बिहीबार, चैत १५, २०८०

सरकारले दिएको निर्देशन मेडिकल कलेजले टेरेनन्

नेपालखोज २०७६ कार्तिक ९ गते ७:१२

९ कार्तिक । काठमाडौं । तोकिएभन्दा बढी शुल्क असुलेका मेडिकल कलेजले एक महिनाभित्र विद्यार्थीलाई पैसा फिर्ता गर्न सरकारले दिएको समयसीमा सकिएको छ । एक महिनाअघि गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितको बैठकले ७ कात्तिकभित्र कलेजले शुल्क फिर्ता गरिसक्न निर्देशन दिएको थियो । तर, अहिलेसम्म कुनै पनि मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् ।

पछिल्लो तीन वर्षमा मेडिकल कलेजहरूले विद्यार्थीबाट तीन अर्ब ठगी गरेका छन् । गण्डकी मेडिकल कलेजले ४३ करोड पाँच लाख, नोबेल मेडिकल कलेजले ३५ करोड ४७ लाख, लुम्बिनी मेडिकल कलेजले ३२ करोड ९६ लाख, युनिभर्सल मेडिकल कलेजले ३२ करोड ७२ लाख, नेसनल मेडिकल कलेजले ३२ करोड ३५ लाख, काठमाडौं मेडिकल कलेजले २७ करोड ८१ लाख, नेपालगन्ज मेडिकल कलेजले २१ करोड ९१ लाख, विराट मेडिकल कलेजले १९ करोड नौ लाख, कलेज अफ मेडिकल साइन्सेसले १० करोड ६१ लाख, मणिपाल मेडिकल कलेजले १० करोड नौ लाख, किस्ट मेडिकल कलेजले पाँच करोड ९९ लाख, देवदह मेडिकल कलेजले ९० लाख अतिरिक्त शुल्क उठाएको सरकारकै छानबिनबाट देखिएको छ । सतर्कता केन्द्रको नेतृत्वमा गठन गरिएको समितिले प्रतिवेदन नै तयार गरिसकेको छ ।

सरकारले काठमाडौं उपत्यकामा एमबिबिएसका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको छ । ट्युसन, ल्याब, लाइब्रेरीलगायत सबै शुल्क यसैभित्र समावेश छ । तर, कलेजहरूले विभिन्न शीर्षकमा विद्यार्थीलाई फेल गरिदिने, परीक्षा लेख्न नदिनेजस्ता डरधम्की दिएर १० देखि १८ लाखसम्म बढी रकम असुल्ने गरेका छन् । शुल्क फिर्ता नभए सबै मेडिकल कलेजमा आन्दोलन गरिने संघर्ष समितिका प्रवक्ता नरेश भट्टले बताए । ‘अहिले त्रिविअन्तर्गतका मेडिकल कलेजमा मात्रै आन्दोलन भएको छ । सबै कलेजले बढी शुल्क लिएका छन् । हामी फिर्ता गराउन देशैभरका मेडिकल कलेजमा पुग्नेछौँ,’ उनले भने ।

नेसनल मेडिकल कलेजमा विद्यार्थीमाथि कुटपिट प्रकरण : सुरक्षा माग्दै विद्यार्थी प्रशासनमा
वीरगन्जको नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीले सरकारले तोकेभन्दा बढी शुल्क असुलेको विरोध गरेकै कारण कलेज व्यवस्थापनले कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको विद्यार्थीहरूले बताएका छन् । एमबिबिएस पहिलो र दोस्रो वर्षका विद्यार्थीबाट बढी शुल्क उठाएको भन्दै चिकित्सा शिक्षा सुधार संघर्ष समिति अगुवाइमा भएको विरोध कार्यक्रममा कलेज व्यवस्थापनले अवरोध गरेको थियो ।

कलेज व्यवस्थापन पक्षबाटै असुरक्षित भएपछि एमबिबिएस अध्ययनरत विद्यार्थीले सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र पनि बुझाएका छन् । मेडिकल कलेज परिसरबाट जुलुस लिएर विद्यार्थी जिल्ला प्रशासन कार्यालय पुगेका थिए । कलेज व्यवस्थापनले आफूहरूमाथि कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएकाले कारबाही गर्न र सुरक्षाको प्रबन्ध मिलाउन ज्ञापनपत्रमा माग गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सरकारले तोकेभन्दा बढी शुल्क फिर्ता गराउन आफूले सहयोग गर्ने बताए । उनले विद्यार्थीलाई पनि सुरक्षाको आश्वासन दिएर पठाइएको बताएका छन् ।

