्रियस्तरमा हुने व्यापार मेलामा सहभागिताका लागि प्राथमिकता पाउने सिंहदरबार एवं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेश सुविधालगायत सुविधा उपलब्ध गराइन्छ ।

सिआइपी पाउन सक्ने सम्भावित उद्योगी व्यवसायी/कम्पनी

  • त्रिवेणी स्पिनिङ मिल्स प्रालि (धागो)
  • दि सांग्रिला कार्पेट एन्ड ह्यान्डिक्राफ्ट इन्डस्ट्री (ऊनी गलैँचा)
  • काठमाडौं स्टार फेसन प्रालि (तयारी पोसाक)
  • कल्पना क्राफ्ट (ऊनी फेल्ट)
  • डाबर नेपाल प्रालि
  • आरती स्ट्रिप्स प्रालि
  • हुलास वायर इन्डस्ट्रिज
  • न्यु हस्तकला एक्स्पोर्ट
  • गणेश हिमाल इम्पोर्ट एन्ड एक्स्पोर्ट प्रालि
  • न्यु प्यागोडा इन्टरप्राइजेज
  • पिपुल्स् क्राफ्ट एक्स्पोर्टस
  • मनराम हिमालयन ह्यान्डिक्राफ्ट (कृषि)
  • सिजी बायोटेक प्रालि (जडीबुटी)
  • ज्यलक्ष्मी गोल्छा, हुलास वायर्स एन्ड लि.
  • एलआइएस नेपाल प्रालि
  • होङ्सी शिवम् प्रालि
  • आइएमइ लिमिटेड
  • तारागाउँ रिजेन्सी होटेल लिमिटेड (ह्यात)
  • सुनीता शेर्पा, फेल्ट एन्ड यार्न प्रालि
  • अक्षय गोल्यान, रिलायन्स स्पिनिङ मिल्स
  • भवानी राणा, नेपाल उद्योग वाणिज्य महासंघ
  • शतिसकुमार मोर, नेपाल उद्योग परिसंघ
  • राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्स भएको नयाँ पत्रिकाले उल्लेख गरेको छ ।

प्रतिक्रिया