शुक्रबार, वैशाख १४, २०८१

कोरला नाकाः चीनतर्फ सानदार भौतिक संरचना, वारि सुनसान !

नेपालखोज २०७६ मंसिर १३ गते ८:४७

१३ मंसिर, मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङ र छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने कोरला नाकाको चीनतर्फ भौतिक संरचनाले तीव्रता पाएको छ । कोरला नाकाको पारिपट्टि चीनले धमाधम संरचना बनाइरहँदा नाकाको वारिपट्टि नेपालतर्फको भूमिमा भने सुनसान जस्तै छ ।

 

मुस्ताङ र चीनस्थित तिब्बतको कोरला नाका खुलाउन बेलाबेलामा चर्चा चले पनि अहिलेसम्म नाका खोल्नका लागि ठोस पहल हुन सकेको छैन । छिमेकी देश चीनले आफ्नो सीमा क्षेत्रमा धमाधम करोडौंका भौतिक संरचनाहरु बनाइरहँदा नेपालतर्फ भने भौतिक संरचना निर्माणको कुनै काम हुन नसकेको हो । दुई देशबीच नाका खोल्ने बहस भैरहँदा नेपालतर्फको भूगोलमा अति आवश्यक संरचनाहरु समेत बनेका छैनन् ।

मुस्ताङको सदरमुकाम जोमसोमबाट एक दिनको यात्रामा सजिलै कोरला नाका पुग्न सकिन्छ । कोरला नाकाको नेपालतर्फ २०२९ सालमा गाडिएको २४ नम्बर पिल्लर मात्रै छ । त्यसको सामुन्ने ताला ठोकिएको एउटा ठूलो गेट बनाइएको छ । गेटबाट नजिकै देखिन्छ, तारबारले घेरिएको ठूलो मैदानमा भव्य संरचनाहरु बनिरहेका छन् । चीनको सिमानातर्फ भौतिक संरचनाहरु धमाधम बनिरहँदा नेपालतर्फ त्यसको कुनै प्रक्रिया अगाडि बढेको छैन ।

चीनले आफ्नो क्षेत्रमा धमाधम भौतिक संरचनाहरु बनाइरहँदा नेपालतर्फ भने सडकको पहुँच मात्रै पुगेको छ । २४ नम्बर पिल्लरदेखि पारि चीनतर्फ एकीकृत भन्सार कार्यालयको संरचनाका साथै सुरक्षाका लागि आवश्यक भवनहरु निर्माण भैरहेका छन् । कोरला नाकाको नेपालतर्फको भूमिमा गेट निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया