हिन्दु राष्ट्र हटाउनु पर्ने कारण अहिलेसम्म कसैले स्पष्ट पार्न सकेको छैन
नेपाली राजनीतिक दलहरुले स्पष्ट मार्गचित्र कोर्न नसक्दा र विकास निर्माणले फड्को मार्न नसक्दा जनतामा निराशा पैदा भएको छ । जसका कारण नेपालमा राजतन्त्रका प्रसंगहरु पनि उठिरहेका छन् । चाहे त्यो हिन्दुराष्ट्रसँग जोडिएर होस् वा परराष्ट्र नीतिसँग जोडिएर होस् । जनतामा निराशा छाएको छ त्यसमा दुईमत नै छैन । संघीयताका नाममा स्थानीय जनप्रतिनिधिहरुको रवैयाका कारण झन् त्रास फैलिँदै गएको छ । यस्तो परिस्थितिमा मुलुको राजनीतिक अवस्था के होला ? राजनीतिक विश्लेषण देवेश झासँग टंककला तिमिल्सेनाले गरेको कुराकानीको अंश
० नेपालको वर्तमान राजनीतिलाई कसरी हेर्नुभएको छ तपाईले ?
अलमल्ल अवस्था देख्छु म । नेकपालाई जनताले प्रवल बहुमत दिएको छ तथापी अझैसम्म नेकपाले कुनै पनि आफ्नो बाचा पुरा गर्न सकेको छैन । त्यसले गर्दा जनतामा अन्यौलको अवस्था छ । संसदीय राजनीतिमा लगभग दुई तिहाइको बहुमत प्राप्त छ यो सरकारलाई । तथापी, यो सरकारले कुनैपनि काम सफलता पूर्वक सम्पन्न गर्न सकेको छैन । विभिन्न काण्डै काण्डले घेरिएको अवस्था छ । जनतामा निराशा छ । भनिन्छ कुनै पनि देशको अवस्थालाई हेर्नुछ भने त्यसको सडक यातायात, भौतिक संरचनालाई हेर्नुपर्दछ । हामी कही पनि सरकारलाई सफल भइरहेको देखेका छैनौँ । जनताले सरकारलाई दुई तिहाईको जनमत दिएकै छ । तर सरकारले आफुले गरेको बाचा पुरा गर्न सकेन । त्यति गर्न नसके पछि जनता निराश छन् ।
० राष्ट्रिय राजनीतिको मुद्दा ओझेलमा परेको बहस हुने गर्छन् । साँच्चै ओझेलमा परेको हो वा चर्चा मात्र भएको हो ?
यस्को विश्लेषण गर्नको लागि हामी अलि पछाडिबाट हेर्नु पर्दछ । २०४६ सालको आन्दोलनमा राष्ट्रिय मुद्दा थियो त्यति बेला बहुदलीय संसदिय प्रजातान्त्रिक राजनीति एउटा मुद्दा थियो । त्यो सम्पन्न भयो । त्यस पछिको अर्को मुद्दा आयो राजतन्त्रको अन्त्य र गणतन्त्रमा प्रवेश । त्यो पनि सम्पन्न भयो त्यसपछि कुनै पनि राजनीतिक दलसँग राष्ट्रिय मुद्दा नै छैन मुद्दा विहिनता छ कुन एजेन्डामा राजनीति गर्ने ।
० समृद्ध नेपाल राष्ट्रिय मुद्दा होइन ?
त्यो सरकारको नारा हो । मुद्दा हुन सक्दैन ।
० यो नारालाई मुद्दामा परिणत गर्न सकिन्थ्यो होला नि त ?
नारा मुद्दामा परिणत हँुदैन । मुद्दा भनेको विचारमा आधारित हुन्छ । सुखी नेपाली त एउटा नारा हो । अब सबैलाई समृद्ध बनाइदियो भने सकियो सबै खुशी भईहाल्छन् ।
० अहिले कै अवस्थाबाट हेर्ने हो भने समृद्ध नेपाल हेर्न कति वर्ष कुर्नु पर्ला ?
