बिहीबार, वैशाख १३, २०८१

टाट पल्टिदै साझा यातायात, प्रत्येक वर्ष करोडौं घाटा

नेपालखोज २०७६ कार्तिक ६ गते १५:०५

६ कार्तिक, काठमाडौं । साझा बसमा जो पनि चढ्दछ किलिन्डरले २ रुपैयाँको टिकट काट्दछ । यो गीतले साझा यातायातको ईतिहास झल्काउँछ । वि.स.२०१९ देखि संचालनमा आएका साझा यातायात सहकारी प्रा.लि.का बसहरु त्यसताका निकै लोकप्रिय थिए । त्यसै लोकप्रियताले जन्माएको गीत हो साझा बसमा जो पनि चढ्दछ । तर, त्यसको केही वर्षमै साझाका बस पलायन भए ।

साझा बस पलायन भएपनि लोकप्रियता भने कायमै थियो । त्यही लोकप्रियतालाई आधार बनाएर २०७० सालबाट काठमाडौंमा गुड्न थालेका साझा यातायातका बसहरु फेरी पलायन हुने हुन्की भन्ने आशंका बढी रहेको छ । पुन सञ्चालनमा आएको ५ वर्ष बढी भैसक्दा पनि साझा करोडौँको घाटामा छ । अवस्था यही रहे अब चाँडै साझा यातायात टाट पल्टिन सक्ने देखिन्छ ।

‘मामाको धन, फुपुको श्राद्ध’ जस्तै गरिरहेको छन् साझा यातायातको व्यवस्थापन पक्षले । साझा यातायात सहकारी प्रा.ली.ले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ मा साझा १ करोड ८५ लाख घाटामा छ । साझा यातायातका कार्यकारी निर्देशक तुलाधरका अनुसार चालु आर्थिक वर्षको पहिलो २ महिनाको व्यापार अवस्था पनि सन्तोषजनक छैन ।
आर्थिक वर्ष २०७४र ०७५ मा पनि साझा १ करोड ७८ लाख रूपैयाँको घाटामा थियो । आर्थिक वर्ष २०७३/०७४ मा समेत १ करोड ८२ लाख घाटा भएको थियो ।
नेपाल खोजले फेला पारेको तत्थ्य अनुसार कर्मचारीलाई दिईने पेश्की रकममा गरिएको मनपरी र आम्दानी चुहावटसँग सम्बन्धित अन्य व्यवस्थापनमा गरिएको मिलेमतोले साझा यातायात टाट पल्टिदै छ । व्यवस्थापनको चरम लापरहबाहीकै कारण ९० प्रतिशत भन्दा बढी सरकारको लगानी रहेको साझा टाट पल्टिने अवस्थामा पुगिरहेका बेला साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधर भने कम्पनीको आम्दानी भन्दा सञ्चालन खर्च उच्च दरले बढेकाले घाटा बढेको ओठे जवाफ दिन्छन् ।

त्यसो भए अब साझा फेरी बन्द हुने अवस्थामा पुग्दैछ हो ? भन्ने प्रश्नमा उनले भने, “साझाले बसका बोर्डमा रहेको विज्ञापन र आफ्नो हातामा रहेको जग्गा भाडामा लगाई सञ्चालन खर्च धानी रहेको छ । त्यो आम्दानी नहुनेहो भने त अहिलेको घाटा अझ बढ्ने छ ।” सही व्यवस्थापन नगर्दा एक वर्षमै करोडौँको घाटा हुने गरेको छ तर साझाको व्यवस्थापन पक्ष भने साझा नाफामुखी होईन सेवामुखी हो भन्दै सरकारी लगानी बालुवामा पानी भने जसरी रित्याई रहेका छन् ।

को— को हुन् ? पेश्की लिने तर नतिर्नेहरु !
नेपाल खोजले फेलापारेको तथ्य अनुसार साझाका कर्मचारी त्रिलोचन भट्राईले करिब साढे १२ लाख रुपैयाँ पेश्की लिएका छन् । उनी मात्र होईन ठुलो रकम पेश्की लिने तर फस्र्याैट नगर्नेमा उनीजस्तै अन्य १० जना छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा १ करोड ७८ लाख रूपैयाँ घाटा बेहोरेको साझाले आफ्नो घाटा कम गर्नको लागि बनाएको कार्य योजनामा यी कर्मचारीले पिmर्ता नगरेको पेश्की यथाशिघ्र असुल उपर गर्ने र असुल गर्न नसकेमा आवश्यक कारवाही गर्ने जनाएको छ । साझाले रुट थपी सेवा विस्तार गर्ने योजना बनाएको भएपनि यसै प्रकारको व्यवस्थापकिय कमजोरी रहिरहे साझा यातायात उकालो लाग्छ भन्न सकिने देखिदैन । बरु उल्टै हरेक वर्ष करोडौँको घाटाले अब फेरी साझा यातायात बन्द त हुने होईन भन्ने आशंका उब्जिएको छ ।

प्रतिक्रिया