बुधबार, वैशाख २६, २०८१

थोरै लगानीमा पनि यसरी सञ्चालन गर्न सकिन्छ बेकरी व्यवसाय ! लेखपढ गर्न नजान्ने गृहिणीलाई झन् फाईदा !!

नेपालखोज २०७६ मंसिर १४ गते ७:२४

– टंककला तिमिल्सेना,
१३ मंसिर, काठमाडौँ । बेकरी व्यवसाय सञ्चालनकालागि आवश्यक सिप तालिम अहिलेका स्थानिय सरकारले प्राय सञ्चालनमा ल्याउने गरेका छन् । त्यो पनि निशुल्क । बेकरी सम्बन्धि तालिमहरु विशेषगरी महिलाको आयस्तर वृद्धिलाई लक्षित गरि सञ्चालन गरिएका हुन्छन् । हुन त प्रत्येक नगरले एक आर्थिक वर्षमा आफ्नो क्षेत्रका २५ देखि ३० जना महिलालाई बेकरी सम्बन्धि तालिम पनि दिएकै हुन्छन् । तर विडम्बना यस्ता तालिमहरु केवल नगरपालिकाको पैसा खर्चिने योजना मात्रै जस्ता भैरहेका छन् । किनकी, बेकरी सम्बन्धि तालिमबाट सिकेको सिपलाई सिमित व्यक्तिले मात्र व्यवहारिकतामा उतारेको पाईन्छ ।

तर, झट्ट सुन्दा घरमै बसी समय बेथित गर्ने, थोरै थोरै वा भनौँ आफुलाई यसो सानो तिनो खर्च चलाउनकालागि शुरु गरिने व्यवसाय जस्तो गरी बुझिने बेकरी व्यवसाय सोचे जति हल्का भने हुँदैन । बेकरी व्यवसायलाई गहिरो ढङगले बुझ्ने र सही तवरले स्वदेशमै बसी घर व्यवहार चलाउने शैलीले अपनाउने हो भने यो स्वरोजगारको एक महत्वपुर्ण कडी बन्न सक्छ । बेकरी व्यवसाय सञ्चालनकालागि सहरमै बस्नु पर्छ, महंगो लगानी गर्नुपर्छ भन्ने पनि छैन । यो व्यवसाय त करिब ३ लाखसम्मको लगानीमा पनि राम्रै तवरले चलाउन सकिने व्यवसाय हो ।

अझ गाउँघरकै बजार क्षेत्रतिर करिब १ लाख रुपैयाँको लगानीमा नै यो व्यवसाय सामान्यतवरले सुरु गर्न सकिन्छ । अहिले त स्थानीय सरकारले नै साना व्यवसाय गर्नेहरुलाई केही सहयोग पनि गर्ने गर्छ । स्थानीय सरकारबाट सहयोग नपाईएपनि सरकारबाट युवा व्यवसायीहरुलाई सहुलियत दरमा ऋण पाईन्छ । अन्य विभिन्न संघ संस्थाहरु पनि छन् जसले महिला वा पुरुष जो कोहीलाई व्यवसायकालागि सहुलियतमा ऋण प्रदान गर्छन् । करिब ५ लाखको लगानीमा त बेकरी व्यवसाय राम्रै तवरले सञ्चालन हुन्छ । महंगा सहर जस्तै राजधानी काठमाडौँ नै केन्द्रित हुन नपर्ने, जहाँपनि सजिलै व्यवस्थापन गर्न सकिने भएकाले पनि यो व्यवसाय गर्न सहज छ ।

बेकरी व्यवसाय ३ प्रकारले सञ्चालन गर्न सकिन्छ ।

१. बेकरीका परिकार उत्पादन गरी बजारमा वितरण गर्ने
२. उत्पादित बेकरीका सामाग्री बेच्न । जस्तो चिया, कफी शप सञ्चालन गरी त्यही बेकरीका समाग्री बच्ने ।
३. बेकरीका परिकार आफै उत्पादन गर्ने । आफुलाई जति आवश्यक हुन्छ । जति खपत हुने हो त्यही मात्रामा परिकार तयार पार्ने र पसल थापेर बच्ने ।