मलाइ लाग्छ सरकारले भोली नै घोषणा गर्देला । जसरी खुला दिशामुक्त देश घोषित गरिदिएको छ । के ठेगान छ ? भोली नै घोषणा गरिदिए पनि हुन्छ । समृद्ध नेपाल आफै घोषणा गरेर पुग्ने हो भने त गरे भै गो नि ।
० अहिले नेपाली राजनीति झन् झन् कमजोर हँुदै गएको छ भन्ने सुनिन्छ । यो आन्तरिक कमजोरीले हो या अरु बाह्य कारण छन् ?
पोलिटिकल लिडरहरू सेचुरेसनमा पुगेका छन् । सेचुरेसनमा पुगेपछि उनीहरूसँग विचार शून्यताको अवस्था हुन्छ । उनीहरूसँग जति दिनसक्ने क्षमता थियो त्यो दिए । यो भन्दा बढी उनीहरूसँग छैन । अब अप्ठ्यारो के छ भने कुनै पनि राजनीति दलमा नयाँ पुस्ताले स्थान प्राप्त गर्न सक्ने अवस्था छैन । हरेक राजनीतिक दलले लिएको आफ्नो विचार, सिद्धान्त, लक्ष्य प्रति आफ्नै पार्टीका युवा पुस्तालाई तयार पार्नु पर्छ, समय सापेक्षिक ढङ्गले । पुराना पुस्ताले आफ्नो एक तहको काम सम्पन्न गरिसकेपछि त्यसलाई नयाँ पुस्ताले निरन्तरता गरुन् । आजको मितिमा स्मार्ट टेलिफोन, स्मार्ट मोबाइल प्रयोग नगर्ने व्यक्तिसँग धेरै प्रकारका एप्लिकेसन प्रयोग गर्ने क्षमता नै हुँदैन, त्यस्तै अवस्था छ । नेतृत्व वर्गलाई सिंहदरबारको ढोका फोर्ने र छिर्ने अभिलाषा थियो त्यो पूरा गरे ।
० अब के गर्नु पर्ला त त्यसो भए ?
नयाँ पुस्तालाई अवसर दिनुपर्छ । नयाँ पुस्तालाई अगाडि बढ्ने मौका नदिएसम्म केही पनि हुँदैन ।
० राष्ट्रिय राजनीतिमा युवा पुस्तालाई अग्रसर गराउन अहिले कै अवस्थामा अलि गाह्रो स्थिति देखिन्छ त ?
वातावरण छैन । गलत तरिकाले स्कूलिङ भइरहेको छ । हिंसालाई प्रश्रय दिएर स्कुलिङ भइरहेको छ । नेताहरूले आफ्ना कार्यकर्ताहरूसँग बसेर कुरा गर्दा आफूले कसरी ठगेको भन्ने कुराको विश्लेषण गर्छन् । जसरी प्रचण्डले सेना सामायोजनमा सेना बढाउँदा आफूले राज्यलाई कसरी ठगे भन्ने कुरा गर्वसाथ आफ्ना कार्यकर्ताहरूलाई सिकाउनु भो । त्यही पाठ घृणाको पाठ नयाँ पुस्ताले सिके । घृणा सिकेपछि घृणा दिइरहेका छन् । सबले आफूभन्दा शक्तिशालीसँग घृणा गरिरहेको समाजमा हामी पुगेका छौँ, त्यसैले त परिणाम दिदैन नी ।
० फरक कुरा गरौं । हाम्रो परराष्ट्रनीति के हो ?
