शुक्रबार, वैशाख १४, २०८१

शेयर बजारमा आज : नेप्से ३ अंक घट्यो

नेपालखोज २०७६ कार्तिक १४ गते १६:०७

१४ कार्तिक, काठमाडौँ । विहिबार नेप्से परिसूचक ३.१७ अंक घटेर १ हजार १४६.१७ विन्दुमा पुगेको छ । बजार खुलेको १ घण्टासम्म सकारात्मक रहेको नेप्से, सो पछि भने ओरालो लागेको हो । लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लागेका कारण बजार घट्न दबाब पुगेको देखिन्छ ।

तिहार अघिका ३ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो । बजार सुस्त गतिमा रहँदा अल्पकालीन लगानीकर्ताहरूले लामो समयदेखि नाफा सुरक्षित गर्न पाएका थिएनन् । ३ दिन नेप्से बढेको मौका छोपेर यस दिन अल्पकालीन लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लागेका हुन् ।

नेप्से ओरालो लागेपनि यस दिन सेन्सेटिभ इन्डेक्स भने झिनो अंकले बढेको छ । ठूला कम्पनीहरू संलग्न समूहको कारोबार मापन गर्ने यस इन्डेक्स यस दिन ०।०३ अंक बढेर २५२.०८ विन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन ०.३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०४ अंक घटेको छ ।

यस दिन १५५ कम्पनीको ३ हजार ६०३ पटकको कारोबारमा २५ करोड ४३ लाख १२ हजार रूपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सूचीकृत कम्पनीहरुले चालु आवको वित्तीय विवरण प्रकाशित गर्न थालिसकेका छन् । नाफा मूलक वित्तीय विवरणले आगामी दिन बजारलाई सकारात्मक दिशातर्फ अघि बढ्न टेवा पुग्ने अपेक्षा लगानीकर्ताहरूले गरेका छन् ।

यस दिन प्राइम कमार्सियल बैंकको संस्थापक शेयर कारोबार रकमका आधारमा अगाडि रहेको छ । बैंकको यस दिन ६ करोड ३ लाख बराबरको ३ लाख कित्ता संस्थापक शेयर म्याचिङ्ग कारोबार भएको हो । मेगा बैंकको यस दिन २ करोड २२ लाख, प्रभु बैंकको १ करोड ७१ लाख, एनआईसी एशियाको १ करोड १९ लाख र सिद्धार्थ बैंकको ७३ लाख रूपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

ग्लोेबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.७५ प्रतिशत बढेको छ । लघुवित्तले चालु आवको पहिलो त्रैमाससम्ममा ३ करोड ३४ लाख खुद नाफा आर्जन गरेको छ । आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन ७.५५ प्रतिशत, इन्फिनिटीको ४.३२, घोडीघोडा लघुवित्तको ३.८६ र नेको इन्स्योरेन्सको २.४३ प्रतिशत बढेको छ ।

नबिल इक्विटी फन्डको इकाईमूल्य यस दिन करिब १० प्रतिशत घटेर सर्कित लेभलमा कारोबार भएको छ । हिमालयन पावर पार्टनरका शेयरमूल्य यस दिन ६.०८ प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावरको ५.६१, अरूण भ्याली हाइड्रोपावरको ४.८० र बेष्ट फाइनान्सको ४.२ प्रतिशत घटेको छ ।

यस दिन होटल, विकास बैंक, उत्पादन र अन्य उपसमूहबाहेक अरू सबै उपसमूहका परिसूचक घटेको छ । उत्पादन उपसमूहको परिसूचक यस दिन ०.५८ प्रतिशत, होटलको ०.३९, अन्यको ०.३९ र विकास बैंकको ०.१३ प्रतिशत बढेको छ ।

म्युचुअल फन्ड उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५४ प्रतिशत घटेको छ । त्यसैगरी, निर्जीवन बीमा उपसमूहको ०.९५ प्रतिशत, जलविद्युतको ०.८९ प्रतिशत, जीवन बीमाको ०.५६, वित्तको ०.४, लघुवित्तको ०.३५ र बैंकिङ्गको ०.३३ प्रतिशत घटेको छ ।

प्रतिक्रिया