शुक्रबार, वैशाख १४, २०८१

नेपाली भूमिमा भारतको अतिक्रमण विरुद्ध पशुपति क्याम्पसका विद्यार्थी आन्दोलित

नेपालखोज २०७६ कार्तिक २२ गते १०:४०

२२ कार्तिक, काठमाडौँ । लिपुलेक, कालापानीलगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा पशुपति बहुमुखी क्याम्पस चाबहिलका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा आज गरिएको विरोध प्रदर्शनमा ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने नारासहित नेपालको एक चिम्टी भू–भाग कसैले मिच्न नपाउने जस्ता नारा लगाइएको थियो । एक सय ५० भन्दा बढी विद्यार्थीसहित मित्रपार्कबाट शुरु गरिएको विरोध ¥याली चाबहिल चोकलाई परिक्रमा गरी पशुपति क्याम्पसमा आएर कोणसभामा परिणत भएको थियो ।

सभामा बोल्दै विद्यार्थी नेता राजकुमार तामाङले भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि अतिक्रमण भएकाले तत्काल उक्त नक्सा सच्चाउनुपर्ने माग राखे ।

यस्तै, विद्यार्थी नेता प्रेम शाहीले सरकारले कूटनीतिकरूपमा समस्याको समाधान गर्नुपर्ने बताए । उनले भारतले सधै नेपाली भूमी मिच्ने र नेपाल चुप लागेर बस्ने प्रवृतिको अब अन्त्य हुनुपर्ने भन्दै राष्ट्रय एजेण्डामा सबै एक हुनु पर्ने बताए । सिमाक्षेत्रमा देखिएको भारतीय दादागिरीको तत्काल अन्त्य गर्न कुटनीतिक पहल सरकारले गर्ने भएपनि यूवाहरु यसकालागि थप जागरुप हुनु आवश्यक रहेको नेता शाहीको भनाई थियो ।

 

प्रतिक्रिया