नेपालको परराष्ट्र नीतिलाई हेर्ने हो अथवा त्यसमाथि टिप्पणी गर्ने हो भने अहिलेसम्म स्थिर परराष्ट्रनीति भएकै देखिदैन राजतन्त्रसम्म कम्तिमा राजाबाट एउटा परराष्ट्रनीति संचालन हुन्थ्यो । त्यसलाई पूर्णत सफल भन्न अलिकति त्यहाँ प्रश्न आउन सक्छ किनभने त्यो राजा व्यक्तिद्वारा निर्णय गर्ने भएकाले त्यसमा जनताको सहभागिता कतिको थियो त्यो एउटा विवादको विषय हुन सक्छ । तर त्यति बेला एउटा परराष्ट्र नीती थियो तर अहिलेको अवस्थामा नेता पिच्छे दल पिच्छे परराष्ट्र नीति छ । यो अवस्थामा यही नै परराष्ट्र नीति हो भन्न मुश्किल छ ।
० त्यही परराष्ट्रनीति स्थिर नहुँदा हाम्रो आन्तरिक राजनीति कमजोर भएको हो ?
स्वभाविक हो । अब भर्खरकै कुरा गर्ने हो भने नेपालको परराष्ट्र मामिलामा चार वटा अन्तर्राष्ट्रिय शक्ति केन्द्रले निर्णाय भूमिका खेलेका छन् । भारत, चीन, युरोपियन युनियन र अमेरिकाले । त्यसमापनि चीन र भारत नेपालको निकटतम छिमेकी भएकोले हाम्रो हरेक प्रकारको गतिविधि, हाम्रो दैनिक कार्य संचनलन, हाम्रो व्यापारदेखि लिएर हरेक क्षेत्रमा त्यसको प्रत्यक्ष प्रभाव पर्छ । हाल भारत र चीन दुवै देशका परराष्ट्र मन्त्रीको नेपालमा भ्रमण भएको छ । भारतको परराष्ट्रमन्त्रीको भ्रमणमा नेकपाका अध्यक्ष प्रचण्डले प्रोटोकलको हिसाबले होटलमा गएर भेट्न नमिल्ने भन्दै भेट्न अस्वीकार गर्नु भयो तर त्यही प्रचण्डले चीनको पररराष्ट्रमन्त्रीलाई होटलमै गएर भेट्नु भयो । अब यस्लाई उहाँले जे सुकै तर्क दिए पनि यो केटाकेटीपनाको रूपमा लिइन्छ । परराष्ट्रनीति भनेको स्थिर कुरा हुन्छ । त्यो अन्तर्राष्ट्रिय मापदण्डले तय गर्छ त्यो नेपाल अथवा नेपालीले चाहँदैमा त्यसमा कुनै नयाँ परिभाषा आउछ भन्ने कुरा छैन
० परराष्ट्रनीति र अहिलेको व्यवस्थासँगसगै जोडेको अर्को पाटो भनेको धर्म निरपेक्षता र धर्म सापेक्षता भन्ने कुरा आईरहेको छ । हिन्दुराष्ट्रको अभियान यसरी नै अगाडि आइरहेको छ यसलार्ई कसरी बुझ्नु हुन्छ ?
अब हिन्दु राष्ट्र हटाउनु पर्ने कारण अहिलेसम्म कसैले स्पष्ट पार्न सकेको छैन । धर्म निरपेक्षता ल्याउने पक्षधर को थिए त्यो पनि कोही स्वीकार गर्न तयार छैन । हामीले विगतमा देखेकै छौँ, स्वर्गीय पूर्व प्रधानमन्त्री शुशिल कोइरालाले पनि धर्म निरपेक्षता कसरी आयो थाहा भएन भन्नु भो, सुवास नेम्वाङले पनि त्यही भन्नु भयो । कुनै पनि पक्षले त्यसलाई स्वीकार गरेन । तर एउटा स्पष्ट कुरा के हो भन नेपालको वर्तमान संविधानमा धर्म निरपेक्षता शब्दमात्रै प्रबेश छ त्यो वास्तवमा सनातन धर्मकै पक्षमै लेखिएको छ । त्यसलाई अलिकति प्रष्ट भएर बुझ्नु पर्छ । किटान गरेर हिन्दु राष्ट्र मात्रै नलेखिदिएको हो । नेपालको यो संविधान सनातन धर्मको पक्षमै लेखेको छ । त्यसमा उल्लेख भएको कुरा के छ भने, ‘धर्म निरपेक्षता भन्नाले सनातनदेखि चलिआएको रीति, धर्म, परम्पराको संरक्षण गर्ने दायित्व सरकारमा रहने भनिएको छ । ’ सनातनदेखि त हिन्दु धर्म चलिआएको छ संविधानले नै स्वीकार गरेको छ । अहिले भएको के हो भने कुरा स्वीकार गर्ने तर बोल्न नचाहने ।
० बोल्न नचाहनुको पछाडिका कारणहरू के हुन सक्छन् ?
