शनिबार, जेठ १, २०७८

निर्वाचन आयोगमा आचार संहिता उल्लंघनका १६ उजुरी दर्ता

नेपालखोज २०७६ मंसिर १३ गते ९:०८

१३ मंसिर, काठमाडौं । उपनिर्वाचनका क्रममा आचार संहिता उल्लंघनका १६ वटा उजुरी निर्वाचन आयोगमा दर्ता भएका छन् । आचार संहिता उल्लंघन भएको बारे मिडियामा आएका समाचारलाई पनि आयोगले नोटिसमा लिदा यो संख्या अरु बढ्ने आयोगले जनाएको छ ।

‘अहिलेसम्म निर्वाचन आयोगमा १६ वटा उजुरीहरु दर्ता भएका छन,’ आयोग स्रोतले भन्यो, ‘मिडियामा आएका समाचारहरुको कटिङसमेत संकलन भइरहेकाले आचार संहिता उल्लंघनको संख्या अरु बढ्न सक्ने देखिएको छ ।’
आचार संहिता उल्लंघनविरुद्ध परेका उजुरीहरु सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका छन् । बढीजसो सरकारी पक्षले पदीय दुरुपयोग गरेका उजुरी परेका छन् । त्यसैगरी आचारसंहिता विपरीत सवारी साधन प्रयोग गरेको विषयमा पनि उजुरीहरु परेका छन् ।

उपप्रधानमन्त्री उपेन्द्र यादवले महोत्तरीको पिपरामा गरेको भाषण र दाङको घोराहीमा मुख्यमन्त्री शंकर पोखरेलले गरेको भाषणलाई पनि आयोगले नोटिसमा लिएको स्रोतले बतायो । भोलि शनिबार देशभरका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ ।

प्रतिनिधिसभाका लागि कास्कीमा उपचुनाव हुँदैछ भने दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभा सदस्यका लागि उपचुनाव हुँदैछ । त्यस्तै धरान उपमहानगरपालिका, मकालु गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र पिपरा गाउँपालिकाको प्रमुखका लागि शनिबार मतदान हुँदैछ ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि चुनाव हुँदैछ । देशभरिका विभिन्न नगर र गाउँपालिकाका ४३ वडाध्यक्षका लागि शनिबार मतदान हुँदैछ । मतदानका लागि ५५ सय कर्मचारीहरु सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् । उनीहरु मतदान केन्द्र निर्माणमा व्यस्त छन् ।

प्रतिक्रिया