बिहीबार, वैशाख १३, २०८१

विश्वभर मधुमेहको समस्या भयाभह, मधुमेहीले के खाने, के नखाने ?

नेपालखोज २०७६ मंसिर २८ गते ७:२१

काठमाडौं । आहारविहार, रहनसहन आदिका कारण संसारभरि हरेक उमेर समूहका मानिसलाई मधुमेह लाग्ने गरेको छ । विगतमा धनीलाई मात्र लाग्ने चिनी रोग भनिने यो रोगलाई डायबिटिज भनेर पनि चिनिन्छ ।

मधुमेह अहिले मध्यम वर्गलाई पनि लाग्ने गरेको छ । वास्तवमा मधुमेह हत्तपत्त निको नहुने रोग भएकाले प्रत्येक नागरिकले ३–३ महिनामा रक्त परीक्षण गराउनुपर्ने भनाइ डा. प्रियादर्शनी योञ्जनको छ ।

नेपालको सन्दर्भमा
इन्टरनेसनल डायबिटिज फेडरेसनले करिब ४ प्रतिशत जनसंख्या मधुमेहको संक्रमणमा रहेको अनुमान गरेको छ ।

मधुमेहका प्रकार
मधुमेह मुख्य त चार प्रकारका हुन्छन् । तर, हामीकहाँ दुई प्रकारका मधुमेह बढी देखिएका छन् । मधुमेहका बिरामीमध्ये करिब ९० प्रतिशतमा ‘टाइप–२’ मधुमेह देखिएको हुन्छ । टाइप–१ मधुमेह भनेको १० प्रतिशतभन्दा कमलाई देखिने गर्छ ।

यस्तै, गर्भवती अवस्थामा पनि मधुमेह देखिन सक्छ । यसलाई ‘जेस्टेसनल डायबिटिज’ भनिन्छ । प्यांक्रियाज ग्रन्थीमा समस्या भएर वा अरू किसिमको समस्याले गर्दा पनि हुन्छ ।
मधुमेहका लक्षण के कस्ता हुन्छन् ?
. ‘टाइप–२’ मधुमेहका लक्षणबारे कुरा गर्दा करिब ५० प्रतिशत मधुमेह लक्षणबिना नै देखा पर्दछ । त्यो परीक्षण गर्दा एक्कासि देखा पर्दछ ।

२. सुगर बढी भएर पिसाब बढी लाग्ने, तिर्खा लाग्ने, तौल घट्दै जाने, घाउ निको हुन समय लाग्ने, खुट्टा झमझमाउने पोल्ने, बढी मात्रामा थकाइ लाग्ने, चक्कर लाग्ने यस्तो खालको लक्षण देखा पर्छ ।

कसरी सतर्कता अपनाउने ?
मधुमेह हुने अथवा नहुने अवस्था सिर्जना गर्ने जोखिम तत्व अर्थात् ‘रिस्क फ्याक्टर’ भन्छौं हामी । पहिलो ‘रिस्क फ्याक्टर’ भनेको हामीभित्रको जिन हो । यदि परिवारमा बुबाआमालाई वा बाजेबज्यैमा मधुमेह छ भने आफू र सन्तानलाई हुने सम्भावना ५० प्रतिशत बढी हुन्छ ।

दोस्रो भनेको तौल अर्थात् मोटोपना । तौल बढी छ भने शारीरिक सक्रियता कम छ अर्थात् व्यायाम कम गरिन्छ भने पनि मधुमेह हुने खतरा बढेर जान्छ ।

मधुमेह कस्ता मानिसलाई लाग्छ ?
खासगरी सौखिन जीवनशैली अपनाउनेलाई मधुमेह हुने सम्भावना बढी हुन्छ । मोटोपन भएका, शारीरिक व्यायाम कम गर्ने, बढी चिल्लो खानेलाई यो रोग लाग्छ । यो वंशाणुगत कारणले पनि हुन्छ । मधुमेह अर्थात् डायबिटिजलाई सामान्य भाषामा चिनीरोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज नामक ग्रन्थीबाट उत्पादन हुने इन्सुलिन हर्मोनको अनियमितता हुँदा मधुमेह हुन्छ ।

मधुमेहका बिरामीले खान नहुने खानेकुरा ?
मधुमेहका बिरामीले गुलियो पदार्थ खानुहुँदैन । चिनी, मिठाई, जाम, केक र चिसो पेयपदार्थ खानुहुँदैन । चिल्लोयुक्त र बोसोयुक्त खाना कम खानुपर्छ । बोसो भएको मासु वा तारेका खानेकुरा (जस्तै ःपुरी, पकौडा, समोसा, पुलाउ, आलुचिप्स आदि) खानुहुँदैन । रातो मासु अर्थात् चौपायाको मासु खानुहुँदैन । आलुबाट बनेका खाद्यपदार्थ, तरुल, पिँडालु, सखरखण्डजस्ता वस्तु खानुहुँदैन । त्यस्तै मादक पदार्थ रक्सी र बियर पनि खानुहुँदैन ।

खान हुने खानेकुरा के के हुन् त ?
भात, मकै, चिउरा, गहुँ र चिनी नभएको बिस्कुट खाँदा हुन्छ । मुला, सलगम, रामतोरिया, प्याज, बकुल्ला पनि खान हुन्छ । दाल गेडागुडी, रहर, मास, चना, मटर, भटमास, मुग खाँदा हुन्छ । फलफूलमा सुन्तला, मेवा, अंगुर, स्याउ, केरा, नासपती खाँदा राम्रो हुन्छ । दूधको परिकार, माछा, सेतो मासु र फूल आदि खाँदा हुन्छ । तरकारीमा परबल, कुरिलो, भन्टा, हरियो लसुन, मेथी, बन्दागोभी, फूलगोभी, सिमी, मुगी, काँक्रो, भोगटे, हरियो खुर्सानी, गोलभेंडा खान हुन्छ । यसरी नै फलफूल जामुन, बयर, कागती, अमला, काफल पनि खान सकिन्छ ।पेय पदार्थमा चिनीबिनाको चिया, कफी, भेजिटेबल सुप, नरिबलको रस, निमको पातको रस आदि सकिन्छ । सलादमा जिरा, मसला, गेडागुडी, गोलभेंडा, मरिच र धनियाँको पात खान हुन्छ ।

प्रतिक्रिया