संविधानले त बोली सक्यो, नेताहरूले स्वीकार गर्न नचाहेको हो । एक शब्दमात्र धर्म निरपेक्षताको ठाउँमा हिन्दु राष्ट्र मात्र नलेखेको हो । नत्र त सनातनदेखि चलिआएको लेखेपछि त संविधानमा नै उल्लेखित कुरा हो भन्न सकिन्छ नि । सवै चीज भईसकेकापछि स्वीकार नगर्ने भन्ने कुरा नै आउँदैन । नेताहरु कुनै एउटा भयले बोल्न चाहिरहेका छैनन ।
० राजतन्त्र फेरी फर्कने बहसहरू पनि चलिरहेको छ तपाइँको विश्लेषण चाहिँ केह ो ?
हेर्नुस, असम्भव भन्ने कुरा राजनीतिमा हुँदैन । फेरि विश्व राजनीतिलाई हेर्ने हो भने इङ्ल्यान्डमा राजालाई संसदमा ल्याएर काटेको थियो । ११ वर्ष पछि फेरी राजतन्त्रले आयो । भियतनाममा राजालाई निकालेर पोलपटले सत्ता कब्जा गरेको थियो । ३ वर्षपछि फेरी राजा आयो । त्यसैले जनताले चाहेमा जे पनि हुन सक्छ । यी विषयमा कुनै विवाद गर्नु पर्दैन जे पनि हुन सक्छ । नेपालको राजतन्त्रका सन्दर्भमा भने २ वटा बाटो छ । एउटा संवैधानिक बाटो हुन्छ अर्को गैरसंवैधानिक हुन्छ । संवैधानिक बाटो अनुसार यही संसदबाट दुई तिहाइ पुर्याएर संविधान संसोधन गरेर राजतन्त्र ल्यायो भने राजतन्त्र आउन सक्छ । गैरसंवैधानिक बाटो भनेको जसरी यो भन्दा पहिले आन्दोलन गरेर राजतन्त्रलाई समाप्त पारियो त्यसैगरी भोली जनताले आन्दोलन गरेर राजतन्त्र स्थापित गर्यो भने हुन सक्छ ।
० अझै सम्भावना छ ?
राजनीतिक कारणले जनतामा निराशा पैदा हुँदैमा राजतन्त्र आइहाल्छ भन्ने कुरासँग म सहमत छैन । मेरो बुझाइमा राजतन्त्र आओस् या कुनै तन्त्र आओस त्यो तन्त्रले २१ औँ शताब्दीको अहिलेको पुस्ताले खोजेको कुरा दिन सक्नु पर्छ । त्यो मार्गचित्र उसँग हुनुपर्छ । सत्तामा पुगे भने देशलाई सिंगापुर बनाइदिन्छु अथवा स्वीट्जरल्यान्ड बनाइदिन्छु भन्नुको सट्टा नेपाललाई नेपाल कसरी बनाउन सकिन्छ त्यो मार्गचित्र लिएर आयो भने जे पनि हुन सक्छ । राजतन्त्र आउँदै आउँदैन भन्ने होइन । जनताको चाहना अनुरुपको विकासको मार्गचित्र ल्याउनु पर्दछ ।
प्रतिक्रिया