शनिबार, वैशाख १५, २०८१

अध्यात्म : डा. श्रीमालीदेखि डा. स्वामीजीसम्म

नेपालखोज २०७६ मंसिर ७ गते ६:००

अम्बिका शर्मा — अध्यात्मले मानिसलाई अन्य प्राणीभन्दा चेतनशील, विवेकशील र सृजनशील बनाएको हो । मलाई साधनमा असाध्यै श्रद्धा र विश्वास छ । डा.नारायणदत्त श्रीमाली गुरुको परम्परामा दीक्षित भएर यसाबारेमा केही बुझ्ने मौका पाएको थिएँ ।

अध्यात्मक्षेत्रमा महिलाहरुको नेतृत्व असाध्यै कम छ । उनीहरुको सर्वाङ्गिण विकासको लागि बोलिदिने, देखिदिने, साथ दिने सन्त र गुरुहरु पाउनपनि दुर्लभ भइरहको छ । श्रीमती गुरुले यसतर्फ विशेष ध्यान दिएको देख्दै आएकी थिएँ । वब स्वामीजीले “महिलाले जनै धारण गर्न हुन्छ, संस्कृत भाषा एवं वेद पढ्नुहुन्छ ” भन्ने अभिव्यक्ति दिएको सुनेँ ।

उहाँको यथार्थ र उदार चिन्तनबाट असाध्यै प्रभावित हुन पुगेँ । महिलाले वेद पढ्न हुने, होम गर्न हुने , जप गर्न हुने विषयलाई लिएर गुरु, आर्य समाज र स्वामी प्रपत्राचार्यले विषेश ध्यान दिएको देखेँ । वेदमा के छ ? प्राचिन किराँत इतिहास, अव हमे भुल नहीं करनी चाहिये, नामक पुस्तकहरुले प्राचिन सभ्यता, विकासका साथै महिलाहरुको वैभावलाई उजागर गरेका छन् । त्यसैले दुई गुरुहरुबीच निकै समानता भएको मैले देखेँ ।

स्वामीजीले आफ्नो आश्रम बनाउनुभएन, आफैँले नेतृत्व दिएर छुट्टै सम्प्रदायको विकास गर्नुभएन, यही अन्तर दुई महापुरुषहरुका बिचमा मैले अनुभव गरेको छु । स्वामीजी समाज सुधारक सन्त हुनुहुन्थ्यो । एक्लै परे युगदृष्टाले सत्यको बाटो पहिचान गरेर अगाडि बढ्छन् । सर्वसाधरणलाई यो विषय आश्चर्यजस्तो लाग्न सक्छ । अपत्यारिलो अनुभव गर्न सक्छन् । तर, सत्य वास्तवमा सत्य नै हो । नेपालका प्रसिद्ध डाक्टर रामप्रसाद पोखरेलेकी सुपुत्रीलाई समेत स्वामीजी र पं. छविलाल पोखरेल आदि मिलेर व्रतबन्ध गराइदिएको कुरा स्वामीजीले धेरैलाई भन्नुभएको छ ।

स्वामीजीले विभिन्न क्षेत्र र जातका शाकाहारी र संस्कारी मानिसलाई जनै धारण अधिकार गर्ने अधिकारमात्र दिलाउनुभएन प्रयोथ पनि गरेर देखाइदिनुभयो । स्वामीजीले शाकाहार, शिक्षा, संस्कारलाई प्राथामिकता दिनुभयो । जुनसुकै जात र क्षेत्रको मानिस होस, असल आचरण र व्यवहार भएमा स्वामीजीको निकट बन्दथ्यो । अब हमे भुल नहीं करनी चहिये नामक कृतिले स्वामीजीको चिन्तन कुन स्तरमा रहेछ भन्ने विषयलाई प्रष्ट बताउँछ ।

आधा आकाश ढाकेका महिलाको उत्थान गर्न सबैभन्दा पहिले शिक्षामा पहँुच पुग्नु पर्छ भन्ने धारणा स्वामीजीमा अन्तिम समयसम्म पनि थियो । धर्मले महिलालाई पूज्य दृष्टिले हेरेको छ । विधवाको पिडा, सन्यासीनीहरुको तीर्थस्थलमा देखिएको दयनीय र कारुणिक अवस्थालाई स्वामीजीले उक्त कृतिमार्फत चित्रण गर्नुभएको छ । गाउँघरका सोझा, असाहय महिलाहरुलाई बोक्सीको आरोपमा गरिएको दुव्र्यवहार प्रति स्वामीजीलाई विशेष पिडा हुन्थ्यो । स्वामीजीले बारम्बार भन्ने गर्नुहुन्थ्यो “न विद्यते अरी सा नारी ” जो कसैको शत्रु हुँदैन, त्यो नारी हो । वास्तवमै नारी धर्ती हुन् पुरुष आकाश हो । वैदिककालका नारीहरु सबल र सक्षम हुनुमा शिक्षा, वर्णाश्रम व्यवस्थाअनुसारको जीवन नै कारक भएको तथ्य स्वामीजीले उजागर गर्नुभएको छ ।

स्वामीजी जति समय यो लोकमा रहनुभयो सधैँ समाज, संस्कृति र शिक्षाका लागि जीवन समर्पण गरेर जानुभयो । व्यक्तिगत जीवनका लागि केही सङ्कलन गर्नुभएन सबै दिएरै जानुभयो । नेपालमा साधु सन्तकालागि उचित स्थान कम छ ।

स्वामीजीले भन्ने गरेको एउटा उक्तिले मेरो मन छोइरहेको छ —“भारतमा साधुसन्त घरमा आउ भने घर मालिकले छोराबुहारी, नातिनातिनी सबैलाई बोलाएर दर्शन गराउँछन्, आशीर्वाद लिन लगाउँछन् तर नेपालमा त सानानानी रोयो भने पनि ए जोगी बोलाइदिऊँ भन्दै साधुसन्तप्रति डरको भावना सिर्जना गर्दछन् ।” स्वामीजीका प्रवचनले साच्चै सोच्न बाध्य बनाउँथ्यो, असल बाटोमा हिँड्न सिकाउँथ्यो । हाम्रा शास्त्रमा के छन् ? वैदिक संस्कृति कस्तो थियो ? भन्ने बुझ्न स्वामीजी विश्वविद्यालय नै हुनुहुन्थ्यो ।

अब ती क्षण हामीबाट सदाका लागि विदा भैसकेका छन् । स्वामीजीको आशीर्वाद, प्ररणा भने कतै न कतैबाट आइरहेको भान हुन्छ । “व्यक्त भन्दा अव्यक्त,दृश्य भन्दा अदृश्यमा अधिक शक्ति हुन्छ । विश्वास र श्रद्घबाट यी कुरा बुझिन्छ” भन्ने स्वामीजीका वचनलाई स्मरण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्दछु ।

प्रतिक्रिया