शनिबार, वैशाख १५, २०८१

औद्योगिक कच्चा पदार्थको आयात घट्यो, निर्यात बढ्यो

नेपालखोज २०७६ मंसिर १५ गते ९:४४

१५ मंसिर, काठमाडौं । पछिल्ला वर्षमा अर्थतन्त्र चलायमान बनाउने निर्माण क्षेत्रमा शिथिलता आउँदा प्रमुख औद्योगिक कच्चा पदार्थको आयात खुम्चिन पुगेको छ । भन्सार विभागको पछिल्लो तथ्यांकले चालू आर्थिक वर्ष (आव) को पहिलो ४ महीनामा स्टील तथा फलाम र कोइलाको आयात ह्वात्तै घटेको छ । पछिल्लो समय स्टील, छड र सिमेन्टको बजार अपेक्षाकृत विस्तार नहुँदा त्यसको असर यी वस्तुको उत्पादनमा परेको यी वस्तुको कच्चा पदार्थमा आयातमा आएको कमीले देखाउँछ । पहिलो ४ महीनामा स्टील तथा फलामको आयात ३३ प्रतिशत र कोइलाको आयात ३७ दशमलव ५ प्रतिशतले घटेको छ ।

तथ्यांकअनुसार अघिल्लो आवको ४ महीनामा रू. ५२ अर्ब ६५ करोडको स्टील र फलाम आयात भएको थियो, जुन यस आवमा घटेर रू. ३५ अर्ब १४ करोडमा सीमित भएको छ । त्यस्तै, अघिल्लो आवमा रू. ५ अर्ब ९३ करोड रहेको कोइलाको आयात यस वर्ष रू. ३ अर्ब ७१ करोडमा झरेको छ ।

नेपालमा स्टील, फलाम र कोइलाको माग अघिल्ला वर्षहरूको तुलनामा घटेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बताउँछन् । ‘प्रमुख औद्योगिक कच्चा पदार्थको आयातमा आएको कमीले नेपाली अर्थतन्त्र ‘स्लो डाउन’तिर उन्मुख भएको संकेत गर्छ,’ उनले बताए ।

स्टील उद्यमीहरू बजारमा प्रतिस्पर्धा बढेको तर माग स्थिर रहँदा स्टीलको बजार समग्र प्रभावित हुनपुगेको बताउँछन् । पञ्चकन्या स्टीलका वरिष्ठ उत्पादन अधिकृत मिलन थापाले बजारमा स्टील र फलामको माग ४० प्रतिशतले घट्दा कच्चा पदार्थको आयात पनि घटेको बताए ।

मुलुकको विकास खर्चमा ठूलो अंश राख्ने मन्त्रालयहरूको पूँजीगत खर्चको अवस्था झनै निराशाजनक छ । मुख्य विकासे अड्डा मानिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूँजीगततर्फ २ दशमलव १० प्रतिशत मात्र बजेट खर्च गरेको छ भने पर्यटन मन्त्रालय तथा ऊर्जा मन्त्रालयको पूँजीगत खर्च क्रमशः ६ दशमलव ५ तथा ५ दशमलव ८ प्रतिशतमा सीमित छ ।

निर्यात २३.९ ले बढ्यो
मुलुकको निर्यातमा आएको सुधारले पहिलो ४ महीनामा निरन्तरता पाएको छ । भन्सार विभागका अनुसार यस अवधिमा नेपालबाट रू. ३६ अर्ब २७ करोड बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो आवको यसै अवधिको तुलनामा रू. ७ अर्बले बढी हो ।

निर्यात दोहोरो अंकमा बढ्दा तथा आयात करीब ७ प्रतिशतले घट्दा मुलुकको समग्र व्यापारघाटा करीब ९ प्रतिशतले कम भएको छ । पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा समग्र निर्यात बढे पनि त्यसबाट खुशी भइहाल्न पर्ने अवस्था नआएको बताउँछन् । यस अवधिमा नेपालबाट रू. ८ अर्ब ३६ करोडको पाम आयल, रू. २ अर्ब ७९ करोड रुपैयाँको धागो, रू. २ अर्ब ६२ करोडका गलैंचा र कार्पेट, रू. २ अर्ब १६ करोडका तयारी कपडा र रू. २ अर्ब २ करोडको प्रशोधित भटमासको निर्यात भएको छ ।

प्रतिक्रिया