ती तीन किसिमले बेकरी व्यवसाय गर्न सकिएपनि सानो लगानी, थोरै जनशक्ति र ठिक्कको प्रतिफल दिनकालागि बेकरीका सामान्य परिकार आफै उत्पादन गरी आफै बच्नुमा हुन्छ । यो किसिमको व्यवसाय विशेषगरी गृहणी महिलाले घरायसी जिम्मेवारी पुरा गर्दै पनि गर्न सक्छिन् । बेकरी व्यवसायकालागि खासै झकिझकाउ पसल तयार पार्नु पर्छ भन्ने पनि छैन । सानो ठाउँमा पनि चिटिक्क परेको पसल राख्न सकिन्छ । बेकरीका परिकार उत्पादन गर्नकालागि ठुला मेसिनहरु चाहिने पनि होईन ।

उदाहरणकालागि म तपाईलाई ललितपुरकै एक सानो सटरमा बेकरीका धेरै परिकार मध्ये सामान्य जनजिब्रोले बोल्ने डुनट अर्थात डोनट उत्पादन गरी त्यही सटर भित्र चिया पसल समेत सञ्चालन गरेकी एक महिलाको कथा प्रस्तुत गर्छु । त्यो डोनट पसलको नाम विर्से वा त्यहाँ बोर्ड नै थिएन ठ्क्याकै याद भएन मलाई ।

कुरा २०७३ साल मंसिर अन्तिम साता तिरको हो । म त्यसबेला हेडलाइन्स एण्ड म्युजिक एफ. एममा समेत कार्यरत थिए । पुल्चोकबाट एफ. एम.को अफिस सरेर लगन खेलको नजिक प्रयाग पोखरी क्षेत्रमा सरेको थियो । एफ. एममा विहानको सिफ्टको समाचार व्यवस्थापनको सबै जिम्मा मेरो काँधमा थियो । विहान ६ बजेको समाचार बुलेटिन तयार पार्नेदेखि वाचनको जिम्मा मलाई थियो । मसँग मेरी एक जना सहकर्मी समेत थिईन् । जाडोमा हामी दौडादौड गर्दै रेडियो पुगी आफ्नो जिम्मेवारी पुरा गथ्र्यौ । ६ बजेको समाचार बुलेटिन सकिना साथ हामी चिया र डोनट खान तिनै महिलाले सञ्चालन गरेको पसलमा पुग्थौँ ।

रेडियोको ठ्याक्कै अगाडि पसल भएकाले पनि त्यहाँ जाने गथ्र्यौ हामी । अनि ति महिलाले करिब ३ वर्षको बच्चालाई काखमा च्याप्दै हामीलाई दुधको चिया दिन्थिन् । त्यो पनि १० रुपैयाँमा जबकी चियाको बजार मुल्य २० रुपैयाँ भैसकेको थियो । अनि डोनट माग्थ्यौँ हामी । त्यही बेला मैले ति महिलासँग उनको व्यवसायको बारे बुझ्न खोजे । त्यसबेला उनले सुनाएकी थिइन्,‘ मलाई पढ्न लेख्न आउँदैन । २ साना साना बच्चाहरु छन् । तिनै बच्चालाई सम्हाल्दै डोनट र चिया पसल चलाएकी छु ।

खाना बस्न पुगेर कम्तिमा १५ हजार त महिनाको चोखो जम्मा हुन्छ ।’ सुरुमा आफ्नो पसलकालागि मात्र पुग्ने गरी डोनट उत्पादन गरे पनि विस्तारै उनले बजारमा वितरण गर्नकालागि समेत डोनट उत्पादन गर्न थालिन् । उनका श्रीमानले पनि उनलाई साँझ विहान सहयोग गर्दा रैछन् । दिउँसो पसलमा कामको चाप कम हुने भएकाले अन्त काम पनि गर्दा रैछन् । प्रयाग पोखरीदेखि ग्वार्को जाने बाटोसम्मै त्यो क्षेत्रमा यस्तै बेकरी उत्पादन गर्ने ठाउँ र पसल छन् । जसले सस्तोमा विक्री गर्दा पनि दैनिक गुजारा चलाई २० देखि २५ हजार रुपैयाँसम्म बचत पनि गर्छन् ।

परिकार उत्पाद गर्ने हातमा सिप, थोरै समय, सामाग्री किन्न थोरै रुपैयाँ र ईच्छाशक्ति भए बेकरी व्यवसायबाट कम्तीमा २५ देखि ३० हजार रुपैयाँ बचत गर्न सकिन्छ । विस्तारै व्यवसाय सञ्चालन गरेको करिब ६, ७ महिना पछि सेवा विस्तार गर्दै जानुभयो भने, तपाईले सेवाग्राहीलाई राम्रो सेवा दिन सक्नु भयो भने कम्तिमा ५० हजार रुपैयाँसम्म मासिक बचत गर्न सकिन्छ ।

यसले घरमै बसेर गरीने सानो व्यवसायबाट पनि जीवन गुजारा राम्रै चल्न सक्छ । बेकरी व्यवसाय सञ्चालनकालागि पठाई लेखाईको खास सम्बन्ध रहँदैन । सामान्य पैसाको लेनदेन अर्थात हिसाब किताब जान्न सक्ने जो कोहिले यो व्यवसाय सञ्चालन गर्न सक्छ । त्यसैले पनि सामान्य पढ लेख भएका वा कत्तिपनि नपढेका मानिसहरुकालागि यो व्यवसाय उपयुक्त हुन सक्छ । विशेषगरी गृहिणी महिलाकालागि घर वा घर वरपरकै बजारमा बसेर घरको हेरचाह र सामान्य आर्थिक उपार्जनकालागि बेकरी व्यवसाय अति राम्रो सहयोगी बन्न सक्छ । गृहणी मात्र बनेर बसिरहेकी महिला एक्लैले पनि बेकरी व्यवसाय घरमै बसेर सहज तरिकाले सञ्चालन गर्न सक्छिन् ।

यसकालागि अलि लगनशिल भने हुनै पर्छ । छोराछोरीको स्याहार सुसार गर्दै पनि यो व्यवसाय सञ्चालनकालागि समय छुट्याउन सकिन्छ । त्यतिमात्र होईन घर परिवारमा अन्य सदस्यले पनि सजिलै सघाउँन सक्ने हुन्छन् यस व्यवसायमा । त्यसैले यो घरायसी व्यवसायका रुपमा पनि चल्छ । जस्तो घर छेउछाउकै सानो बजारमा बेकरी पसल थाप्दा त्यही सानो भान्साकालागि ठाउँ बनाउने, खाना त्यतै खाने अनि घरका नानी बाबुहरुले पनि अभिभावकलाई सघाउने गर्न सक्छन् ।

स्कुल, कलेजका समय पठाईमा व्यस्त रहेपनि दिनमा २, ४ घण्टा मात्रै नानी बाबुले अभिभावकलाई सहयोग गरे यस व्यवसायकालागि छुट्टै स्टाप राखिरहनु पर्दैन । यो त सामान्य तवरले घरमै बसेर आफ्नो पकेट खर्चकालागि, घरको सामान्य खर्च व्यवस्थापनकालागि व्यवसाय सञ्चालन गरीने शैली भयो । बेकरी व्यवसायलाई नै विस्तारै बढाउँदै अझै व्यवसायिक बन्न पनि सकिन्छ । विस्तारै लगानी बढाउँदै, सेवा विस्तारगरी सेवाग्राहीलाई आकर्षित गर्दै जाने हो । परिश्रम, धैर्यता र सही व्यवस्थापन गर्दै जाने हो भने बेकरी व्यवसायबाटै राम्रो आयआर्जन पनि गर्न सकिन्छ ।

प्रतिक्रिया