सरकारले तोकेभन्दा बढी शुल्क फिर्ता हुनुपर्ने माग गर्दै बिहीबार संघर्ष समितिका संयोजक प्रकाश चन्दसहितका विद्यार्थी वीरगन्ज पुगेका थिए । विरोधमा उत्रिएका विद्यार्थीको ब्यानर, माइक, पोस्टर कलेज प्रशासनले खोसेको थियो । संघर्ष समितिका संयोजक चन्दले शान्तिपूर्ण आन्दोलन र संघर्षमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहार, कुटपिट र हातपात गरिएको बताए ।

प्रबन्ध निर्देशक अन्सारीले पनि विद्यार्थीको विरोध कार्यक्रममा अवरोध गरिएको स्विकारे । यद्यपि, उनीहरूमाथि हातपात नगरिएको उनको दाबी छ । निजी मेडिकल कलेज सञ्चालकको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्षसमेत रहेका अन्सारीले अन्य मेडिकल कलेजका विद्यार्थी कलेज हाताभित्र प्रवेश गरी आन्दोलन गर्न उक्साएकाले कार्यक्रममा अवरोध गरेको बताए ।

अन्सारीलाई कारबाही गरियोस् :शुल्क फिर्ता नभए एमबिबिएसको परीक्षा हुन दिँदैनौँ
चिकित्सा शिक्षा संघर्ष समिति
संयोजक, प्रकाश चन्द
प्रधानमन्त्री केपी ओलीसँग फोटो खिचाएर नेसनल मेडिकल कलेज वीरगन्जका सञ्चालक अन्सारीले आफू शक्तिशाली भएको देखाउन खोजेका छन् । विद्यार्थीसँग चर्को शुल्क असुल्ने अन्सारीजस्तालाई राजनीतिक संरक्षण दिइएको छ । प्रधानमन्त्रीले उनलाई संरक्षण होइन कारबाही गर्नुपर्छ । शान्तिपूर्ण आन्दोलन गरेर आफ्ना जायज माग राखिरहेको अवस्थामा कलेज प्रशासनले ज्यादती गर्दा पनि सरकार मूकदर्शक हुनु दुःखद् हो । हामी माग पूरा नभएसम्म संघर्षलाई निरन्तरता दिन्छौँ । निजी मेडिकल कलेजबाट बढी शुल्क फिर्ता गराउने कुरामा सरकारलाई हाम्रो तर्फबाट पूर्ण सहयोग रहन्छ । हाम्रो माग पूरा नभएसम्म एमबिबिएसको पहिलो र दोस्रो वर्षको वार्षिक परीक्षा हुन दिँदैनौँ ।

बाहिरका विद्यार्थी आएर गरेको आन्दोलन रोकेको हो, तर कुटपिट भएको होइनस् बसिरुद्दिन अन्सारी, प्रबन्ध निर्देशक, नेसनल मेडिकल कलेज, वीरगन्ज
बाहिरबाट विद्यार्थी आएर अस्पतालअघि माइकिङ गर्न थाले, त्यसपछि अस्पतालमा डिस्टर्ब भयो । उनीहरूले अस्पतालका सबै सेवा बन्द गराइदिन्छौँ भन्न थाले । बाहिर थिएँ, मलाई खबर आयो । उनीहरूलाई सोधीखोजी गरेँ । हामी तपाईंकै विद्यार्थी हौँ भने । मैले मेरा विद्यार्थी चिन्छु, बाहिरबाट किन आउनुभयो भनेर सोधेँ । शुल्क फिर्ता गराउने हो भने पनि आफ्नो मेकिडल कलेजमा पहिला गराउनुहोस् अनि अर्काकोमा जानुहोस् भनेँ । आफ्नो होइन अर्काको कलेजमा जाने, विद्यार्थी उकास्ने, अस्पताल डिस्टर्ब गर्ने काम ठीक होइन, तपाईंहरू जानुहोस् भनेर हिँडेँ । त्यसपछि कुरुवा र पुराना विद्यार्थीसँग झडप भएछ । जुलुस निकालियो । सिनियर र जुनियर विद्यार्थीबीच विवाद भइरहेको छ भन्ने खबर आयो ।

राति २ बजेसम्म म आफैँ त्यहीँ बसेको छु । यो कलेजमा कुनै समस्या भए एमडीसँग छलफल गर्ने आन्तरिक रूपमा संघर्ष गर्ने परम्परा छ, तर किन बाहिरबाट विद्यार्थी बोलाइयो भनेर मैले भनेको हुँ । यो ठीक होइन भनेको हुँ । बाहिरबाट विद्यार्थी आएर आन्दोलन गर्ने काम राम्रो होइन, कलेजको बदनाम भयो भनेर विद्यार्थीबीच नै भनाभन भएछ । भएको यत्ति हो, कुटपिट केही पनि भएको छैन । (नयाँ पत्रिकाबाट)

प्रतिक्रिया