शुक्रबार, वैशाख १४, २०८१

श्रीलंकालाई हराउँदै साग फुटबलको फाइनलमा भुटान प्रवेश

नेपालखोज २०७६ मंसिर २१ गते २०:३२

२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको फाइनलमा भुटान प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा श्रीलंकालाई ३–० ले पराजित गर्दै भूटानले जित हासिल गरी फाइनलमा प्रवेश गरेको हो ।
यो जितसँगै भुटान पहिलो पटक साग फुटबलको फाइनलमा प्रवेश गरेको छ । यस अघि समूह चरणबाटै बाहिरिदै आएको भुटानको यो ऐतिहासिक सफलता हो ।

खेलको १९ औं मिनेटमा छिमी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा दावा छिरिङले पेनाल्टीमा गोल गर्दै भुटानलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८० औं मिनेटमा एशि दोर्जीले गोल गर्दै भुटानलाई ३–० को जित दिलाए ।

जितसँगै भुटानले ४ खेलमा ९ अंक जोडेको छ । र, शीर्ष स्थानमा उक्लिएको छ । अब भुटानले स्वर्ण पदकको लागि नेपाल र बंगलादेशमध्ये एक टिमसँग खेल्नेछ । आइतबार हुने बंगलादेश र नेपालबीचको खेलले फाइनल पुग्ने टोलीको तय हुनेछ । नेपाललाई फाइनल पुग्न कम्तिमा बराबरी खेल्नु पर्ने हुन्छ । पराजित भए नेपालको फाइनल सम्भावना सकिनेछ ।

दोस्रो स्थानमा रहेको नेपालको ७ अंक रहेको छ । बंगलादेशको ४ अंक रहेको छ ।

प्रतिक्रिया