बिहीबार, चैत १५, २०८०

सचिव भन्छन् वैशाखसम्म विषादी रहित तरकारी खान पाईन्छ

नेपालखोज २०७६ कार्तिक १३ गते १६:२८

देशको राजधानी काठमाडौमा मात्र होइन सातै प्रदेशका सदरमुकाममा बसोबास गर्ने आम उपभोक्ताले हरेक दिन विषादी भान्छामा भित्र्याईरहेका छन् भनिन्छ । विशेष गरी प्रत्येक भान्छामा प्रयोग हुने तरकारी एवं फलफूलमा अत्यधिक विषादी प्रयोग गरिने चर्चा बेला बेलामा हुने गर्दछ । त्यसो भए काठमाडौं उपत्यकामा बसोबास गर्ने उपभोक्ताहरुले विष खाईरहेका छन् त ? खास कुरो केहो यस विषयमा नेपाल खोजसँगको कुराकानीमा प्रदेश नं. ३ का भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सचिव डा. योगेन्द्र कार्कीको भनाई यस्तो रहेको छ ।

० नेपाली जनताले कहिलेसम्म विषादीयुक्त तरकारी फलफूल खाईरहुन पर्ने हो ?
काठमाडौंमा बसोबास गर्ने तपाइँ हामी सवैले अत्यधिक विषादी प्रयोग भईरहेको तरकारी खाईरहेका छौं भन्ने जुन कुरा छ । हामीले सोचको जस्तो भयावह अवस्थामा छैन । प्रदेश नं. ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पाँचवटा विषादी द्रूत परिक्षण यन्त्र ल्याएर विभिन्न पाँचवटा स्थानीय सरकार मार्फत सञ्चालन हुने गरी हाम्रा प्रयोगशालामा ल्याएर राखेका छौं । नुवाकोट, काभ्रेपलाञ्चक, ललिपुर, नुवाकोट र चितवनमा हामीले प्रयोगशाला स्थापना गरेका छौं । त्यसबाट हामीले विषादी परीक्षण गर्दा तरकारीहरुमा खासै विषादी छैन । केही ठाउँका आलु बाहेक काठमाडौं लगायतका बजारमा विक्री गर्न राखिएका तरकारी खान योग्य छ ।

० त्यसो भए अव हामीले यसैमा चित्त बुझाउनु पर्ने भो ?
होइन । तपाइँ हाम्रो चिन्ता र गम्भीर भएर सोच्नु पर्ने विषय भनेको नै अहिले प्रयोग भईरहेको विषादीको मात्रालाई शुन्यमा कसरी झार्ने भन्ने हो ।

० तर हामीले सञ्चार माध्यममा आएका कुरालाई हेर्ने भने त हामी आफ्नो भान्छामा विष खरिद गरेर लगिरहेका छौं ।
तपाइँले भन्नु भएको कुरा मलाई पनि लाग्दथ्यो । तर हामीले मन्त्रालयबाट परीक्षण गर्न थालेपछि स्पष्ट बुझियो कि बजारमा जे कुरा आईरहेको छ त्यो ठिक होइन । हामीले विष खरिद गरेर भान्छा पु¥याएका छैनौ । टिस्टुङ्गदेखि काभ्रेसम्म तरकारीहरुमा विषादी हल्ला भएजस्तो छैन । केही स्थानका आलुमा भने विषादीको मात्र देखिएको छ । हामीले बजारबाट नमूना परीक्षण गर्न ल्याएका आलुको उत्पादन क्षेत्र पहिचान गर्नका लागि हामी लागिरहेका छौं ।

० त्यसो भए अव के गर्ने त ?
हामीले प्रयोग गरिरहेका विषादीहरुको आयात र प्रयोग दुवैमा नियन्त्रण गर्नु आवश्यक छ । अर्को कुरा हामी अव उत्पादनमा जोड दिईरहँदा प्राँगारिक खेतीतर्फ ध्यान दिन थाल्नु पर्दछ । विषादीका कारण ज्यान नै जोखिममा हुने भएकाले किन विषादी प्रयोग गर्ने भन्ने कुरा किसानसम्म पु¥याउनु पर्दछ । अहिले जुन भ्रम रहेको छ त्यो भ्रम चिर्नु पर्दछ ।

० तपाइँ जस्ता सरकारी उच्च ओहोदामा बस्नेहरुले विषादी छैन भन्नु हुन्छ, उपभोक्ताहरुले विश्वास गर्नु हुन्न ?
यो कुराका लागि हामी सवै मिलेर विश्वास दिलाउनु पर्दछ । त्यसका लागि पनि मन्त्रालयले एक घर एक कौसी खेतीको अवधारणा ल्याएको छ । हामीले करिब ३ करोड बजेट योजनामा राखेका छौं । र कार्यक्रम पनि सार्वजनिक गरिसकेका छौं । यो कार्यक्रम हामीले किन ल्याएको भन्दा प्राङ्गारीक मल प्रयोग गरेर दश वटा गमलामा कौसी खेती गर्न सक्यौ भने शहरमा बस्ने तपाइँ हामी सवैले विषादी रहित तरकारी खान सक्छौं । गमलामा तरकारी खेती गर्दा घरभित्रको फोहोर व्यवस्थापन पनि सहज हुने स्वस्थ तरकारी पनि खान पाईने । हामी आगामी चैत्र वैशाखसम्म काठमाडौंमा विषादी रहित तरकारी विक्री वितरण हुन्छ भन्ने प्रमाणित गरिदिन्छौं ।

प्रतिक्रिया